धन्न म न्युयोर्क गइनछु !



सरिता अर्याल । 

कोरोनाको कहर लकडाउनका रुपमा नेपालीले भोगिरहेका छन् । त्यसो त मैले लकडाउन हुनुभन्दा पहिले देखिनै बिहानको वाक र योगामा जान छोडिसकेकी थिएँ । अरु कुराले मलाई घरबाट बाहिर निस्किहाल्नु पर्ने काम पनि थिएन ।घरमा खाध्यान्न त छ । खाने कुरैको लागि बाहिर निस्कनुपर्ने आवश्यकता पनि छैन । तर समस्या आफैले परिवारमा थोपारिदिएको बानीले अप्ठ्यारो पारि रहेको छ ।

घरमा फलफूल सकियो । सधै एउटा फलफुल खानै पर्ने बानी अब के गर्ने होला छटपती भयो । हामीले त नखादा पनि होला तर श्रीमान्लाई त खानैपर्छ । अब त निस्कनै पर्याे बाहिर भन्दै म नजिकै चोकमा भएकोे फलफूल पसलसम्म जान्छु भन्दै नाकमा मास्क भिरेर निस्किएँ घरबाट ।

पसलमा थोरै मात्र फलफूल रहेछ , फलफूल सकिन लागेको क्रेटबाट छान्न थालें । छान्दै गर्दा मनमा लागि रहेको थियो हिजो अस्ति देखिने जस्तै आज पनि यो क्रेट भरि भएको थियो होला फलफूलले, त्यो बेला कति हातले फलफूल छाने होलान म भन्दा पहिले । उफ ! तीनमा कतै संक्रमित हात त थिएन ? मनमा कुरा खेल्दै थियो एक जना मानिस मेरै छेउमा आएर फलफूल त सकिए छ त अब नया नल्याउने भन्दै उभिए । ती मानिस पनि फलफूल छान्न त आउने होईनन भनेर मेरो मन डरायो । मैले ती मानिसतिर पनि नफर्कि सुन्तला स्याउ र केरा छाने । पसले सित भाउमा मोलमलाई नै नगरि उनको अगाडि हजारको नोट बढाए । फिर्ता पैसा दिए पसले भाईले तर त्यो पैसा खल्तीमा राख्ने आँट गर्न सकिन । हातमा पैसा च्यापेर बाटो लागिहाले ।

अरुबेला सिधा अगाडि हेरेर हिड्ने मेरो आँखा पसल जाँदा र फर्किदा निहुरिएर हिडिरहेको थिए कारण बाटोमा भएको कसैले थुकेको थुक वाकफमा मेरो खुट्टान परोस । बाटोमा कसैशीत बोल्नु नपरोस भन्दै म घर तिर लम्किरहेको थिए । घरको गेट अगाडि आई नपुग्दै पानीको जार बोकेको मानिसले गेट खोले । पानी पसलेले गेटभित्र पानी राखेर निस्कदै थिए म उनीशीत पनि बोल्न डराए । अरुबेला भए घर भित्र पसेको मान्छेशीत नबोलेको सम्झना पनि छैन तर धन्य कोरोना मलाइ कति डरछेुरुवा बनाइसकेछ । घरमा आएर सबै फलफुल धोएर घाममा सुकाईदिए र आफू सिधै बाथरुममा पसे नुहाउन ।

मेरो बसमा हुन्थ्यो त म मूल गेटमै भोटे ताल्चा लगाउने थिए होला । समस्या दूध र पानीको छ । दूध पानी लिन त बाहिर जानै पर्ने ।
कतै जानू नपरेर घर बस्ने भईयो भने त कति लेख पढ गरिथ्यो होला भन्ने लाग्दथ्यो अहिले गेटबाट पनि बाहिर ननिस्कनु भनेको छ तर पढन लेख्न त जीरो । पुस्तक त पढिएको हुन्छ तर त्यसमा डुब्न सकेन मन अन्तै डुल्दै हुन्छ । लेख्ने त दिमागमा केही आएपो । अहिलेको मेरो मनले नै अर्हाएर गर्ने काम भएको छ छिन छिनमा टिभीमा समाचार हेर्ने ।

