जुनुको जुत्ता जर्मनीको फिल्म फेस्टिभलमा



पुरानो अन्तर्राष्ट्रिय चलचित्र महोत्सव इन्टरनेसनल सर्ट फिल्म फेस्टिभल ओवरहउसेनको ६६औं संस्करणमा नेपाली फिल्म जुनुको जुत्ता छनोटमा परेको छ।
केदार श्रेष्ठद्वारा निर्देशित सर्ट फिल्म जुनुको जुत्ता ओवरहउसेनको २०२० को संस्करणमा छनोट भएको हो। विश्वभरिबाट आवेदन गरेका ६ हजार ५ सयभन्दा बढी फिल्मबाट उत्कृष्ट एक सय फिल्म छनोट हुँदा एसियाबाट १९ फिल्म छनोटमा परेका छन्।

जसमा यसपटक नेपालको महोत्सवहरूमा पुरस्कृत भइसकेको फिल्म जुनुको जुत्ता छनोट भएको हो। सन् १९५४ देखि जर्मनीमा आयोजना हुँदै आएको इन्टरनेसनल सर्ट फिल्म फेस्टिभल ओवरहउसेनमा जर्मनी प्रतिस्पर्धाबाहेक अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा एक सय फिल्म छनोट गरिन्छ। जसमा जुनुको जुत्ता अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको चिल्ड्रेन्स एन्ड युथ फिल्म कम्पिटिसन विधाअन्तर्गत छनोट भएको सो फिल्मको निर्माण समूहले जानकारी गराएको हो।

फेस्टिभल ओवरहउसेनलाई सर्ट फिल्मको सबैभन्दा सम्मानित र विशिष्ट महोत्सवका रूपमा लिइन्छ। महोत्सवका लागि हरेक वर्ष करिब सात हजार फिल्मको आवेदन पर्ने गरेको छ। छनोट भएका सय फिल्म, जर्मनी प्रतिस्पर्धा, विशेष प्रदर्शन तथा अन्य विविध विधामा गरी करिब पाँच सय फिल्मको प्रदर्शन गरिन्छ। महोत्सवमा ११ सयभन्दा बढी अन्तर्राष्ट्रिय फिल्म मेकरको जमघट हुने गरेको छ।

त्यस्तै अर्को महोत्सव सिंगापुर इन्टरनेसनल चिल्ड्रेन्स फिल्म फेस्टिभल २०२० मा पनि यो फिल्म छनोट भएको छ। बिग आइज बिग माइन्डस् नामले चिनिने यस फेस्टिभलको दशौं संस्करणमा जुनुको जुत्ता लाइभ–एक्सन सर्ट फिल्म विधाअन्तर्गत छनोट भएको हो। बिग आइज बिग माइन्डस् ः सिंगापुर इन्टरनेसनल चिल्ड्रेन्स फिल्म फेस्टिभल बालबालिकाप्रति समर्पित सिंगापुरको पहिलो र एकमात्र चलचित्र महोत्सव हो। यो महोत्सवमा बालबालिकालाई शिक्षित तथा समृद्ध बनाउन र जीवनप्रति प्रेरित गर्न संसारभरका विविध र कल्पनाशील फिल्मको प्रदर्शन र प्रतिस्पर्धा गरिन्छ।

जुनुको जुत्ता जुत्ता चप्पल उल्टो लगाउने सानी नानीको कथा हो। आफ्ना वरिपरिका आमा, शिक्षकलगायत ठूलाठालुले भन्ने गरेका सुल्टो नलगाउँदा पाएको नमीठो गालीपछि उनले जुत्ता उल्टो नलगाउन गरेको उपायको खोजी फिल्ममा प्रस्तुत छ।

यो फिल्मले काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव २०१९ मा नेपाल पनोरमाअन्तर्गत बेस्ट फिक्सन अवार्ड जितेको थियो भने गत माघमा भएको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२० मा स्पेसल जुरी मेन्सन अवार्ड पाएको थियो। ह्यापी ह्युज प्रोडक्सन, थिएटर मल र थिएटर सेन्टर फर चिल्ड्रेन नेपालको संयुक्त निर्माण रहेको जुनुको जुत्ता यसु श्रेष्ठको कथाबाट प्रभावित भएर निर्देशक श्रेष्ठ स्वयंले लेखेका हुन्।

विभु पौडेलद्वारा निर्मित सरुन मानन्धरको सिनेमाटोग्राफी छ। विप्लपराज पोखरेल सम्पादित फिल्मको कार्यकारी निर्माता मधुसूदन रिमाल, सुशीला अधिकारी, सन्तोषी श्रेष्ठ र बद्री श्रेष्ठ हुन्। फिल्ममा सोलुखुम्बुकी ५ वर्षीय हिस्सी लामा, याङ्जी लामा शेर्पा, पासाङ ल्हामु लामालगायतको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्