लकडाउन अवज्ञा गर्दै अत्यावश्यक सामग्रीको नाममा मदिरा ओसारपसार



न्युज अफ नेपाल, म्याग्दी ।

लकडाउनको समयमा अत्यावश्यक सामग्री ओसारपोसार गर्ने नाउँमा म्याग्दीमा मदिरासहित सवारी तथा चालक पक्राउ परेका छन् ।

सदरमुकाम बेनीबाट रघुगंगा गाउँपालिकाको राखुतर्फ जाँदै गरेको ग२च ८८६९ नम्बरको जीपलाई ६ कार्टुन मदिरासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मदिरासहित जीपका चालक म्याग्दीको बेनी नगरपालिका–८, बेनीबजार बस्ने १९ वर्षीय सुनिलकुमार शाह र पर्वतको जलजला–३, बस्ने १८ वर्षीय असल परियारलाई नियन्त्रणमा लिई कारवाही गरिएको म्याग्दीका प्रहरी नायव उपरीक्षक किरणजंग कुँबरले बताउनुभयो । उहाँले बरामद भएको मादकपदार्थ र नियन्त्रणमा लिएका दुवै जनालाई जिल्ला प्रशासन कार्यालयमा पठाई आवश्यक कारवाही गरी उनीहरुलाई छाडिएको जानकारी दिनुभयो ।

सरकारले गएको चैत ११ गतेदेखि विश्भर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को विरुद्ध देशैभर लकडाउन घोषणा गरी लागू गरेको छ । म्याग्दीमा निषेधाज्ञा समेत जारी गरिएको अवस्थामा लकडाउनको उल्लङ्घन गरी अत्यावश्यक सेवाका नाममा मदिरा ओसारपोसार गरेको पाइएको हो ।

यस्ता क्रियाकलापहरु निषेधाज्ञा विरुद्धका कार्यहरु भएकाले संक्रामक रोग ऐन २०२० को दफा २ को उपदफा १ बमोजिम नेपाल सरकारले गरेको आदेशको अपहेलना कसुरमा सोही ऐनको दफा ३ को उपदफा १ बमोजिम कानुनी कारवाही हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्