पर्वतमा विदेशबाट फर्किएका दुई सय ४० जना ‘होम क्वारेन्टाइन’ मा



न्युज अफ नेपाल, पर्वत ।

पर्वतमा चैत महिना यता विभिन्न मुलुबाट गाउँ फर्किएका दुई सय २० जनालाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ । पर्वतका सात ओटै स्थानीय तहहरुले चैत्र महिनाको शुरु देखि गाउँमा भित्रिएका व्यक्तिहरुको लगत संकलन गरि विहिबार सम्म जिल्ला प्रशासन कार्यालय पर्वतमा बुझाएका छन् ।

 

पालिकाहरुले उपलब्ध गराएको विवरण अनुसार सवै भन्दा धेरै ६५ जना व्यक्तिहरु बैदेशिक रोजगारीमा पुगेर चैत्र महिनामा गाउँ फर्किएको विवरण फलेवास नगरपालिकाले उपलब्ध गराएको छ भने विहादी गाउँपालिकामा ४५ जना, पैञ्यु गाउँपालिकामा ३५ जना, महाशिला गाउँपालिका १५ जना, जलजला गाउँपालिकामा ३२ जना र मोदी गाउँपालिकामा आठ जना व्यक्तिहरु रहेका छन् ।

 

सदरमुकाम अवस्थित कुश्मा नगरपालिकामा ३९ जना व्यक्तिहरुको नाम उपलब्ध भएको स्वास्थ्य शाखा संयोजक उमाकान्त सापकोटाले बताउनुभयो । स्थानीय तह मध्ये पैञ्यु गाउँपालिकाले बाहेक अन्य स्थानीय तहहरुले लगत संकलन गरी जिल्ला प्रशासन कार्यालय पर्वतमा जानकारी उपलब्ध गराएका छन् । सो सँगै पालिकाहरु आफै सक्रिय भएर विदेशबाट गाउँ फर्किएका व्यक्तिहरुलाई होम क्वारेन्टाइनमा बस्न आग्रह समेत गरेका छन् ।

 

विवरण तयार पार्दै विश्वभर फैलिएको कोरोना भाईरसको संक्रमणबाट जोगीन घरमै बस्न र विदेशवाट आएका अन्य व्यक्तिहरुसंग १४ दिनसम्म सम्पर्कमा नरहन आग्रह गरिएको जलजला गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्लले जानकारी दिनुभयो ।

 

यता प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले सवै स्थानीय तहहरु सँग विदेशबाट फर्किएका व्यक्तिहरुको विवरण संकलन गर्ने कार्य भइरहेको र त्यसरी गाउँ फर्किएका व्यक्तिहरुको स्वास्थ्यमा समस्या आएमा तत्काल स्वास्थ्य जाँच गर्न सल्लाह दिएको बताउनुभयो । स्वास्थ्य जाँचका क्रममा कोरोना भाइरसको संक्रमण सँग मिल्न गएमा क्वारेण्टाइन र आइसुलेसनमा भर्ना गरिने उहाँको भनाई छ।

प्रतिक्रिया दिनुहोस्