कोरोनाबाट बच्न झापामा गोलो घेरा



न्युज अफ नेपाल, भद्रपुर ।

जिल्लाका विभिन्न बजार क्षेत्रमा औषधि, खाद्यान्न, सागसब्जी पसल अगाडि व्यवसायीले गोलो घेरा बनाएर उपभोक्तासँग सामाजिक दुरी कायम गर्न शुरु गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका एसपी कृष्णप्रसाद कोइरालाले आफ्नो फेसबुक एकाउन्टमा कोरोना भाइरसबाट बच्न दुरी कायम गर्ने सन्देशमूलक तस्वीर पोष्ट गर्नुभएको थियो । दक्षिणी भारतमा खाद्यान्न पसलमा किनमेल गर्न जाने उपभोक्तालाई दुरी कायम गर्न उद्देश्यले त्यहाँका पसल अगाडि गोलो घेरा बनाएको तस्बिर एसपी कोइरालाले पोस्ट गर्नुभएको थियो ।

एसपीले सार्वजनिक गरेको तस्वीरको आधारमा झापाको बिर्तामोड र भद्रपुरका व्ययवासीले विहीबारबाट आफ्नो पसल अगाडि गोलो घेरा बनाउन थालेका छन् । प्रहरीले पनि व्यवसायीहरूलाई सहयोग गर्न थालेको पाइएको छ ।

व्यवसायीले सन्तोष भेराइटी किराना पसलहरूमा, प्रदीप फार्मेसीसहित औषधी पसलहरूमा र बुधबारे हटियाका सब्जी पसलहरूमा क्रेता र विक्रेताको दुरी कायम राख्न सङ्केतहरू बनाउने थालेको चेम्बर अफ कमर्स झापाका संस्थापक अध्यक्ष सन्तोष अग्रवालले बताउँनुभयो ।
इलाका प्रहरी कार्यालय अनारमनिका डिएसपी मुकुन्द रिजालसहितको उपस्थितिमा सामाजिक दुरी कायम राख्ने सङ्केत चिन्ह बनाइएको अध्यक्ष अग्रवालले बताउँनुभयो ।

पसल अगाडि दुरी अङ्कित घेरामा बसेर उपभोक्ताले किनमेल गरे भिडभाड पनि नहुने र एक आपसबाट कोरोना भाइरस पनि नसर्ने यो अभ्यास अहिलेको परिस्थितिमा आवश्यक रहेको विज्ञहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्