सोमबार दिउँसोदेखि नै पर्वत जिल्ला ‘लक डाउन’



दुर्गाप्रसाद शर्मा, पर्वत । 

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण न्यूनिकरणका लागि पर्वत जिल्लालाई सोमबार दिउँसोदेखि ‘लक डाउन’ गरिएको छ ।

साविकको धौलागिरी अञ्चलका चार जिल्लाको प्रबेशद्वार समेत भएका कारण कोरोनाको संक्रमण भित्रन नदिन र फैलन नदिनका लागि सोमबार दिउँसो २ बजेदेखि ‘लक डाउन’ गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयमा सोमबार बिहान गरिएको सर्बपक्षीय बैठकमा जिल्लालाई सुरक्षित राख्नका लागि ‘लक डाउन’ गर्नु नै एक मात्र बिकल्प भएको निष्कर्ष निकालिएको थियो ।

पर्वत जिल्लामा लामो तथा छोटो दुरीका सवारीसाधनहरु पुर्ण रुपमा बन्द गरिएको छ । अन्तर जिल्ला यातयात सेवा समेत बन्द गरिएको प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले जानकारी दिनुभयो । पर्वत जिल्लामा पोखरा हुँदै मध्यपहाडी राजमार्गबाट प्रबेश गर्ने सवारी साधनलाई कास्कीको नयाँ पुलमा नै रोकिएको छ भने कार्किनेटा, पाखापानीको लुंखु, हुवास, सेतीबेणी, वारीबेनी र मालढुंगाबाट प्रबेश गर्ने सार्वजनिक र निजी सवारी साधनलाई प्रबेशमा रोक लगाइएको छ ।

मालबहाक ट्रकहरुलाई भने प्रबेशमा रोक लगाइएको छैन । यसरी भित्रने मालबहाक सवारीसाधनका चालक, सहयोगहीहरुलाई मध्यपहाडी लोकमार्गको डिमुवामा संचालित हेल्थ डेस्कमा स्वास्थ्य परिक्षणपछि मात्रै भित्रन दिइने छ । सवारी साधनको आवगमन बन्द गरिएका कारण जिल्लाका सात स्थानमा तत्काल हेल्थ डेस्क स्थापना नगर्ने निर्णय भएको छ ।

केही दिन देखि कुस्माबजार लगायतका जिल्लाका मुख्यबजारमा सर्बसाधरणको ठुलो भीड जम्मा हुने र दशैं तिहारमा जस्तो किनमेल तथा नगद झिक्नका लागि बैंक, बजारमा अत्याबश्यक सामाग्री किन्नेको भीड लाग्न थालेपछि नागरिकहरुलाई घरभित्रै बस्न र अनावश्यक बाहिर ननिस्किन आग्रह गरेको छ । सबै पालिकाहरुमा माइकिङ्ग गरेर घरमै बस्न र अत्याबश्यक काम बाहेक बाहिर सडकमा ननिस्कन आग्रह गरिएको छ । अटेरी गरेको अबस्थामा मंगलबार देखि प्रहरी परिचालन गरेर घरमै बस्न प्रोत्साहित गर्ने योजना समेत बनेको छ ।
जिल्लाका कुस्मा, वारीबेनी, हुवास, पातीचौर लगायतका सबै स्थानमा खाद्य सामाग्री, दैनिक उपभोग्यीय खाद्य बस्तुहरुका पसल बाहेक सवै बन्द गरिएको छ । दुध, तरकारी, फलुफुल औषधी पसल, पेट्रोलियम पदार्थहरु बाहेक सवै पसल बन्द भैसकेका छन ।

कुश्मा बजारमा भेन्टिलेटरको सुबिधासहित १५ बेडको आईसोलेशन वार्ड बनाउन शुरु गरिएको छ । वार्डका लागि भेन्टिलेटरको ब्यबस्थापन राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाकोे पहलमा भैसकेको पर्वत अस्पताल बिकास समितिका अध्यक्ष गोबिन्द पहाडीले बताउनुभयो । यस बाहेक ५० लाख रुपैया तत्काल स्थानिय तहहरुको सहयोगमा लिने र वार्डलाई ब्यबिस्थत गरिने भएको छ ।

संघीय सरकार र प्रदेश सरकारवाट बजेट माग गर्ने निर्णय समेत भएको छ । फलेबास नगरपालिकाले हरेक घरमा स्वयमसेवक खटाएर मास्क, साबुन र सेनिटाईजर बितरण गरी जनचेतना जगाउने काम गरिरहेको नगरप्रमुख पदमपाणी शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्