यहि चैत्र ४ गते म इतियाद एयरलाईन्सबाट न्युयोर्क जाँदै थिए । हुन त म पाँचवर्ष त्यहा बसेरै आएकी थिए । त्यो समयमा म मानवरुपी मेसिन भएर काम गरेर मात्र बसेकी थिए । यो पल्ट म मात्र भेटघाट र घुमघामको लागि जाँदै थिए । मेरी साथी बसन्ती सबै भन्दा खुसी थिईन म आउदै छु भन्दा । रानुले त जति बेला पनि भन्दथीन खुब मस्ती गरेर सबैतिर घुमेर जानू यो पल्ट । । म पनि खुसी नै थिए । आफूले सम्झीने जतिको लागि उपहारको लागि केही न केही किने पनि भने उनीहरुको फरमाईस अनुसारले गुन्द्रुक , मस्यौरा, टिम्मुर , सिस्नुको धुलो र बत्तिकातने रुवा पनि किनी सकेको थिए । बिस्तारै कोरोना चिनबाट बाहिरीयो । छोरी डाक्टर कोरोनाशीत डराउदै मलाई नजाने कि भन्न थालिन । छोरा अलि निडर युवा जोस छ जानू जानू कोरोना फैलियो भने यहाँ भन्दा उता सुरक्षित हुनुहुन्छ किन डराएको भन्दै थियो । साथी भाईले त केहीभन्न सकेका थिएनन तर अन्तरास्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष राधेश्याम लेकालीज्यूले भने सुरु देखिनै भनिरहनु भएको थियो सरिता बहिनी कोरोनाको लक्ष्यण ठिक छैन अहिले नजादा बेस होला ।

मन अलि अलि अत्तालियो । नेपालबाट अमेरिका पुग्नु भएको शुप्रभात भण्डारी र बद्रि विनोद प्रतीकज्यूहरुशीत कुरा गरे उहाहरुले पनि आउनु केही छैन यहाँ भन्नू भयो । बसन्ती, संग्रम र रानु त किन डराएको भनिरहेका थिए तर म भने साच्चै कमजोर हुँदै गएको थिए जाने कुरामा ।

उहाँपुगेर पनिक्वारेन्टाईनमा बस्नु पर्याे भने के जानू भन्ने मनमाआयो । मैले निर्णय लिनै सकेको थिइनन्यूयोकमाकोरोना संक्रमित भेटियो । म एक हप्ता अगाडिकै टिकट बुक गरेकि थिए तर भतिजा शैरभको बिवाह नसकि नजानु भनेर देवरानीले घाँटी नै समाएकीले टिकट काटने बेलामा एक हप्ता पछाडि चार गतेको काटेकीथिए । कोरोनाको कहर न्यूयोर्कमा देखिएपछि छोरीले जोड दिइन नजानु भन्दै र मैले पनि डरैले २ गते टिकट पछाडि जाने गरि सार्न लगाए । उताका साथीहरुलाई म नआउने भए अहिले भन्न पनि नपाई न्यूयोर्कमा हाहाकार मच्चीयो ।

ओहो अहिले त कोरोना नेपाल पनि पसिसक्यो । अहिले घरबाट पनि निस्कन डराउने म चार गते उडेकी भए मेरो मनस्थिती के हुने रहेछ ?
मानिस जन्मेपछि एक दिन त मर्ने नै हो भनेर थाहा हुदाहुँदै पनि मृत्यूसित कति डराउदो रहेछ भन्ने कुरा मैले अहिले अनुभव गरिरहेकी छु । छोराछोरी श्रीमानको अगाडि हुँदा त म यति सारो डराएकी छु भने म उडिहालेकीभए एक्लो के गर्दथ्ये होला? हुन त साथीहरु थिए त्यहा पनि मलाई माया गर्ने तर नेपालमा पसेको कोरोनाको समाचारले मलाई परिवार सम्झदै कति पिरथ्यो होला !

समाचारमा सुन्दैछु कोरोना जाँच्ने कीट छैन तर सरकार ढिलासुस्ती गर्दैछ । बिकसित मुलुकहरुले हात उठाई सके घुँडा टेकिसके कोरोनाको अगाडि भने हामीशीत त के छ र ? न त बिरामी जाच्ने क्षमता नत बिरामी राख्ने अस्पताल नै अनि आफै सम्झन्छु हो म डराएको पनि ठिकै हो तर हामीलाई घरबाट बाहिर ननिस्कि पनि पुग्ला त ?

प्रतिक्रिया दिनुहोस्