ट्यांकी सफा गर्ने औषधिलाई कोरोनाको औषधि भनि सेवन गर्दा श्रीमानको मृत्यु, श्रीमती गम्भीर



एजेन्सी ।

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस संक्रमितका लागि सिफारिस गरेको औषधि सेवनबाट श्रीमानको ज्यानै गएको छ भने श्रीमती गम्भीर बिरामी परेकी छन् ।

 

ट्रम्पले कोरोना संक्रमित बिरामीका लागि सिफारिस गरेको क्लोरोक्वाइन नामक औषधि सेवन गर्दा अमेरिकाको एरिजोनाका दम्पती नै बिरामी परेका थिए । बिरामीमध्ये श्रीमानको उपचारका क्रममा ज्यान गएको र श्रीमतीको अवस्था गम्भीर रहेको बीबीसीले जनाएको छ ।

‘औषधि सेवनको छोटो समयमा नै दम्पती बिरामी परेका थिए,’ एरिजोनमा रहको सिस्टम ब्यानर अस्पतालले भनेको छ ।

क्लोरोक्वाइन सेवन गर्ने दम्पती ६० वर्ष माथिका रहेकाे अमेरिकी सञ्चारमाध्यमले जनाएका छन । क्लोरोक्वाइन माछा राख्ने ट्यांकी सफा गर्ने औषधि हो ।

तर, ट्रम्पले आफ्ना सार्वजनिक अभिव्यक्तिहरूमा पटकपटक क्लोरोक्वाइनलाई कोरोना भाइरस निको पार्ने औषधि भएको बताएका थिए ।

औषधिका कारण बिरामी परेकी महिलाले भनेकी छन्, ‘हामीले उनको (ट्रम्प) को पत्रकार सम्मेलन हेरेका थियौँ । ट्रम्पले बारम्बार यो औषधिले कोभिड–१९ को उपचार गर्ने बताइरहेका थिए । हामी संक्रमित हुने भयमा थियौँ । त्यसैले खायौँ ।’

कोई माछाका लागि ल्याएको क्लोरोक्वीन उनीहरुको घरमा बाँकी थियो र सोही बाँकी रहेको क्लोरोक्वीन उनीहरुले कोरोनाको संक्रमण नभए पनि त्यसको सम्भावित जोखिमबाट जोगिन क्लोरोक्वाइन सेवन गरेको उनको भनाइ छ ।

अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसनले मलेरिया, लुप्सलगायत रोगका लागि क्लोरोक्वाइन सिफारिस गरेको थियो । तर कोरोनाका बिरामीका लागि यसले काम गर्छ कि गर्दैन भनेर अहिलेसम्म ठोस अनुसन्धान नै भएको छैन ।

अनुसन्धान नै नभएको औषधिबारे गलत सन्देश प्रवाह गरेको भन्दै घटनापछि ट्रम्पको चर्को आलोचना भइरहेको छ ।

अमेरिकामा अहिलेसम्म कोरोना भाइरसका कारण कम्तिमा ५९२ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ४६ हजार पाँच सय भन्दा बढी पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्