कोरोनाको मारमा परेपछि धमाधम कुखुरा मार्दै कृषक



कविराज नेपाल, पाल्पा ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको असर कुखुरा कृषकमा प्रत्यक्ष रुपमा देखिएको छ । पाल्पामा कुखुरा पालन व्यवसाय गर्दै जीविकोपार्जन गरेका कृषकहरुले दानाको समस्या, कुखुरा बजारसम्म लैजाने अवस्था नभएको र स्थानीय मानिसले समेत मासु खान छाडेपछि धमााधम कुखुरालाइ खाल्डोमा पुर्न थालेका छन ।

पश्चिम पाल्पाामा ठूलो संख्यामा कुखुरा पालेका किसानले बिक्री गर्न तयार भएका कुखुरा यही समस्याले गर्दा मार्न बाध्य भएका हुन् । कुखुरा बजारसम्म लैजाने अवस्था नभएको र स्थानीय मानिसले समेत मासु खान छाडेपछि कुखुरा मार्न बाध्य भएको किसानहरूले बताएका छन ्। कुखुरालाई पालिरहन खर्चले नसक्ने अवस्थामा दाना पनि पाइन छाडेपछि किसानले कुखुरा मार्न थालेका हुन् । जिल्लाको रैनादेवी छहरागाउँपालिका–३ भुवनपोखरीका किसानले हजारौंको संख्यामा कुखुरा मारेका छन ्। यसरी मारिएको कुखुराको परिमाण झण्डै ७० क्वीण्टल बराबरको छ ।

व्यवसायिक रुपमा कुखुरा पाल्दै आएका स्थानीय किसानहरु वेदप्रसाद मरासिनी,मोहन पौडेल लगायत व्यवसायिक रुपमा कुखुरा पालन गर्ने किसानले यसरी खोरमा रहेको सबै कुखुरा मारेको बताएका छन । व्यवसायी मरासिनीले दुई दिनमा ६ हजार कुखुरा मारेर खाल्डोमा पुरेको वताउदै भन्नुभयो ‘२ किलोदेखि ४ किलोसम्मका कुखुरा थिए, दिनको १२ बोरा दाना चाहिन्छ । केही स्टक थियो। त्यो पनि सकिया । कतैबाट ल्याउन पाइँदैन, मासु खाने कोही छैनन विक्री भएन त्यसैले गर्दा , ‘हुर्किसकेका मार्नु परेको हो।’ उहाले यसबाट झण्डै १५ लाख बराबरको नोक्सान भएको वताउनु भयो छ। १५

त्यसै गरी स्थानीय मोहन पौडेलेले ४ सय ५० कुखुरा पालेकोमा दाना र बजारको अभाव हुँदा खोरमा भएका सबै कुखुरा मार्न बाध्य भएको जानकारी दिनुभयो ।

रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले कृषकको समस्या र कुखुरा मारेको विषयमा गाउँपालिकाबाट प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वको टोली किसानको अवस्थाबारे अनुगमन गर्न घट्नास्थल गएको क्षतिको आधारमा मर्कामा परेका किसानलाई आवश्यक सहयोग गर्ने वताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्