डोटीमा एकजना युवक आइसोलेसनमा,३०८ जना क्वारेन्टाइनमा भर्ना



विमल विष्ट,डोटी।

जिल्ला अस्पताल डोटीमा एकजना १९ वर्षीय युवकलाइ आइसोलेसन वार्डमा भर्ना गरिएको छ । केही दिनअघि भारतको तेलंगना प्रदेशबाट कामगरेर घर आउनु भएका निज युवक प्रहरीको सहयोगमा मङ्गलबार जिल्ला अस्पतालको सम्पर्कमा आउनु भएका थियो । भारतको तेलंगना प्रदेशमा कोरोना भाइरसका बिरामी देखिका कारण उहाँलाई पनि कोरोनाको सङ्क्रमण भएको हुन सक्ने भन्दै अस्पतालले आइसोलेसन वार्डमा भर्ना गरेको जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. योती पाण्डेले जानकारी दिनुभयो ।

आइसोलेसन वार्डमा भर्ना हुनु गरिएका निज युवकको घाटी र नाकको स्वाब परीक्षणका लागि काठमाण्डौँ स्थित टेकु अस्पताल पठाइएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले उहाँको स्वाब सेती प्रादेशिक अस्पताल धनगढी पठाएका छौं, धनगढीबाट काठमाडौं लगिनेछ ।”

स्वाबको रिपोट नआएसम्म उहाँलाई आइसोलेसन वार्डमै राखिने व्यवस्था मिलाइएको अस्पतालले जनाएको छ । स्वाब परिक्षणका लागि पठाइएका युवकको परिचय भने गोप्य राखिएको अस्पतालले जनाएको छ । कोभिड–१९ को संक्रमण भएको आशंकामा सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाबाट स्वाब परीक्षणको लागि पठाइएको यो पहिलो घटना हो ।

त्यस्तै भारतबाट काम गरेर आफना घर फर्किएका पुरुष २५८, महिला २८ र बालबालिका २५ गरी कुल जम्मा ३०८ जनालाइ जिल्लाका बिभिन्न स्थानमा बनाइएका क्यारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरिक्षक दिलीपसिंह देउवाले जानकारी दिनुभयो । उहाँका अनुसार आज मात्रै कैलाली र कञ्चनपुर क्षेत्रबाट करिब १५ जना डोटीका स्थानीय आउदै छन् ।

उहाँहरुलाइ पनि सम्बन्धित स्थानीयतहका क्वारेन्टाइनमा राख्नका लागि व्यवस्था मिलाउन लागिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । भारतबाट काम गरेर आएका हरुलाइ जिल्लाको बडीकेदार गाउँपालिका स्थित बिपिनगर, शिखर नगरपालिका तल्कोट, पूर्वी चौकी गाउँपालिकाको साना गाउँ, आदर्श गाउँपालिकाको मौवा, बोगटान फुड्सिल गाउँपालिकाको चवरा चौतारा, जोरायल गाउँपालिकामो सिलिङ्गीबाग, हाट तथा दिपायल सिलगढी नगरपालिका र केआइसिंह गाउँपालिकाका राजपुरमा निर्माण गरिएका क्वारेन्टाइनमा राखिएको छ ।

क्वारेन्टाइनमा राखिएकाहरुको सम्बन्धित नगरपालिका तथा गाउँपालिकाले खाने बस्ने व्यवस्था मिलाएको जिल्ला समन्वय समितिका संयोजक रामबहादुर ऐरले जानकारी दिनुभयो । विश्वभर महामारीकोरुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सचेतनास्वरुप यहाँका स्थानीयतहले आफना वडाका गाउँ/टोलमा पुगेर भारतबाट आएकालाई होम क्वारेन्टाइनमा बस्न सुझाब समेत दिन थालेका छन् ।

भारतबाट आफ्नो गाउँ टोलमा कोही आएको खण्डमा गाउँपालिका, नगरपालिका वा प्रहरी कार्यालयमा खबर गरी सहयोग गर्न प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले सबैलाई आग्रह गर्नुभएको छ । क्वारेन्टाइनमा राखिएकाहरु लाई १४ दिनसम्म दैनिक आफ्नो तापक्रम मापन गर्नका लागि थर्मोमिटर प्रदान गरिएको छ भने आवश्यक परामर्श समेत दिइएको प्रजिअ पौडेलले जानकारी दिनुभयो ।

केही दिन यतादेखि भारत सहित देशका अन्य क्षेत्रबाट काम गरेर आएकाहरुको खोजी कार्य गरी अभिलेख राख्ने कार्यलाई निरन्तरता दिइएको जिल्ला समन्वय समितिका संयोजक ऐरले बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोनाको सङ्क्रमणबाट जोगाउन हामीले सबै बिधि र तरिका अपनाएका छौँ, भारतबाट कामगरी आएका तर जानकारी नदिएर घरमा रहेकाहरुको पनि खोजी कार्यगरी अभिलेख राख्दै छौँ, रोगको सामना गर्न हामी तयार छौँ ।”

प्रतिक्रिया दिनुहोस्