अत्यावश्यक वस्तुको मौज्दात राख्न निर्देशन



न्युज अफ नेपाल, पाल्पा ।

पाल्पा जिल्लामा कोरोनाका कारण भइरहेको लक डाउनका कारण समस्या नआओस भनेर विभिन्न निर्णयहरु भएका छन ।

अत्यावश्यक सेवा तथा वस्तु आपूर्ती समिति पाल्पाले सम्वन्धित व्यवसायीहरुलाई कम्तीमा १५ दिनको सरसमान मौज्दात राख्न निर्देशन गरेको छ । समितिको शनिवार बसेको बैठकले खाद्यान्न, औषधी, ग्यास तथा पेट्रोलियम पदार्थ १५ दिनका लागि मौज्दात राख्ने प्रक्रिया मिलाउन व्यवसायी तथा सेवा प्रदायक संस्थाहरुलाई निर्देशन गरेको हो ।

अत्यावश्यक सरसमानका लागि जिल्ला बाहिर प्रशासनले पास उपलब्ध गराउने र जिल्ला भित्र खरिद विलको आधारमा सवारी साधन चल्न दिने, खाना पकाउने ग्याँसको व्यवस्थापन गर्न सकिएको सिलिण्डर ल्याएपछि मात्र ग्यास भरेको सिलिण्डर दिने जस्ता निर्णय गरेको समितिका संयोजक जिल्ला समन्वय अधिकारी लेखनाथ ज्ञवालीले जानकारी दिनुभयो ।

सरसमान खरिद विक्रि गर्दा भिडभाड नगर्न , भिडभाड भएमा प्रहरीलाई खबर गर्न समितिले विक्रेतालाई अनुरोध गरेको छ । सरकारले लकडाउन समयावधी बढाउने संकेत गरिरहेकाले जिल्लामा अत्यावश्यक सरसामग्रीहरुको अभाव नहोस् भनी समितिले व्यापारी तथा सम्वन्धित संघ संस्थाहरुलाई १५ दिनसम्मको सरसमान मौज्दात राख्न आग्रह गरेको हो ।

दूरी कायम : 

तानसेनको टक्सारटोलमा अबदेखि २ मीटरको दुरीमा रहेर दैनिक उपभोग्य बस्तु खरिद गर्नु पर्ने भएको छ । तानसेनको टक्सार क्षेत्रमा राखिएका पसलमा भीडभाड नगरी २ मीटरको दुरी कायम गरेर मात्र उपभोग्य बस्तु किन्न पाइने भएको हो ।

यहाँका स्थानीय युवा तथा समाजसेवीहरुले कारोना भाइरसको संक्रमण रोक्न सामाजिक दुरी कायम गर्न २र२ मीटरको चिन्ह बनाएका छन् । टक्सारमा रहेका विभिन्न पसलका अगाडि २ मीटरको फरकमा बनाइएका गोलो घेराभित्र बसेर मात्र दैनिक उपभोग्य बस्तु किन्न पाइने भएको हो ।

यहाँ कोरोनाको संक्रमण फैलिने गरी भीडभाड नगर्न स्थानीय बासिन्दा केशबलाल बज्राचार्यले बताउनुभयो । उनीहरुले सबै वडामा सामाजिक दुरी कायम गर्न भीडभाड हुने क्षेत्रमा यस्तै चिन्ह लगाउन अनुरोध गर्दै यसले कोरोना भाइरसको संक्रमण फैलिन नदिन सहयोग पुग्ने महेशलाल शाक्यले बताउनुभयो ।

स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई प्रोत्साहन

उता पूर्वी पाल्पाको गाउँपालिकाले कोरोना भाईरस नियन्त्रणमा खट्ने स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई प्रोत्साहन भत्ता सहित क्षति पुर्तिको घोषणा गरेको छ । सचेतना संगै स्वास्थ्य जाँचमा खटिएका स्वास्थ्यकर्मीहरुको मनोबल उच्चराख्नको लागि गाउँपालिकाले नियम अनुसारको प्रोत्साहन भत्ता र कोराना नियन्त्रणको क्रममा ज्यान गएमा गाउँपालि १० लाख सम्मको क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको हो । निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले कोरोना भाईरस विरुद्धको अभियानमा स्वास्थ्यकर्मीहरु थप जोखिममा रहेकाले कार्य सम्पादनमा हौसला थप्न सो निर्णय गरिएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्