लकडाउन उल्लंघन गर्नेबाट एक लाख राजश्व उठ्यो



मोतीराम तिमल्सिना, काभ्रे ।

लकडाउनको उल्लंघन गर्ने दुई सय सवारी साधनबाट जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले १ लाख राजश्व संकलन गरेको छ ।

लकडाउनको दोश्रो दिन बुधबार जिल्लाका विभिन्न स्थानबाट नियन्त्रणमा लिईएका सवारी साधनहरुलाई साँझ चेतावनी दिदै जरिवना लिएर छाडिएको हो ।

जिल्ला सुरक्षा समितिको बैठकले लकडाउन पूर्ण रुपमा कार्यान्वयन गर्न जिल्ला स्थित सम्पूर्ण प्रहरी कार्यालयहरु तथा सुरक्षा निकायलाई जिम्मेवारी दिएको थियो । जिल्लामा नेपाल प्रहरी, नेपाली सेना, शशस्त्र प्रहरी बलको युनिट छ । अनुगमन गर्ने क्रममा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना, विष्णु दल गणका गणपति सुबास खड्का, एसपी रविकुमार पौड्याल, शशस्त्र प्रहरी बलका एसपी पुरुषोतम थापा, राष्ट्रिय अनुसन्धानका डिएस्पी सरोज निरौला, जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरिक्षक विशाल लामा, इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक योगेन्द्र तिमल्सिना लगायत अनुगमनमा निस्किएका थिए । लकडाउन उल्लंघन गर्नेहरुलाई नियन्त्रणमा लिई प्रति सवारी साधन ५ सयका दरले राजश्व लिदै आईन्दा अर्काे पटक लकडाउनको समयमा नआउने शर्तमा छाडिदिएको एसपी रविकुमार पौड्यालले जानकारी दिनु भयो ।

लकडाउन उल्लंघन गर्नेहरुमा १ सय ७५ वटा मोटरसाईकल, केहि स्कुटर, बस, भ्यान, ट्रक, साईकल समेत छन् । दुई ब्यक्तिलाई सामान्य सोधपुक्ष पछि छाडिएको छ । सरकारले अत्यावश्यक बाहेक अन्य सवारी साधन तथा ब्यक्तिहरुलाई घर भित्रै बस्न आब्हान गर्दै हिडडुल गरी अटेर गरे कारवाही गर्ने चेतावनी समेत दिएको थियो । राजमार्ग तथा अन्य भित्री सडकहरुमा लकडाउन उल्लंघन गर्ने ब्यक्ति तथा सवारी साधन बढ्दै गए पछि प्रहरीले लकडाउनको दोश्रो कडाईका साथ कानुन कार्यान्वयन गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रविकुमार पौड्यालले बताउनु भयो । अत्यावश्यक क्षेत्रका सवारी साधन तथा पसलहरु निर्वाध संचालन भईरहेका छन् ।

जिल्ला प्रशासन कार्यालय काभ्रेले त्यस्ता सवारी साधनलाई पास उपलब्ध गराएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाका अनुसार लकडाउन कार्यान्वयन र सरकारको निर्णय पालना गर्न सर्वसाधारणलाई अनुरोध गरिएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्