सिरहामा १८ शैयाको कोरोना विशेष अस्पताल सञ्चालन



सुभेन्द्र दास, लहान ।

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–११ छपराढी स्थित महेन्द्र गेनाई स्मृति प्रसूति तथा बाल कल्याण अस्पतालमा सोमबारदेखि १८ शैयाको कोरोना विशेष अस्थायी अस्पताल सञ्चालनमा ल्याइएको छ ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमण आशंका भएका बिरामीको जाँच र उपचारका लागि अस्पताल सञ्चालनमा ल्याइएको हो । अस्थायी अस्पतालमा नेपाली सेनाको चोहर्बा्स्थित शेर गणका सहसेनानी प्रकाश श्रेष्ठको कमाण्डमा सेनाका पाँचजना प्यारामेडिक्स, सेनाका जवान, लहानस्थित रामकुमार उमाप्रसाद अस्पतालका चिकित्सक, नर्स तथा धनगढीमाई नगरपालिकाका स्वास्थ्यकर्मीहरू रहने जनाइएको छ ।

शेर गणका गणपति प्रमुख सेनानी जितेन्द्रकुमार गौलीले सेना, नगरपालिका, स्वास्थ्य कार्यालयको समन्वयमा चौबिसै घन्टा अस्पताल सञ्चालनमा आउने बताए । ‘कोरोनाको आशंका भएका बिरामीलाई अस्पतालको भुइँतलामा तयार पारिएको क्वारेन्टाइनमा केही दिन निगरानीमा राखेर उपचार गरिनेछ,’ गौलीले भने, ‘कोरोनाको पुष्टि भए सामान्य अवस्था भएकालाई यहीँ उपचार गरिनेछ भने गम्भीर अवस्थाका बिरामीलाई भेन्टिलेटर, आइसियूसहितको सुविधा भएको अन्य अस्पतालमा रेफर गरिनेछ ।’

सेनाले सञ्चालन गरेको कोरोना विशेष अस्थायी क्वारेन्टाइन अस्पतालबाहेक लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा पाँच शय्या, धनगढीमाई मुसहर्नियाको आरके मेडिसिटी अस्पतालमा पाँच, फूलकुमारी महतो मेमोरियल अस्पताल कर्जन्हामा पाँच र सिराहा अस्पतालमा सात गरी २२ शय्याको आइसोलेसन वार्डसमेत तयारी अवस्थामा राखिएको सिराहाका प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईंले बताए ।जिल्ला विपत् व्यवस्थापन समितिको समन्वयमा सिराहाका ८ नगरपालिका र ९ गाउँपालिका गरी १७ स्थानीय तहमा एक सय ९१ शय्याको क्वारेन्टाइन बनाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी उमा प्रसाद चतुर्बेदीले जानकारी दिनु भयो ।

जिल्ला प्रशासन कार्यालय सिराहाका प्रमुख सिडियो गुरागाइका अनुसार कोरोनाको आशंका भएका बिरामीहरूका लागि क्वारेन्टाइनको व्यवस्था गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्