गौतम बुद्ध रंगशाला निर्माणको काम स्थगित



हास्य कलाकार दम्पती सिताराम कट्टेल र कुञ्जना घिमिरेको धुर्मुस सुन्तली फाउन्डेसनले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम स्थगित गरेको छ। कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै तीव्र गतिमा भइरहेको काम सामान्य स्थिति नहुन्जेलसम्मका लागि स्थगित गरिएको हो।
फाउन्डेसनले एक विज्ञप्ति जारी गर्दै आइतबारदेखि सबै काम रोकेको हो।

गत माघ १६ गते भरतपुर महानगरपालिका र फाउन्डेसनबीच सम्झौता भई रंगशाला निर्माण घोषणा गरिएको थियो। विस्तृत गुरुयोजना तयार हुनुअगावै प्रारम्भिक चरणका काम (कम्पाउन्डिङ, साइट क्लिरयन्स, साइट अफिस, गोदाम घर, कर्मचारी आवास, कामदार आवास) बनाउने काम मंसिरअगाडि नै सम्पन्न भइसकेको तथा विस्तृत गुरुयोजना (डीपीआर) तयार भई गत मंसिर १ गतेदेखि रंगशालाको काम शुरू गरी ४ महिना ८ दिनमा सातवटा क्रिकेट पिच भएको खेल मैदानको ८५ प्रतिशत काम र प्याराफिट संरचनाको तयारीस्वरूप जग खन्ने ९० प्रतिशत काम सम्पन्न भइसकेको विज्ञप्तिमा उल्लेख छ।

फाउन्डेसनका अनुसार ६४ वटा पिल्लरका लागि फलामको रड बंग्याउने, बाँध्ने र पिलरको आकार बनाउने काम पूरा भएको छ। खेलमैदानको पिचमा प्रयोग हुने माटो तनहुँको जामुनेदेखि ढुवानी गरी प्रशोधनको काम पनि गरिसकिएको छ। यस्तै, प्याराफिटको पिल्लरको पीसीसी ढलानको काम करिब ७० प्रतिशत सकिएको छ भने २ मिटर चौडाइ र २ दशमलव ३७ मिटर उचाइ रहेको ड्रेन तयार भइसकेको छ। जसमा आकाशे पानी संकलन गरिनेछ र खेल मैदानको दुबोको सिँचाइका लागि प्रयोग गरिनेछ।

नमुना खेलमैदान तयार भई सुचारु अवस्थामा छ। त्यस्तै सात हजार वर्ग मिटर बरमुढा प्रजातिको दुबोको नर्सरी तयार पारिएको छ। उक्त दुबो रंगशालाको क्रिकेट खेलमैदानमा सारिनेछ। दश ट्रिपर, चार ट्याक्टर, एक ग्रेडर, एक बुल डोजर, पाँच ब्याक हो–लोडर जेसीबी, दुई एक्जाभेटर, एक रोलर दैनिक प्रयोग भइरहेका थिए। रंगशाला निर्माणका लागि २ सय ७० जना जनशक्ति कार्यस्थलमा खटिइरहेका थिए।

अहिले विश्व कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लडिरहँदा नेपाल सरकारले पनि जोखिमलाई मध्यनजर गर्दै उच्च सर्तकता अपनाउन विभिन्न स्वागत योग्य निर्णय गर्नुका साथै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरिएको तथा सामान्य जनजीवनदेखि राष्ट्रिय गौरवका आयोजना र परियोजनासमेत प्रभावित भइरहेको अवस्थाबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अछुतो रहन नसकेको फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेलले बताएका छन्।

‘कामलाई तीव्रताका साथ अघि बढाइरहेको अवस्थामा यसअघि कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै कामदारबाहेक अन्यलाई रंगशाला प्रवेशमा रोक लगाइएको थियो। कार्यस्थलभित्र प्रवेश गर्ने हरेकको ज्वरो नाप्नुका साथै ह्यान्ड स्यानिटाइजरको प्रयोग पनि गरिन्थ्यो। तर, कोरोना संक्रमणप्रति जसरी राज्य संवेदनशील बनेको छ।

त्यसै गरी हामीले निर्णय लिनु उपयुक्त ठान्यौं’, सितारामले भने– ‘रंगशाला निर्माणको काम अझै तीव्र गतिमा अगाडि बढाउने योजना बनाउँदै गर्दा सरकारले २५ जनाभन्दा बढी एक ठाउँमा जम्मा नहुन अपिल गरेको छ। रंगशालामा कामदार मात्रै साढे २ सयभन्दा बढी छन्। निर्माण सामग्री, ढुवानीलगायतका कुरामा पनि प्रभाव पर्ने देखिसकिएको छ। साथै मानिसको स्वास्थ्य नै सबैभन्दा ठूलो कुरा हो। त्यसैले सबैको स्वास्थ्य संवदेनशीलतालाई दृष्टिगत गर्दै रंगशाला निर्माणको काम केही समय स्थगित गर्ने निर्णयमा पुगेका छौं।’ कट्टेलले सावधानी अपनाउन सबैलाई आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्