कोरोनाको प्रभावसँग निजी क्षेत्रले एकजुट भई जुध्ने



नेपाल समाचारपत्र, काठमाडौं।

नेपाल उद्योग परिसंघ र नेपाल बैंकर्स संघबीच कोरोना भाइरसको नेपालमा पर्नसक्ने प्रभाव र यसले उद्योग व्यवसाय र बैंकिङ क्षेत्रमा पर्न सक्ने प्रभावका सम्बन्धमा छलफल भएको छ।निजी क्षेत्रले सञ्चालन गरेका उद्योग व्यवसाय र बैंक एक अर्काको पूरकको रुपमा रहेको र निजी क्षेत्र र बैंकले आगामी दिनमा कोरोनाबाट पर्नसक्ने असरको सम्बन्धमा समान धारणा बनाउनुपर्ने निष्कर्ष रहेको छ।

वर्तमान अवस्थामा पर्यटन र हवाई क्षेत्रमा यसको प्रत्यक्ष प्रभाव देखिए पनि समग्र क्षेत्रमा यसको प्रभाव पर्ने र आपूर्ति व्यवस्था मिलाउनको लागि अत्यावश्यक वस्तुको उत्पादन तथा वितरण गर्ने कम्पनीलाई समेत सूचारु राख्नको लागि सरकारले आवश्यक व्यवस्थापन मिलाउनेतर्फ ध्यान दिन अनुरोध गरेको छ।

त्यस्तै ऋण पुनर्संरचना, अग्रिम कर र भ्याट बुझाउनको लागि समयावधि थप गरी उद्योग व्यवसाय बन्द भएको अवस्थामा मजदूरको ज्याला सम्बन्धमा सरकारबाट समेत सहयोगको अपेक्षा गरेको छ। सरकारले घोषणा गरेको लकडाउनको अवस्थामा निजी क्षेत्रबाट प्रवाह गरिने सेवा कसरी प्रभावकारी बनाउने भन्ने विषयमा समेत छलफल भएको थियो।

वर्तमान अवस्थामा बैंंकिङ क्षेत्रबाट निजी क्षेत्रले गरेका अपेक्षालाई पूरा गर्न सरकारको सहयोग आवश्यक रहेकाले निजी क्षेत्र र बैंकबीचको आपसी सहकार्यले विशेष अर्थ राख्ने धारणा रहेकोछ।

परिसंघले नेपालमा पूर्ण रुपमा लकडाउन भएमा अर्थतन्त्रका विभिन्न क्षेत्रहरु जस्तैः उद्योग व्यवसाय, बैंकिङ, पर्यटन, आपूर्ति व्यवस्थालगायत सामाजिक क्षेत्रमा के कस्ता असर हुन सक्ला ? साथै अन्य मुलुकहरुले अहिलेको समस्यासँग जुध्न अपनाएका नीतिका बारेमा अध्ययन गर्ने र उक्त अध्ययन प्रतिवेदन सरकारलाई अविलम्व पेश गर्ने निर्णय गरेको छ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्