आपुर्ति सहज बनाउन कार्ययोजना



मोतीराम तिमल्सिना, काभ्रे ।

कोभिड १९ को संक्रमण फैलन नदिन नेपाल सरकारले गरेको लकडाउनका कारण जिल्लामा अत्यावश्यक सामाग्रीहरुको आपुर्ति सहजताका लागि सरोकारवालासँग छलफल गरी विशेष कार्ययोजना तयार गरिएको छ ।

जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीको अध्यक्षतामा बसेको बैठकमा नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु, बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिं बादे, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना, विष्णु दल गणका प्रमुख सेनानी सुवास खड्का, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरिक्षक रविकुमार पौड्याल, सशस्त्र प्रहरी बल नेपाल नं. १५ गण हेडक्वाटर काभ्रेका प्रहरी उपरिक्षक पुरुषोत्तम थापा,राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका प्रमुख अनुसन्धान अधिकृत सरोज निरौला, स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झा, नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य सुरकृष्ण बैद्य, जिल्ला अध्यक्ष प्रकाश मानन्धर, पुर्व अध्यक्ष लक्ष्मीलाल राजभण्डारी, महासचिव कैलाश पलाञ्चोके, ग्याँस ब्यवसायी लगायतको सहभागिता रहेको थियो ।

बैठकमा लकडाउनको विद्यमान अवस्थामा जिल्लामा आपुर्ति हुँदै आएको खाद्यान्न, ग्याँस लगायत अन्य दैनिक उपभोग्य सामग्रीको वितरण व्यवस्थालाई सहज बनाउन विशेष कार्ययोजना सहित नागरिकलाई अभाव हुन नदिने निर्णय भएको छ । अत्यावश्यक खाद्य वस्तुको सबै स्टोर एवम् विक्रेताहरुले आवश्यक परेको अवस्थामा आप्mना साधन मार्फत आवश्यक दैनिक उपभोग्य वस्तुहरुको सहज आपूर्तिको व्यवस्था मिलाउने, फोन, अनलाईन, अफलाईन मार्फत माग संकलन गरी माग भएका आवश्यक दैनिक उपभोग्य वस्तुको कम्बोप्याक गरी विक्री वितरण गर्ने निर्णय भएको छ ।

जिल्लाको अत्यावश्यक वस्तुको भण्डारण एवम् विक्रेताहरुले उल्लेखित कार्यको व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालय र स्थानीय तहहरुले सहयोग गर्ने, स्थानीय तहहरुले वडास्तरमा दूध, तरकारी, फलपूmल एवम् अन्य अत्यावश्यक खाद्य पदार्थ विक्रि वितरण गर्ने, पसलहरुमा भिडभाड नहुने व्यवस्था मिलाउने, माक्स र सेनिटाइजरको प्रयोग गर्ने र ग्राहकहरु बीच भौतिक दुरी कायम हुने गरी सञ्चालन गर्न सहजिकरण गर्ने, स्थानीयत तहहरुले आ–आफ्नो क्षेत्रभित्रका वडाहरुमा तेश्रो मुलुक र भारतबाट आएका व्यक्तिहरुको स्वास्थ्य सम्बन्धी विवरणहरुको अभिलेख प्रत्येक दिन अद्यावधिक गर्ने र स्थानीय स्वास्थ्य संयोजकहरुले कोभिड १९ को लक्षण देखिएका व्यक्तिहरुको विवरण जिल्ला प्रशासन कार्यालय, काभ्रे र स्वास्थ्य कार्यालय काभ्रेलाई उपलब्ध गराउने निर्णय भएको छ । त्यस्ता विवरण जिल्ला प्रशासन कार्यालय काभ्रेले राष्ट्रिय आपतकालिन कार्यसंचालन केन्द्रमा प्रत्येक दिन पठाईने छ ।

त्यस्तै स्थानीय तहहरुले आ–आफ्नो क्षेत्रमा क्वारेन्टाइनको व्यवस्था गरी सञ्चालनको व्यवस्था मिलाउने र आ–आफ्नो क्षेत्रभित्र अनिवार्य रुपमा क्लोरिन र ब्लिचङ्ग पाउडर लगायत डिसइन्फेक्सन नियमित गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ । औषधि तथा औषधिजन्य वस्तु र स्वास्थ्य उपकरण, खाद्यान्न, तरकारी, फलफूल, माछामासु, दुध तथा दुधजन्य पदार्थ, पानी, सरसफाइका वस्तुहरु चिनी, तेल, पशुपन्छि, अन्य आहार, इन्धन जस्ता वस्तुहरुको उत्पादन गर्ने सरकारी तथा निजी उद्योगहरु र विक्री वितरण गर्ने थोक तथा खुद्रा विक्री केन्द्र (पसल) हरु नियमित सञ्चालन गर्ने, अत्यावस्यक औषधी, स्वास्थ्य उपकरण वा सामाग्री, खाद्यान्न वस्तु, खानेपानी, दुध, इन्धन उत्पादन गर्ने उद्योगहरुमा रहेको मौज्दातको नियमित रुपमा अनुगमन गर्ने, त्यस्ता वस्तु उत्पादन गर्ने उद्योगहरु सञ्चालन गर्दा संक्रमण जोखिमलाई मध्यनजर राखी कामदारको लागि माक्स र सेनिटाइजर लगाउने, भिडभाड नगर्ने, २५ जना भन्दा बढी एक स्थानमा नरहने व्यवस्था उद्योग सञ्चालनको क्रममा भए नभएको जिल्ला प्रशासन कार्यालय र स्थानीय तहले अनुगमन गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्