कास्कीको क्वारेन्टाइनमा एक जनाको मृत्यु



न्युज अफ नेपाल, पोखरा ।

भारतको हैदराबादबाट फर्केका एक व्यक्तिको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको छ । मृतक लामो समयदेखि मुटुको रोगले थलिए पनि उनको कोरोना भाइरसको कारण मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ ।

उनलाई हिजोदेखि रुपा गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको थियो । मृतक कास्कीको रुपा गाउँपालिका स्थायी ठेगाना भएका हुन् । गाउँपालिका अध्यक्ष नवराज ओझाका अनुसार मृतक लामो समयदेखि मुटुको रोगी थिए । उनको कलेजोमा पानी जमी राखेको सुन्नमा आएको उनले सुनाए ।

क्वारेन्टाइनबाट पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याउँदै गर्दा उनको मृत्यु भएको सूचना प्राप्त भएको छ । उनको थप चेकजाँच भई रहेको छ । पाल आएका उनको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ । उनी भारतमा मजदुरी गर्दै आएका थिए । यस विषयमा बुझ्न पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशकलाई सम्पर्क गर्न खोज्दा उनको फोन डाइभर्ट गरिएको छ ।

रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा र प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रुसाद पोखरेलले उनको मृत्यु स्वीकारी रहेका छैनन् । तर, गाउँपालिकाको क्वारेन्टाइनमा बसेको भने अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतद्वयले स्वीकारेका छन् ।

मृत्युबारे थप विवरण आउँन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्