विदेशबाट फर्केका सबैलाई अस्पतालसँग सम्पर्कमा आउन चिकित्सकको आग्रह



न्युज अफ नेपाल, पर्वत । 

पर्वतका स्थानिय तहले बिदेशबाट फर्केका नागरिकको सुची संकलन र सार्वजनिक गर्न थालेका बेला त्यस्ता ब्यक्तिलाई स्वास्थ्यकर्मीको सम्पर्कमा पठाउन पर्वत अस्पतालले आग्रह गरेको छ ।

बिदेशबाट घर फर्केपछि घरमै बसेकाहरुलाई तत्कालै स्वास्थ्यकर्मी संग सम्पर्क गरि नियमित रुपमा स्वास्थ्य अबस्थाका बारेमा जानकारी लिनुपर्ने भएकाले अस्पतालको सम्पर्कमा आउनका लागि आग्रह गरेको हो ।

पर्वत जिल्लामा पछिल्लो बिबरण अनुसार चैत्र महिनाको शुरुवात देखि एक सय जना भन्दा बढी बिदेशबाट फर्केका छन । यो संख्या दोब्बर हुनसक्ने अनुमान गरिएको छ । यसरी फर्किकाहरु घरै बसिरहेका र गाउँघरमा डुल्ने तथा भोजभतेरमा समेत सामेल भएका छन । उनीहरुमा कोरोनाको संक्रमण नभएपनि अनिर्वाय रुपमा १४ दिन घरमै क्वारेन्टाइनमा बस्नुपर्छ ।

पर्वत अस्पतालका निमिक्त मेडिकल सुपरिटेण्डेन्ट डा. शिशीर देबकोटाले बिदेशबाट फर्केका सबै नागरिकले अस्पतालमा सम्पर्क गरि नियमति रुपमा स्वास्थका बारेमा परामर्श लिन आबश्यक रहेको बताउनुभयो । अहिले स्थानिय तहले बिदेशबाट फर्केकाहरुको पहिचान गरिरहेको बेला उनीहरुलाई अनिवार्य रुपमा अस्पतालको सम्पर्कमा पठाउन वडा अध्यक्षहरुलाई आग्रह गर्नुभयो । यस्ता ब्यक्तिहरु घरमै क्वारेन्टाईनमा बस्नुपर्ने र अस्पतालले उपलब्ध गराउने फारम दैनिक रुपमा भर्नुपर्ने उहाँको भनाई छ। ‘क्वारेन्टाईनमा बसेपनि थर्ममिटरले नियमित ज्वरो नाप्नुपर्ने हुन्छ।’

उहाँले भन्नुभयो‘ज्वरोको घटबढका आधारमा संक्रमण भएको देखिएमा स्वाब संकलन गरेर पठाउनुपर्ने हुन्छ , त्यसैले अस्पतालको सम्पर्कमा नै बस्नुपर्छ।’ बिदेशबाट घर फर्केका केहीमा ज्वरो समेत आएको पाइएको डा. देबकोटाले बताउनुभयो ।

अहिले पनि बिबरण संकलन गर्ने र सबैलाई घरमै क्वारेन्टाइनमा बस्न आग्रह गरिरहेका छन । फलेबास नगरपालिकामा ६५ जना मानिस चैत्र महिना लागेपछि घरमा आएको भेटिएका छन । फलेबासले उनीहरुलाई अस्पतालको सम्पर्कमा जान भनेको नगरप्रमुख पदमपाणी शर्माले बताउनुभयो ।

यसैगरी जिल्ला प्रशासन कार्यालयले फलेबास सहित १ कुस्मा, मोदी , जलजला र महाशिला गाउँपालिकामा गरि १ सय जना जति बिदेशबाट आएका नागरिकको पहिचान गरेको छ। सबै स्थानिय तहका वडा अध्यक्षलाई परिचालन गरि बिबरण संकलन गर्ने काम भैरहेको प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले जानकारी दिनुभयो । उनीहरुको फोन नम्बर सहितको बिबरण संकलन गरेर स्वास्थ्यकर्मीको निगरानीमा राख्ने प्रयास भएको उहाँले बताउनुभयो । ‘बिहीबार भित्रमा बिबरण संकलन गर्ने र निगरानी बढाउने योजना छ।’उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्