कोभिड १९ः खाद्यान्न पसल खुला रहने



विमल विष्ट, डोटी ।

 

विश्वभरी त्रासको रुपमा फैलिदै गएको कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि सरकारले देशैभरी लकडाउन गरेसंगै डोटीमा पनि लडकडाउन गरिएको छ । लाकडाउनको समयमा स्थानीयलाइ खाद्यान्न लगायत दैनिक उपभोग्य बस्तुहरु सहज रुपमा आपुर्ति गर्नकालागि यहाँका किराना तथा खाद्यान्न पशल खुला गरिने भएको छ ।

 

यहाँका दैनिक उपभोग्य बस्तुका पशलहरु हरेक दिन बिहान र साँझको समयमा खुलाउने निर्णय भएको छ । जिल्ला प्रशसान कार्यालयमा विपद् व्यवस्थापन समितिको बसेको बैठकले अत्यावश्यक खाद्य पदार्थ लगायतका दैनिक उपभोग्य सामग्रीको सर्वसुलभ व्यवस्थापन गर्नका लागि हरेक दिन बिहान ६ बजेदेखि १० बजेसम्म र साँझ ४ बजेदेखि ७ बजेसम्म खाद्यान्न पशल खुल्ला रहने निर्णय भएको छ ।

 

कोरोना भाइरस (कोभिड १९) को सम्भावित जोखिमलाई कम गर्न लकडाउन गरिएको अवस्थामा खाद्यान्नको व्यवस्थापन गर्नका लागि पसल खोल्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनुभयो ।

 

उहाँले भन्नुभयो, “दैनिक उपभोग्य सरसामान खरिद बिक्रिका लागि पशलहरु खुला गर्ने निर्णय गरेका छौँ, अन्य पशलहरुको हकमा बन्द रहने छन् ।” बैठकले जिल्लामा रहेका सामुदायिक र संस्थागत विद्यालयमा आवश्यकता अनुसार वडा वडामा निगरानी कक्ष (क्वारेन्टाइन) को स्थापना गर्न सम्पूर्ण स्थानीय तहहरुलाई अनुरोध गर्ने निर्णय गरेको प्रजिअ पौडेलले जानकारी दिनुभयो ।

 

कोभिड–१९ सम्बन्धी सूचना प्रवाहलाई व्यवस्थित गर्नका लागि जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीलाई फोकल पर्सन तोकिएको छ । लकडाउन भएसंगै यहाँका पशलहरु पूर्ण रुपमा बन्द भएका छन् ।

प्रतिक्रिया दिनुहोस्