चिकित्सकले नै कोरोना भाइरस संक्रमितको रिपोर्ट १२ घण्टापछि मिडिया मार्फत थाहा पाए !



भगवती तिमल्सिना, काठमाडौं ।

विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड- १९) प्रति नेपाल सरकार जनस्वास्थ्य प्रति जिम्मेवार हुनुपर्ने देखिन्छ ।

कोरोना भाइरस (कोभिड -१९) को संक्रमण भएका तेस्रो नेपालीको रिपोर्ट मंगलबार रातीनै स्वास्थ्य मन्त्रालयलाई जानकारी गराई संक्रमित व्यक्तिलाई टेकू अस्पताल लगी भर्ना गरिदा समेत उपचारमा संलग्न चिकित्सकहरलाई समेत गुमराहामा राखीनुले सरकारप्रति निकै ठूलो प्रश्न उठाएको छ ।

सरकारले कोरोना भाईरस नफैलियोस र न्यूनीकरणका लागि सहज होस भनेरै एक साताका लागि देश नै लकडाउन गरेको अवस्थामा २ मिनेटको दुरीमा रहेको अस्पताल र प्रयोगशालाका जिम्मेवार व्यक्तिका बीचको असमझदारीले ठूलो प्रश्न उठाएको छ । जबकि राष्ट्रिय प्रयोगशाला र टेकू अस्पताल वल्लो पल्लो भवनमा छन् । तर प्रयोगशालाले बिरामीको उपचार गर्ने अस्पताललाई नत फोन नै गर्यो न इमेलबाट नै जानकारी गरायो । एकैपटक स्वास्थ्य मन्त्रीलाई जानकारी गराई बिरामीलाई मंगलबार रातीनै टेकू असपताल भर्ना गरियो ।

सामान्य ज्वरो आएको बिरामीलाई झै टेकू अस्पतालमा भर्ना गरिएका बिरामीलाई कोरोना संक्रमण प्रमाणित भएको कुरा बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले पत्रकार सम्मेलन गरि संचार माध्यमले समाचार बाहिर ल्याएपछि मात्र जानकारी पाएको टेकू अस्पतालका निर्देशक डा.सागरराज भण्डारीले मिडिया मार्फत सार्वजनि गर्नुभएको छ । उहाँले मंगलबार १६ वटा नमूना पठाएको र एउटा नेगेटिभ आएको समाचार पढेर मात्र थाहा पायौ भन्नुभएको छ । यस्तो असमझदारिले ठूलो दुर्घटना ननिम्तिएला भन्न सकिन्न ।
संक्रमण प्रमाणित भएका युवा एयर अरेवियाको जहाजबाट चैत्र ६ गते राती त्रिभुवन अन्तर्राष्ट्रिय बिमान स्थलमा झरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गरायो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो—धादिङ स्थाई घर भएका संक्रमित व्यक्ति युनाइटेड अरव इमिरेट्स (युएई)को सारजाँह सिटीमा बसोबास गर्थे । उनी चैत्र ६ गते एयर अरेवियाको फ्लाइट नम्बर जी – ९५३७ बाट रातको १० बजेर ९ मिनेट जाँदा नेपालमा झरेका थिए ।

धादिङका ३२ बर्षिय युवा कोरोना भाइरसको लक्षण देखिएपछि ११ चैत्रमा परीक्षणका लागि शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा पुगेका थिए । अस्पतालले तत्काल उनको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा परिक्षणका लागि नमूना दिईएको थियो । १२ गते रिपोर्ट आउँदा पोजेटिभ आएको मन्त्री ढकालले जानकारी गराउनुभयो ।

ती यात्रु युएईबाट आएर काठमाडौँ कै एक होटलमा बसेको र सो होटल र उनीसंग भेट भएका सबैको खोजी कार्य शुरु गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । टेकूमा बुधबार सम्म ६८० जनाको कोरोना भाईरसको नमूना परिक्षण गरिएकोमा ३ जनामा पोजेटिभ देखिएको मन्त्री ढकालले जानकारी गराउनुभयो ।

टेकू अस्पताल र राष्ट्रिय प्रयोगशालाका बीच समन्वय नहुँदा प्रयोगशालामा रिपोर्ट आएको १२ घण्टा सम्म जानकारी गराएनन् । यस बिषयमा टेकू अस्पतालका चिकित्सक र ल्याबका जिम्मेवार व्यक्तिका बिचमा समन्वय नभएको कुरा बुधबार स्वास्थ्य मन्त्रालय टेकू अस्पतालका उच्च अधिकारीले जानकारी गराए ।

यो कुरालाई पुष्टि गर्ने अर्को आधार भनेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका राजेशकुमार गुप्ताले टेकु अस्पातालले पठाएको एक नमुना मंगलबार राति पोजेटिभ भेटिएको बताए । गुप्ताले अस्पताललाई भन्दा पहिला स्वास्थ्य मन्त्रालयलाई सूचना गरेका र मन्त्रालयको वेभसाईडबाट सार्वजनिक भएपछि मात्र थाहा भएको जनाएको छ । यतिबेला जनस्वास्थ्य माथी दुई जिम्मेवार निकायमा कार्यरत व्यक्तिले प्रतिसोध साध्ने नभै जिम्मेवार भएर काम गर्ने बेला हो ।

प्रयोगशालाका निर्देशक डा. रुना झालाई विगत देखिनै स्वास्थ्य मन्त्रालयप्रति मात्र जिम्मेवार बनाउन खोज्दा आज स्वास्थ्य सेवामा जुटेका चिकित्सक, नर्स, अस्पताल र बिरामी अन्योलमा पर्दैछन् । यो अवस्थाको अन्त्य गर्नका लागि स्वास्थ्य मन्त्रालयले समयमै पहल गरि जनस्वास्थ्यमाथी खेलबाड गर्ने काम नगरौ ।

स्वास्थ्य मन्त्रालयले संक्रमित व्यक्तिलाई मंगलबार राती नै टेकू अस्पताल लगी सामान्य बिरामीलाई झै गरि भर्ना गरेको र १२ घण्टा पछि मात्र पत्रकार सम्मेलन गरि जानकारी गराएको थियो । नेपाल सरकार तथा स्वास्थ्य मन्त्रालय यतिबेला विश्व स्वास्थ्य संगठनको मान्यतालाई समेत उल्लघन गर्दै संक्रमितको सुरक्षा भन्दा अरुलाई संक्रमित बनाउने तर्फ लम्किएको टेकू अस्पतालमा बिरामीको उपचारमा संलग्न चिकित्सकहरुले आक्रोशित मिडिया समक्ष आफ्ना गुनासो राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्