ताप्लेजुङमा २० शैयाको आइसोलेसन कक्ष तयार



दिलकुमार लिम्बू,ताप्लेजुङ।

ताप्लेजुङमा २० शैयाको आइसोलेसन कक्ष तयार पारिएको छ । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणको आशंका लागेकालाई राख्नेगरी मङ्गलबार आइसोलेसन कक्ष तयार पारिएको हो ।फुङ्लिङ बजारस्थित ताप्लेजुङ उद्योग बाणिज्य सङ्घको भवनमा २० शैयाको आइसोलेसन कक्ष तयार पारिएको जिल्लास्थित कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले जनाएको छ ।

समिति संयोजक एवम् जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख घनेन्द्र मादेनका अनुसार आइसोलेसन कक्षसहित प्रारम्भिक परीक्षण केन्द्रसमेत तयारी अवस्थामा राखिएको छ ।खाने बस्ने साथै आवश्यकीय सबै व्यवस्थासहित आइसोलेसन कक्ष तयार पारिएको समितिका सदस्य सचिव एवम् प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए ।

प्रजिअ निरौलाका अनुसार आइसोलेसल कक्ष व्यवस्थापनका लागि अन्य छ स्थानलाई सम्भावित सूचीमा राखिएको छ ।रेडक्रस सोसाइटीको भवन, सुकेटारस्थित पाथीभरा क्षेत्र विकास समितिको भवन र फुङ्लिङ नगरपालिकाको निर्माणाधीन भवनलाई आइसोलेसक कक्ष राख्नेगरी सूचीमा राखिएको छ ।

यस्तै फुङ्लिङ बजारकै पराजुलीचौकस्थित ताप्लेजुङ बहुउद्देश्यीय सहकारी संस्थाको भवन, जिल्ला खेलकुद विकास समितिको कर्भडहल र निर्माणाधीन ताप्लेजुङ बृद्धाश्रमको भवनलाई आइसोलेसन र क्वारेन्टाइन केन्द्रको बनाउन सकिनेगरी पहिचान गरिएको प्रजिअ निरौलाले जानकारी दिए ।

यसैगरी मङ्गलबार बसेको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकले जिल्लामा सञ्चालित एम्बुलेन्सलाई तयारी अवस्थामा राख्ने निर्णय पनि गरेको छ । जिल्ला एम्बुलेन्स सञ्चालन समितिका संयोजक समेत रहनुभएका प्रजिअ निरौलाले एम्बुलेन्सको नियमन र निगारानी बढाइएको बताए ।

समितिको बैठकले अत्यावश्यक सेवा बाहेक अरु सेवा प्रदान गर्ने निकायको सेवा बन्द गर्ने तथा अत्यावश्यक काम बाहेक अनावश्यक भीडभाड गर्नेलाई समेत नियन्त्रण लिई कारबाही गर्ने समेत निर्णय गरेको छ ।

लकडाउन अवधिभर घरमै सुरक्षित तवरले बस्न, अनुमति प्राप्तबाहेक सवारी साधन सञ्चालन नगर्न समेत आम नागरिकलाई समितिले आग्रह गरेको छ । उता ताप्लेजुङ र पाँचथरको सिमाना काबेली तथा सुकेटार विमानस्थलमा हेल्थ डेस्क (स्वास्थ्य परीक्षण कक्ष) राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्