एम्बुलेन्स चालकले सरकारसँग मागे सुरक्षा सामाग्री



पुष्कर बुढाथोकी, भक्तपुर ।

भक्तपुरका एम्बुलेन्स चालकले सुरक्षा सामाग्री माग गर्दै सरकारको ध्यानाकर्षण गरेका छन् ।

भक्तपुर जिल्ला एम्बुलेन्स चालक संघको नेतृत्वमा गएका एम्बुलेन्स चालकले भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई आवश्यक सामाग्री माग गर्दै निवेदन पेस गरेका छन् । उनीहरुले प्रमुख जिल्ला अधिकारी पाण्डेलाई एम्बुलेन्स चालकहरू असुरक्षित भएर एम्बुलेन्स चलाउन बाध्यता रहेको भन्दै निवेदन दिएका छन् ।

निवेदनमा पीपीई,एन्टी ब्याक्टेरियल स्प्रे र सुरक्षा सामाग्री (मास्क, पन्जा, एप्रोन, गमबुट, सेनिटाइजर) चालकलाई उपलब्ध गराउन माग गरिएको छ ।संघका सल्लाहकार तथा निबर्तमान अध्यक्ष बुद्घकृष्ण बागश्रेष्ठले कोरोना भाइरस सम्बन्धी समस्या जटिल बन्दै गइरहेको परिप्रेक्षमा एम्बुलेन्स सेवालाई निरन्तर सुचारू गर्नका लागि चालकका लागि सुरक्षा सामाग्री उपलब्ध गराइनुपर्ने माग आफूहरुको रहेको बताउनुभयो ।

संघले भक्तपुर जिल्लाभित्र २६ वटा एम्बुलेन्स र ४ वटा शव वाहन समेत गरी ३० वटाबाट आकस्मिक सेवा प्रदान गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्