कोरोनामात्र हैन अन्य स्वास्थ्य सेवा पनि सूचारु राख्नुपर्छ : विश्व स्वास्थ्य संगठन



न्यूज अफ नेपाल, काठमाडौँ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक अधानोम टेड्रोसले जेनेभामा आयोजित नियमित प्रेस ब्रिफिङमा अन्य स्वास्थ्य सेवालाई असर नगर्ने गरि कोरोना भाइरस रोग (कोभिड नाइन्टिन) नियन्त्रणमा लाग्न सुझाव दिएको छ ।

उहाँले कोभिड नाइन्टिनको महामारीले धेरै देशको स्वास्थ्य प्रणाली असन्तुलित अवस्थामा रहेको बताउनुभयो । कोभिड नाइन्टिनको रोकथाम तथा उपचारमा स्वास्थ्य सुविधा र स्वास्थ्यकर्मीको अत्याधिक मागले स्वास्थ्य प्रणाली असन्तुलित भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, यसअघिका प्रकोपले देखाएको छ कि जब स्वास्थ्य प्रणाली असन्तुलित हुँदा खोप तथा उपचारबाट बचाउन सकिने बिरामीहरुको मृत्युदर नाटकीय रुपमा बढ्दछ ।

हामी अहिले संकटको बीचमा छौं यो अवस्थामा पनि आवश्यक स्वास्थ्य सेवाहरु जारी राख्नुपर्दछ । शिशुहरु जन्मिरहेका छन् ,उनीहरुलाई खोपहरु नियमित दिनुपर्छ त्यसैले समुहगत कार्य प्रणाली अनुसार स्वास्थ्य सेवा प्रवाह गर्नुपर्ने आवश्यकता रहेको बताउदै महानिर्देशक टेड्रोसले नियमित खोप लगायत अत्यावश्यक स्वास्थ्य सेवालाई निरन्तरता दिन गर्भावस्था र प्रसव समयको हेरचाह, संक्रामक र नसर्ने रोग तथा मानसिक स्वास्थ्य, रक्त सेवा लगायत अन्य सेवा प्रवाहमा पनि उत्तिकै ध्यान दिन विश्वलाई नै आग्रह गर्नुभयो ।

विश्व स्वास्थ्य संगठनले स्वास्थ्य सेवाको मागको सन्तुलनमा सहयोग पुर्याउन निर्देशिकाहरु प्रकाशित गरेको भन्दै त्यसमा ध्यान दिन महानिर्देशक टेड्रोसले आग्रह गर्नुभयो । संयुक्त अधिराज्यका २० हजार स्वास्थ्यकर्मीहरु काममा फर्कने र रुसले अध्ययनरत चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई पनि कोभिड नाइन्टिनको उपचारमा सहभागि गराउने निर्णयले अत्यन्तै खुशी बनाएको र यसले स्वास्थ्यकर्मी अभाव भइरहेको अवस्थामा ठुलो मद्धत पुग्ने बताउनुभयो । उहाँले अहिले कोभिड नाइन्टिन रोकथाम र उपचारका लागि गरिने हरेक व्यवस्थाले महामारी अन्त्यपछि दिर्घकालिन स्वास्थ्य सेवा प्रवाहमा नै फाइदा पुग्ने बताउनुभयो ।

कोभिड नाइन्टिन बाहेक अरु धेरै स्वास्थ्य आवश्यकताहरुलाई सुनिश्चित गर्न विश्व स्वास्थ्य संगठनले यसअघि नै मागएनिर्देशन बनाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्