नक्कली विरामी बोक्ने एम्बुलेन्स नियन्त्रण



न्युज अफ नेपाल, भद्रपुर ।

यात्रुलाई नक्कली बिरामी बनाएर बोकेको अवस्थामा झापा प्रहरीले एम्बुलेन्स नियन्त्रणमा लिएको छ । एम्बुलेन्सको प्रयोग गरी ससुरालीबाट घर फर्कदै गरेका ५ जनासहित एम्बुलेन्सलाइ प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

भद्रपुरबाट विराटनगरतर्फ जाँदै गरेका को २ च १२६६ नम्बरको एम्बुलेन्सले यात्रुलाई नक्कली बिरामी बनाएर लगिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय झिलझिलेले पूर्वपश्चिम राजमार्गमा चेकजाँचको क्रममा वुधबार राति एम्बुलेन्स नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

 

विराटनगरस्थित परिवर्तन समाज कल्याण ट्रस्टको एम्बुलेन्स चालक कटहरी बस्ने अजय सरदारले विराटनगरबाट बिरामी बोकेर भद्रपुर गएका थिए । भद्रपुरबाट फर्किने क्रममा चालक सरदारले एकै परिवारका पाँच जना यात्रु हालेर विराटनगर लगिरहेका थिए । प्रहरीले सवारीसाधन चेकजाँच क्रममा सोधपुछ गर्दा एम्बुलेन्समा नक्कली बिरामी फेला परेकोले नियन्त्रणमा लिइएको थियो ।

 

तिनीहरूले ९ हजार भाडा तिरेर एम्बुलेन्समा विराटनगर गइरहेका थिए । उनीहरुलाइ छाडिएको छ भने चालक सरदारसहित एम्बुलेन्सलाई इलाका प्रहरी कार्यालय झिलझिलेमा आवश्यक कारबाहीका लागि राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्