उहान बन्दै छ, न्युयोर्क कोरोनाका कारण सांसदहरूले सेयर बेचे



न्युयोर्क (एजेन्सी)

 

विश्वको सबैभन्दा हाइटेक शहरमध्येको एक अमेरिकाको न्युयोर्क शहरको स्थिति प्राणघातक कोरोना भाइरसका कारण अत्यन्तै बेहाल देखिएको छ। करिब ९० लाख आवादी रहेको न्युयोर्क शहर अमेरिकाको उहान बन्न गइरहेको छ। न्युयोर्कमा हालसम्म ८ हजार ३ सय ७७ मा कोरोना पोजिटिभ पाइएको छ। अमेरिकामा कोरोना कहरले करोडौंलाई घरमै रहन आदेश दिइसकेको छ।

 

न्युयोर्कमा हाल रातभरि साइरनको आवाज सुनिन्छ। पूरै अमेरिका कोरोना भाइरसविरुद्ध अदृश्य युद्ध लडिरहेको छ। योसंँगै कोरोना महामारीले अमेरिकाको रोगसँग लड्नेका लागि गरिएका तयारीको पोल पनि खोलिएको छ। अमेरिकी राष्ट्रपतिले शुरूमा यस संकटलाई अत्यन्तै कम आंकलन गर्ने प्रयास गरेको र देशको अन्य हिस्सामा यो रोग धेरै नफैलिएको बताएका थिए।

 

अमेरिकी गुप्तचर एजेन्सी र विशेषज्ञहरूले ट्रम्पलाई धेरै सम्झाएको तर उनी यो महामारी धेरै खतरा नभएकोमा अडिग रहे। जब अमेरिकी सांसदहरूलाई यस संक्रमणको खतराको विषयमा बताइयो, सबैभन्दा पहिला दुई सिनेटरले सेयर बजार क्र्यास हुनुअघि आ–आप्mनो सेयर बेचे।

 

 

भारत यात्रामा आउनु अघि ट्रम्पका सहयोगीहरूले उनलाई यो संकटसँग लड्ने योजना बनाउन सल्लाह दिएका थिए। हाल पूरै अमेरिकामा २६ हजार २९ जनामा यो संक्रमण देखिसकेको छ भने ३ सय ४० जनाको मृत्यु भइसकेको पनि छ।

 

अमेरिकामा होटल, स्टेडियम र पार्किङ इलाकालाई अस्पताल तथा क्लिनिकमा रूपान्तरण गरिएको छ। देशमा कोरोना बिरामीको बढ्दो भीडलाई हेरेर कैयौं हिस्सामा सेना र नेसनल गार्डलाई तैनाथ गरिएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले न्युयोर्कलाई ठूलो संकटमा परेको इलाकाका रूपमा घोषणा गरेका छन्। न्युयोर्कमा कोरोनाबाट संक्रमित बिरामीको संख्या मात्र २४ घन्टामा दोब्बर भएर ८ हजार ३ सय पुगेको हो।

 

यस गम्भीर संकटको सामना गर्न न्युयोर्क शहरले संघीय आपत् प्रबन्धन एजेन्सीसँग ४२ अर्ब डलरको कोष लिएको छ। हालसम्म न्युयोर्क शहरमा ४३ जनाको मृत्यु भइसकेको छ।

किमलाई ट्रम्पको पत्र

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जङ उनलाई निजीस्तरमा एक पत्र पठाई राम्रो सम्बन्ध बनाई राख्न अपील गर्दै विश्व महामारीको रूप लिएको कारोना भाइरस संक्रमणविरुद्धको लडाइँमा सहयोग गर्ने प्रस्ताव दिएका छन्।

 

किमकी बहिनीले आइतबार उक्त जानकारी दिएकी हुन्। उत्तर कोरियाले पछिल्लो सप्ताहन्तमा मात्रै सामरिक हतियारको परीक्षण गरेको केही समय नबित्दै ट्रम्पद्वारा उक्त पत्र पठाइएको हो। दुई देशबीचको सम्बन्ध बनाउने मार्गमा ठूलो कठिनाई तथा चुनौतीहरू आइरहेको समयमा ट्रम्पले उक्त पत्र पठाएको हो।

 

