कोरोना नियन्त्रणका लागि एक करोडको राहतकोष स्थापना गर्ने



शिक्षा पन्त, लमजुङ ।

लमजुङको दोर्दी गाउँपालिकाले नोवेल कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रणका लागि १ करोडको राहत कोष स्थापना गर्ने भएको छ । गाउँ कार्यपालिकाको बैठकले कोरोनाको संक्रमण हुन सक्ने भन्दै यसका लागि राहत कोष स्थापना गर्ने निर्णय गरेको हो ।

 

गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङका अनुसार गाउँपालिकाभित्र कोरोना संक्रमण सम्भावित व्यक्ति भेटिएका उनीहरुलाई राख्न क्वारेन्टाइन बनाउन थालिएको छ । प्रत्येक वडामा रहेका विद्यालयहरुमा १०÷१० बेड क्षमताको क्वारेन्टाइन बनाउन थालिएको छ । एउटा वडाले १० देखि ५० वटासम्म क्वारेन्टाइन बनाउन सक्ने उहाँले बताउनुभयो । उनीहरुको खानाको व्यवस्था गाउँपालिकाले गर्ने भएको छ ।

 

उहाँका अनुसार केही दिन अघि विदेशबाट गाउँ आएकाहरुको पहिचान गरि क्वारेन्टाइनमा राखिने छ । यो समयमा अपरिचित व्यक्तिहरुलाई गाउँपालिका क्षेत्रभित्र प्रवेश निषेध गरिएको र गाउँपालिकाका बासिन्दालाई अन्यत्र जान रोक लगाइएको दोर्दी गाउँपालिकाका उपाध्यक्ष दिल बहादुर घलेले बताउनभुयो ।

 

गाउँपालिकामा संक्रमण सम्भावित विरामी हुन सक्ने भन्दै गाउँपालिकाले २ वटा एम्बुलेन्सका निःशुल्क व्यवस्था पनि गरेको छ । गाउँपालिकाले भाडामा लिएर एम्बुलेन्सको व्यवस्था गरेको हो । गाउँपालिकाले दोर्दी क्षेत्रमा जलविद्यतु आयोजनामा कार्यरत कामदारहरुको तथ्यांक संकलन थालेको छ ।

 

गाउँपालिकाले वडा नम्बर १ को बेलघारी, ४ को नौथर सेरामा, वडा नम्बर ८ र ९ जाने बाटो चितिमा हेल्थ डेस्क राखेर थर्मल गर्नमार्फत स्वास्थ्य जाँच गर्ने गरेको छ । गाउँपालिकामा ज्याला मजदुरी गर्दै आएकालाई समस्या परेमा आवश्यकता अनुसार खाद्यान्य उपलब्ध गराउने निर्णय गरेको छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालकलाई मास्क र स्यानीटाइजरको व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्