सामाग्री नहुँदा कोरोना परीक्षणमा समस्या



मनिषा केसी, रुकुम ।

जिल्ला अस्पताल सल्ले रुकुम पश्चिममा कोरोना भाइरसको लक्षण देखिएका बिरामीको चेकजाँच र उपचार गर्नका लागि आवश्यक सामाग्री नहुँदा समस्या भएको छ । पछिल्लो समय भारतबाट फर्किएका व्यक्तिहरुमा कोरोनाको आशंका भएकोले त्यस्ता बिरामीहरु बढ्न थालेपछि उपचारमा समस्या भएको अस्पताल प्रशासनले जनाएको छ ।

कोरोना संक्रमणको आशंकामा चेकजाँचका लागि स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि प्रयोग गरिने व्यक्तिगत सुरक्षा सामाग्री (पिपिई) र अन्य उपकरणहरु नभएकोले त्यस्ता बिरामीको चेकजाँच गर्न स्वास्थ्यकर्मीहरु समेत डराउने गरेकोले बिरामी मर्कामा परेका छन् । जिल्ला अस्पतालमा आवश्यक स्वास्थ्य सामाग्री नभएको, अहिले सामाग्रीको नाममा मास्क मात्रै भएको र त्यो पनि पर्याप्त मात्रामा नभएपछि एउटै मास्क ४, ५ दिनसम्म प्रयोग गर्नुपर्ने बाध्यता रहेको अस्पतालका प्रमुख डाक्टर महेश चौलागाईँले बताउनुभयो । उहाँका अनुसार कोरोना लक्षणका बिरामी अस्पतालमा उपचारको लागि आएपछि बिरामीलाई सेवा दिन सक्ने अवस्था छैन । अहिलेसम्म जिल्ला अस्पतालमा ५ जना कोरोना लक्षणका बिरामी आएको र तिनीहरुको कोरोना परीक्षणको लागि नमूना पठाइएको उहाँको भनाई छ । कर्णाली प्रदेश अस्पतालबाट आएका ल्याब टेक्निसियन कलम थापाले ती आंशंकामा रहेका व्यक्तिहरुको नमूना परीक्षणका लागि लिएर गएको डाक्टर चौलागाईले जानकारी दिनुभयो ।

जिल्ला अस्पतालमा समेत कोरोना परीक्षणका लागि आवश्यक सामाग्री नहुँदा ग्रामीण स्तरका स्वास्थ्य संस्थामा झन ठूलो समस्या रहेको बताइएको छ । स्वास्थ्यकर्मीका लागि आवश्यक सुरक्षा सामाग्री नहुँदा कोरोनाको शंका लागेका बिरामी आएमा स्वास्थ्यकर्मीहरु समेत भाग्नुपर्ने अवस्था भएको स्थानीयको भनाइ छ । जिल्ला अस्पताल र जिल्ला प्रशासन कार्यालयले जिल्लाभरका स्वास्थ्यकर्मीका लागि सुरक्षा सामाग्रीको व्यवस्थापनमा जुटिरहेको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले बताउनुभयो । अबको केही दिनमा सामाग्री उपलब्ध हुने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्