कोरोना त्रास : कारागारबाट भाग्न खोज्दा २३ को मृत्यु, ८३ घाइते



बोगोटा । कोलम्बियाको राजधानी बोगोटामा अवस्थित एक कारागार तोड्न खोज्दा भएको झडपमा परी कम्तीमा २३ व्यक्तिको मृत्यु भएको छ ।

यस झडपमा परी अन्य ८३ जना घाइते भएका र ती मध्ये ३२ जनालाई अस्पताल भर्ना गरिएको कानून मन्त्री मार्गारिता क्याबोलोले आइतबार बताउनु भएको छ ।

‘आज देशका लागि अत्यन्त कष्टकर दिन भएको र गत राती ला मोडलो कारागारबाट ठूलो अपराधिक समूह भाग्न खोज्दा २३ को मृत्यु भएको छ । ’ क्याबोलोले बताउनु भएको छ । जेलका सात गार्डसहित जेल संस्थानका अधिकारी पनि घाइते भएका छन् । तीमध्ये दुईजनाको अवस्था गम्भीर रहेको क्याबोलाले बताउनु भएको छ ।

शनिबार राती पनि कोलम्बियाका अन्य धेरै जेलहरूमा दङ्गा फैलिएको र कोरोना भाइरसको सङ्क्रमणको कारण जेलबाट छुट्नु पर्ने कैदीहरुको माग रहेको मन्त्रीले बताउनु भएको छ । त्यहाँबाट कोही पनि भाग्न नसकेका एउटा आपराधिक योजना असफल भएको मन्त्रीले जानकारी दिनु भएको छ ।

जेलमा कोरोना भाइरस सम्बन्धि कुनै समस्या नभएको र हालसम्म सङ्क्रमणको कुनै व्यक्ति नभेटिएका पनि मन्त्रीले बताउनु भएको छ । कैदी प्रशासक वा गार्ड कोहि पनि भाइरस सङ्क्रमणको कारण छुट्टिएर नबसेको उहाँले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्