हामी आफै कोरोनाको स्वागतमा आतुर त छैनौं ?



नारायण खनाल, मालारानी-३, अर्घाखाँची । 

छिमेकी राष्ट्र चीनबाट शुरू भएको COVID-19 कोरोना भाइरसको संक्रमणले सारा विश्व डगमगाएको छ। चीन आफू साइजमा आएको बताइरहेको छ भने युरोप धरमराएको छ।अमेरिकी दाँतबाट पसिना निस्किएका छन्। छिमेकी देश भारत जसले हामीलाई तीनतिरबाट घेरेको छ,त्यहाँ पनि संक्रमण बढी रहेको छ।हामीले यसो भनिरहँदा नेपाल आफै संक्रमणमा छ। राज्यले स्वास्थ्य सतर्कता अपनाउन आव्हान गरिरहेको छ,देश नै लकडाउन भएको छ । तर हामी नागरिक सामान्यतः संक्रमणले धेरै बितण्डा नमच्चाउँदै सचेत रहनु पर्ने हो, त्यसो नभएको देख्दा लाग्छ।

 

नागरिक हामी आफै त कोरोना स्वागतमा आतुर त छैनौं ? प्रश्न उठिरहेको छ। हाम्रोजस्तो विकासोन्मुख देश जहाँ पर्याप्त चेकजाँच र स्वास्थ्य उपचारका सामाग्री नै छैनन् , त्यस्ता देशका नागरिक झन धेरै सचेत हुनुपर्नेमा ,हामीलाई त कोरोना मजाक लागिरहेको छ, सतर्कताको कुरै नगरौं , हाम्रो अनुशासनहीनता र अल्पज्ञान मौलाएको छ गाउँ गाउँमा ।

 

संक्रमित देशबाट घर फर्कनेहरु पनि मजाकमा ,हामी यहीँ बसेकाहरु पनि मजाकमा ।संसार संक्रमणले त्राहीत्राही बनिसकेको छ,हाम्रो देश पनि यसबाट कसरी अछुतो रहोस् ,संक्रमित नै छ तर यसरी देश लकडाउन भैसक्दा समेत हामी विषयको गाम्भिर्यता बुझिरहेका छैनौं । सुरक्षाका उपाय आफ्नो निम्ति अपनाउनु पर्ने हो । के हामी कसैका निम्ति बाँचिरहेका छौँ र ? यदि कसैलाई त्यस्तै लाग्छ भने पनि सहि, पहिले बाँचौँ र बचाअौँ , अरु त तपशीलका कुरा हुन।

 

राज्य नागरिकलाई संक्रमणबाट जोगाउन सक्दो प्रयास गरिरहेको छ,सुरक्षा सतर्कताका समाचारले सञ्चारमाध्यम रंगिएका छन्, घन्किएका छन् ,सामाजिक सञ्जाल रंगिएका छन् । तर हेर्नुस् त हाम्रो अनुशासन ,जहाँको तहिँ । हाम्रो नेपाली संस्कार न हो , वनचरी झैँ उड्ने, मनचरीले जे भन्छ , त्यही गर्ने , छाडिएका साँढे जस्तै । कृपया, हामीले आफ्नो बारेमा त सोचौं । संक्रमित देशबाट आएकाहरु सेल्फ क्वारेन्टाइनमा बसौं , आफैंले आफू रआफ्नो परिवारको निम्ति यति गर्न पनि सक्दैनौं भने देशले के आशा राख्छ हामीबाट ।

 

अहिले तपाईंहरु भेटघाटमा ब्यस्त ,खानपिनमा ब्यस्त ,मोजमस्तिमा ब्यस्त ,जो कहिल्यै आफन्त भेट्न हिँड्नु हुँदैनथ्यो अहिले भेट्दै घर घर किन ?कि राज्यको आदेश अपहेलना गरे वीर सम्झने हाम्रो बानीले यस्तो बनायो ।यसरी गाउँ चाहार्ने हाम्रो क्रियाकलापले यदि हामी संक्रमित भएका रहेछौं भने ? के हुन्छ ? कल्पना गर्नुस् त ।इटालीमा दुखीरहेको घाउ हाम्रो आफ्नो देशमा बल्झिए के हो ला ?हामी रहौँला र ? अनि हाम्रा आफ्नै क्रियाकलाप यस्ता ? यता स्थानीय निकायहरु बिस्तारामा जागेका त छन् तर हाइ काढिरहेका छन् ।

 

डाक्टरको इच्छा अनिच्छामा बदल्न उहाँहरूकै सुरक्षाका निम्ति अत्यावश्यक सुरक्षा सामग्री छैनन् , आफू नै सुरक्षित हुन नसके कसरी उपचार गर्ने ?समस्या छ।राज्य कमजोर छ,जतिसक्दो कोशिश गरिरहेको छ, हाम्रो साथ चाहिएको छ देशलाई ,हामीले अरु केही गर्नु पर्दैन मात्रै अनुशासन पालना गरे पुग्छ, सचेतना फैलाए पुग्छ ,धैर्यबान बनिदिए पुग्छ ।शब्दमा सगरमाथा बनाएर संसार घुमाउने चाहिएका छैनन्, ब्यबहारमा हातेमालो गर्ने चाहिएका छन् । राज्यलाई त्यसको निम्ति हामी तयार बन्नुपर्छ । अहिले गाउँ फर्किएका र हामी गाउँमा रहेका सबैको चर्तीकला हेर्दालाग्छ ,हामी अनुशासनहीन र अल्पज्ञानी छौँ ।

 

भगवान् पनि हाम्रा क्रियाकलाप देखेर दिक्क मान्दा हुन, हुस्सु बहादुर भनेर।साँच्चै संसार हल्लाइरहेको कोरोनाबाट सबै नेपाली दाजुभाइफाई बचाउन हामी सतर्क बन्नै पर्छ, अनुशासनमा रहनै पर्छ । हाम्रा आफ्नै क्रियाकलापले कोरोना स्वागतमाहामी आफै आतुर रहेको प्रमाण बन्नुहुन्न। हामी सुध्रिनु पर्छ, समाजलाई धैर्य रहन सम्झाउनु पर्छ, नेपाली नागरिकको परिचय नै यही हो, धर्म नै यही हो, आफू बाँच्ने र अरुलाई पनि बचाउने, यसलाई हामीले मर्न दिनुहुन्न। अहिलेका हाम्रा क्रियाकलापले त भनिरहेको छ कतै, हामी आफै कोरोनाको स्वागतमा आतुर त छैनौं ??

प्रतिक्रिया दिनुहोस्