भक्तपुर अस्पतालको आइसोलेशनमा रहेका १५ मध्ये ८ को कोरोना संक्रमण रिपोर्ट नेगेटिभ



पुष्कर बुढाथोकी, भक्तपुर ।

कोरोना भाइरस (कोभिड–१९) को जोखिमलाई मध्यनजर गर्दै सरकारले जारी गरेको लकडाउनको छैटौ दिन सम्म भक्तपुरमा कुनै पनि ब्यक्तिमा संक्रमण भएको पाइएको छैन ।

भक्तपुर अस्पतालले शंकाको आधारमा अस्पतालको आइसोलेशन वार्डमा चेक जाँच गरेका पन्ध्र मध्ये ८ जनाको रिर्पोट नेगेटिभ पाइएको अस्पतालले जानकारी दिएको छ । उनीहरुमा ज्वरो आउने र रुघा खोकीको लक्षण देखिएको थियो । शंकाको आधारमा अस्पतालले उनीहरुको स्वाव परिक्षणको लागि टेकु पठाएको र ८ जनामा नेगेटिभ पाइएको र अन्यको रिपोर्ट आउन बाँकी रहेको भक्तपुर अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा.सुमित्रा गौतमले बताउनुभयो ।डा.गौतमले हाल सम्म भक्तपुरमा कोरोना संक्रमित बिरामी फेला नपरेको बताउँदै बाकीँको रिपोर्ट पनि नेगेटिभ आउने उहाँको बिश्वास छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सबिन प्रधानले भक्तपुरमा बिदेशबाट फर्कने नेपालीको संख्या १०४ रहेको र उनीहरु सेल्फ क्वारेन्टाइनमा बसिरहेको बताउनुभयो ।स्थानीय तहको तथ्याँकलाई हेर्दा भने यो संख्या १सय ६५ देखाइएको छ ।

उनीहरुमा पनि कोरोना भाइरसको लक्षण हाल सम्म नदेखिएको र सेल्फ क्वारेन्टाइनमा बसिरहेको स्थानीय तहका प्रतिनिधिले बताएका छन् ।

यदि कुनै पनि त्यस्तो खालको लक्षण देखिए उनीहरुलाई घर सम्म लिन जाने र स्वास्थ्य परिक्षण गरिने ब्यवस्था समेत मिलाएको प्रधानले जानकारी दिनुभयो । यसका लागि चारै स्थानिय तहमा ४ एम्बुलेन्स र पिपिसी सहितका चालक समेत तयारी अवस्थामा २४ घन्टा रहेको प्रधानले जानकारी दिनुभयो ।भक्तपुर जिल्लामै भक्तपुर अस्पताल नै आईसोलेसनको बिशेष अस्पताल रहेको छ ।

यता गत हप्ता बिदेशबाट फर्किएका खरिपाटि क्वारेन्टाइनमा रहेका ९६ जनाको समेत स्वाब परिक्षण भएको छैन । उनीहरुमा त्यस्को कुनै पनि लक्षण देखा नपरेकाले १४ औं दिनमा परिक्षण पश्चात घर पठाइने प्रधानले जानकारी दिनुभयो ।लकडाउनको समयमा राजमार्ग चोक लगायतमा सवारी साधानको आगमन आकस्मिक बाहेक सुनसान रहेको छ भने अत्यावश्यक सवारी साधनलाई पास उपलब्ध गराएर सञ्चालन गर्न दिईएको छ ।

प्रतिक्रिया दिनुहोस्