विप्लवको आक्रामक कारबाही बन्द



काठमाडौं, (नेस)।

कोरोना भाइरसबाट देश मुक्त नभएसम्म मुलुकभर ‘आक्रामक कारबाही’ नगर्ने नीति नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले लिएको छ। पार्टीका महासचिव विप्लवले सोमबार विज्ञप्ति जारी गर्दै यस्तो नीति लिएको हो।

कोरोना भाइरस विश्वव्यापीरूपमा फैलिइरहेका बेला देश कोरोनामुक्त नहुँदासम्म सरकारी दमनको प्रतिरोध कारबाहीबाहेक अन्य आक्रामक कारबाही बन्द गरिएको जनाएको छ।

पार्टीका महासचिव विप्लवले विज्ञप्तिमार्फत संक्रमणविरुद्ध आमनागरिकलाई सचेत रहन आग्रह गर्दै सबै चिकित्सक तथा स्वास्थ्य कार्यकर्तालाई जनताको सेवामा लाग्न अपिल गर्नुभएको छ।

यस्तै, विप्लवले पार्टीका कार्यकर्तालाई र जनसेनालाई आफू सचेत बन्दै कोरोनाविरुद्ध जागरुक हुन निर्देशनसमेत दिनुभएको छ। मुलुकभर विध्वंसात्मक कार्य गर्दै आएकाले सरकारले यस पार्टीलाई एक वर्षअघि मात्रै प्रतिबन्ध लगाएको थियो भने सयौं नेता तथा कार्यकर्ता पक्राउसमेत परेका छन्।

प्रतिक्रिया दिनुहोस्