नेपालमै केही गर्न सकिन्छ



हरेक मान्छेमा केही न केही कला लुकेको हुन्छ। सबैले त्यो बुझेका हुँदैनन्। कतिले त बुझेर पनि कलाको सही प्रस्तुति गर्ने अवसर पाएका हुँदैनन्। तर २०६४ सालमा स्नातक अध्ययन गर्दागर्दै विज्ञापन र कलाको क्षेत्रमा एकजना सुदीपको आगमन भयो। यस क्षेत्रमा पनि भविष्य बन्न सक्छ भन्ने अठोटका साथ लागिपरेका सुदीपले नेपालका प्रतिष्ठित विज्ञापन एजेन्सी तथा कर्पोरेट हाउसहरूमा ग्राफिक्स डिजाइनर एवं भिजुअल एडिटरको रूपमा काम गरिसकेका छन्। उनी विभिन्न ब्रान्ड तथा कम्पनीहरूका लागि श्रव्यदृश्य विज्ञापन निर्माणको काममा लागिरहेका छन्।
टिभीमा देखिने विज्ञापन होस् वा पत्रिकामा छापिने अथवा होर्डिङबोर्डहरू, आपूmले निर्माण गरेका सामग्री देखेर खुशी हुँदै यसले कलाको सम्मान र नयाँ सृजनाका लागि थप ऊर्जा मिल्ने सुदीप बताउँछन्। उनी भन्छन्– ‘समयअनुसार विज्ञापन पस्कने कलामा पनि परिवर्तन गर्न जरुरी छ। अहिले त हरेक व्यक्तिको पहुँचमा छ सामाजिक सञ्जाल, त्यसमा व्यावसायिक तवरले आफ्नो कला देखाउन सकिन्छ।’
डिजाइनिङ तथा भिजुअल एडिटरको रूपमा विभिन्न अवार्ड कार्यक्रमहरूमा उनका कैयौं सृजना मनोनयनमा पर्नुका साथै कति सृजनाले त उपाधि उचाल्न सफल भइसकेका छन्। उनको कलालाई नेपालका विभिन्न संस्थाले सम्मान पनि गरेका छन्। उनी भन्छन्– ‘नेपालमा अनुभवी एवं दक्ष डिजाइनर र एडिटरको अभाव छ, यदि अनुभवी र दक्ष भएर यो पेसामा कोही आउँछ भने भोकै मर्नुपर्दैन।’ भविष्यमा यस पेसालाई अझ व्यावसायिक बनाउँदै रोजगारी प्रदान गर्ने सुदीपको लक्ष्य छ। सुदीपले जस्तै नेपालमै केही गर्न सकिन्छ, विदेश नै जानुपर्छ पन्ने छैन।
– समानता कार्की, काठमाडौं।

 

प्रतिक्रिया दिनुहोस्