मार्चमा कोरोना संक्रमण ५ सय ७५ प्रतिशतले बढ्यो



लन्डन (एजेन्सी)

विश्वका लागि यो मार्च महिना अत्यन्तै खराब रह्यो । मार्चको ३० दिनमा विश्वभरी कोरोनाभाइरसको संक्रमणमा ५७५ प्रतिशतले बृद्धी भयो । तर यो अवधिमा जुन चीनबाट भाइरस फैलिएको हो, त्यहाँ भने मात्र १ दशमलव ७ प्रतिशतमात्र नयाँ संक्रमण देखियो ।

 

मार्च १ सम्म विश्वमा ८८ हजार ५ सय ८५ र चीनमा ८० हजार २६ संक्रमित थिए । त्यतिबेला विश्वमा देखिएका कुल संक्रमितमा चीनको हिस्सा ९० प्रतिशत थियो ।

 

तर ३० मार्च सम्ममा विश्वको कोरोना संक्रमित ७ लाख २२ हजार नाघ्यो । चीन यस अवधिसम्ममा पनि ८१ हजार ४ सय ७० मा सिमित रहन सफल रह्यो । अहिले कुल संक्रमणमा चीनको हिस्सा घटेर १५ प्रतिशत भन्दा पनि तल झरेको छ ।

 

विश्वमा यो ३० दिनमा मृत्युको आंकडामा पनि लगातार बृद्धी भइरहेको छ । मार्च १ सम्म विश्वभरी ३ हजार ५० को यस संक्रमणबाट मृत्यु भएको थियो ।

 

त्यसमा ९५ प्रतिशत भन्दा धेरै अर्थात २ हजार ९ सय १२ चीनमा मात्रै मृत्यु भएको थियो । त्यसपछि मार्च ३० सम्ममा चीनको मृत्यु संख्या बढेर ३ हजार ३ सय ४ पुगेको छ भने विश्वभरीयो यो आंकडा ७ सय ९८ प्रतिशतले बृद्धी भई ३३ हजार ९ सय ७६ पुगेको छ ।

 

अमेरिकामा पछिल्लो २४ घन्टामा २० हजार भन्दा बढी नयाँ कोरोना संक्रमण देखियो भने न्युयोर्कमा मात्रै यो अवधीमा २ सयको मृत्यु भयो । यद्यपी अमेरिकी राष्ट्र्पति डोनाल्ड ट्र्म्पले उक्त महानगरलाई मात्र क्वारेन्टिनमा राख्न आवश्यक नभएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्