प्रहरीको दुःखेसोमा वडाको राहत



न्युज अफ नेपाल, ललितपुर।

ललितपुरमा महानगरपालिका–१६ वडाले प्रहरीलाई मास्क वितरण गरेको छ ।

लकडाउनको अवज्ञा गरेर बाहिर हिँडडुल गरेका मानिसहरु घरघरमा पठाउन खटिएका प्रहरीलाई कोरोनाको उच्च जोखिम रहेकोले १ सय वटा मास्क र केही स्यानिटाईजर वितरण गरेको वडाले जनाएको छ ।

वडाअध्यक्ष निर्मलरत्न शाक्यले महानगरीय प्रहरी प्रभाग मंगलबजारकाका प्रमुख एवं प्रहरी निरीक्षक चञ्चला श्रेष्ठलाई सो सामग्री हस्तान्तरण गर्नुभयो । ‘लकडाउनको बेला बिना मास्क प्रहरीहरु पाटन दरबार क्षेत्रमा खटिरहेका थिए । प्रहरीलाई मास्क अभाव भएको थाहा पाए । वडाका महिला दिदी बहिनीहरुको सहयोगमा तयार गरिएको मास्क वितरण गरेँ ।’ वडाअध्यक्ष शाक्यले भन्नुभयो ।

‘यस्तो बेला प्रहरीलाई कोरोनाको संक्रमणबाट बच्न अत्यावश्यक सामग्री न सरकारले दिएको छ, न प्रहरी प्रधान कार्यालयले नै ।’ महानगरीय प्रहरी परिसर ललितपुरका एक अधिकारीले भने । निजी क्षेत्र, वडाले स्वच्छाले दिने अत्यावश्यक सामग्रीले जिल्लाका विभिन्न प्रभागले काम चलाइरहेको बुझिएको छ ।

प्रहरीलाई मास्क वितरणपछि वडाले प्रत्येक वडाबासीको घरदैलोमा पुगेर मास्क वितरण कार्य शुरु गरेको थियो । वडाअध्यक्ष शाक्यलाई मास्क वितरणमा वडा सदस्य पञ्चबज्र बज्रचार्य र महिला सदस्य सुप्रभा शाक्यले सघाउनुभएको थियो ।

त्यसैगरी वडाले वडाका विभिन्न स्थानमा किटनाशक औषधी छर्किएको छ । किटनाशक औषधी छर्किन वडाका ५० जनाको स्वयंसेवकको टोलीलाई खटाइएको थियो । यस अघि ललितपुर महानरपालिका वडा नं ९ का वडाअध्यक्ष राजु महर्जनले प्रहरीलाई पञ्जा वितरण गरेको थियो ।

कारोनाको जोखिमबाट सबैभन्दा जोखिममा अहिले चिकित्सक संगै सुरक्षाकर्मीहरु रहेका छन् । प्रहरीले लकडाउनको बेला बाहिर हिडिँरहेका नागरिकलाई सम्झाईबुझाई घर पठाउने काम समेत गरिरहेका छन् । यस्तो बेला कोरोनाको संक्रमणबाट सुरक्षित नभएको सडकमा खटिएका प्रहरीहरु बताउँछन् । ‘यस्तो बेला प्रहरीलाई कोरोनाको संक्रमणबाट बच्न अत्यावश्यक सामग्री न सरकारले दिएको छ, न प्रहरी प्रधान कार्यालयले नै ।’ महानगरीय प्रहरी परिसर ललितपुरका एक अधिकारीले भने ।

अहिलेको विषय परिस्थितिमा पनि प्रहरीले उपलब्ध स्रोत साधनलाई व्यवस्थापन गरेर परिचालन भईरहेको महानगरीय प्रहरी परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक टेकप्रसाद राईले बताउनुभयो ।‘ शवहरु उठाउने, मुचुल्का तयार पार्ने कार्यमा खटिने प्रहरीको लागि पिपिई व्यवस्था गरेका छौं । भएका स्रोत साधनको अधिकत्तम प्रयोग भइरहेको छ ।’ उहाँले भन्नुभयो ‘ प्रहरीलाई अत्यावश्यक सुरक्षित सामग्री उपलब्ध गराई प्रहरीको उच्च मनोबल बढाउन राज्यको ध्यान जान जरुरी छ ।’

अत्यावश्यक सामग्री मध्ये केही प्रहरीले व्यवस्थापन गरेको बाँकी निजी क्षेत्र, वडाले सहयोग पाइरहेको पनि प्रहरी वरिष्ठ उपरीक्षक राईले जानकारी दिनुभयो । सर्वसाधारण जनताको सुरक्षाका लागि खटिएका प्रहरीहरुको सुरक्षा गर्नु सरकारको दायित्व रहेको बताउँदै ती प्रहरीहरुले यसतर्फ सरकारको चाँडो ध्यान जानुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्