किमकी बहिनी तथा सत्तारूढ पार्टीकी वरिष्ठ अधिकारी किम यो जङले पत्र पठाएकोमा ट्रम्पको प्रशंसा गरेको कोरियाली सेन्ट्रल न्युज एजेन्सीले जनाएको छ।
पत्रमा ट्रम्पले दुई देशबीच सम्बन्ध विकास गर्ने आप्mनो योजना उल्लेख गरेको र कोरोना भाइरस विश्व महामारीविरुद्ध सहयोग गर्ने मनसाय व्यक्त गरेको उनले बताइन्। हालसम्म ह्वाइट हाउसले यस विषयमा कुनै टिप्पणी गरेको छैन।

 

कोरोनाको उद्गम इटाली हुन सक्ने

 

कोरोना भाइरसको उद्गमस्थल यकिन नभइरहेको समयमा इटाली नै त्यो स्थान हुन सक्ने आशंका गर्न थालिएको छ। गत वर्ष नोभेम्बर र डिसेम्बरमा नै इटालीमा न्युमोनियाका घटनाहरू देखिएको चिनियाँ अखबार ग्लोबल टाइम्सले दाबी गरेको छ।

 

विश्व महामारीको भयावह रूप लिइरहेको यस भाइरसको उद्गमस्थललाई लिएर चीन र अमेरिकाबीच आरोप प्रत्यारोप भइरहेको बेला ग्लोबल टाइम्सले उक्त कुरा अघि ल्याएको हो। चीनको उहान शहरमा नोबेल कोरोना भाइरसको पहिलो संक्रमण देखिएपछि अब चीन उक्त संकटबाट बाहिर आउन सफल भएको देखिन्छ। चीनको विदेश मन्त्रालयले लगातार कोरोना अमेरिकाबाट फैलिएको दाबी गरिरहेको छ।

 

चीनको यो दाबीपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई चाइनिज भाइरस सम्बोधन गरी चीनलाई चिढाइरहेको छ। ट्रम्पले चीनमाथि कारोना भाइरसको प्रारम्भिक सूचना लुकाएकोले त्यसको सजाय विश्वले भोग्नुपरिरहेको आरोपसमेत लगाएका छन्।

 

हाल इटालीमा कोरोनाबाट मर्नेको संख्या चीनको भन्दा बढी भइसकेको छ। अमेरिकामा पनि यस भाइरसको संक्रमणले मर्नेको संख्या ३ सय नाघिसकेको छ।
चीनले उहानमा भाइरसको संक्रमण पछि अमेरिकी सेनाको हात हुन सक्ने पनि बताएको थियो। विदेश मन्त्रालयका प्रवक्ता लिजियन झाउले कोरोना अमेरिकामा जन्मेकोर र उहानमा यो देखिनुको पछि अमेरिकी सेना हुन सक्ने बताएका थिए।

 

प्रवक्ताले अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोलका निर्देशक रोबर्ट रेडफिल्डले एक भिडियो ट्वीट गरेको उल्लेख गरे। त्यसमा एक प्रकारको रुघाका कारण केही अमेरिकी सैनिक मरेका र पछि मात्र उनीहरूको मृत्युको कारण कोरोना भाइरस संक्रमण हो भन्ने थाहा भएको उनले स्वीकारेको प्रवक्ताले बताए। रेडफिल्डले अमेरिकी संसद्को समितिसमक्ष बुधबार उक्त कुरा स्वीकारेका थिए।

 

लिजियन झाउले एक अर्को ट्वीटमा अमेरिकामा कति जना संक्रमित छन् र कुन अस्पतालमा भर्ना गरिएका छन्, सबैभन्दा पहिलाको संक्रमित भएको को हो ती सबै आंकडा सार्वजनिक गर्नुपर्ने बताए। सैनिक खेलका क्रममा अमेरिकी सेनाले नै उहानमा कोरोना भाइरस ल्याएको प्रवक्ताले आरोप लगाए।

 

इटालीमा यस महामारीबाट हालसम्म ५३ हजार ५ सय ७८ संक्रमित छन् र ४ हजार ८ सय २५ को मृत्यु भइसकेको छ। जुन चीनमा भएको मृत्यु आंकडाभन्दा धेरै हो। इटालीमा शनिबार मात्रै यस संक्रमणबाट ७ सय ९३ जनाको मृत्यु भयो जुन एक दिनमा भएको हालसम्मकै सबैभन्दा धरै हो।

 

प्रतिक्रिया दिनुहोस्