महाकाली नदी पौडेर तीन नेपाली दार्चुला प्रवेश



किरन धामी, दार्चुला ।

भारतको पिथौरागढ जिल्लाको धारचुलामा तिन देखी अलपत्र अवस्थामा रहेका दुई जना नेपाली महाकाली नदिमा पौडेर नेपालको दार्चुला प्रवेश गरेका छन् ।

जिल्ला सदरमुकामको घाट बजारमा रहेको नेपाल भारत जोड्ने झोलुंगे पुल दुवै तिर बन्द अवस्थामा रहेका बेला उनिहरु नदिमा पौडेर नेपाल प्रवेश गरिरहेका छन् । बैतडीको डिलाशैनी गाउँपालिका‐१ कोटपेटराका ४८ वर्षिय इन्द्र राज खत्री सोही स्थानका २२ वर्षिय धनबहादुर धामी र दार्चुलाको मार्मा गाउँपालिका‐३ का रमेश बिष्टले महाकालीमा पौडेर नेपाल प्रवेश गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक एवं सुचना अधिकारी सुरेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो ।

भारतको रिमा भन्ने स्थानबाट मजदुरी गरेर घर फर्किदा कोरोना संक्रमण कम गर्न नेपाल र भारत दुवै देशमा भएको लकडाउनका कारण उनि लगायत ५ सय ४५ जना नेपाली धारचुलामा अलपत्र परेका छन् । भारतको धारचुलामा दार्चुलाका ९४, बैतडीका २ सय, बझाङका १ सय ५८ जना, कैलालीका ७७, डडेल्धुराका २७ र डोटी जिल्लाका १ जना गरी ५ सय ४५ जना विगत दिन देखी अलपत्र अवस्थामा छन् ।

नेपाल सरकारले आफ्ना नागरिकलाई अहिले सम्म सिमानाकाबाट उद्दार गर्न नसकेको भन्दै उनिहरु धारचुलाबाटै सरकार विरुद्ध नाराबाजी समेत गरेका छन् । सिमामा अलपत्र अवस्थामा रहेका नेपाली नगरिकलाई नेपाल प्रवेश दिने बारे केन्द्र सरकारबाट कुनै आदेश नआएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनुभयो ।

महाकाली नदिमा पौडेर नेपाल प्रवेश गरेका डिलाशैनी गाउँपालिकाका‐१ का इन्द्रराज खत्रीले प्रमुख जिल्ला अधिकारी संग पुल खुलाई नेपालीलाई नेपाल प्रवेश गराउन आग्रह गर्न आएको प्रतिक्रिया दिएका छन् । पौडेर आएका उनिहरुलाई महाकाली नगरपालिकाको क्वारेन्टाइनमा पठाउने तयारी भैइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्