“पाहाँचःह्रे”मा पुजिने फोहोरमा लुकेका महादेव



प्रेममान डंगोल

हरेक वर्षको चैत्रकृष्ण चतुर्दशी तिथि अर्थात् पाहाँचःह्रेका दिनलाई पाहुनापासा बोलाएर भोज खुवाउने पर्वका रूपमा लिइन्छ। पाहाँको अर्थ पाहुना र चःह्रेको अर्थ चतुर्दशीको दिन भन्ने बुझिन्छ। नेवारी संस्कृति र संस्कारअनुसार नेवारहरूले आपूmले मात्र खाएर पुग्दैन, आफ्ना नाता कुटुम्ब, इष्टमित्र सबैलाई नअघाउन्जेल भोज खुवाउन सकेमा पुण्य प्राप्त हुन्छ, चेलीबेटी, आफन्त र पाहुनापासाहरू तृप्त भएमा वरत्र र परत्र सुध्रिन्छ भन्ने मानसिकतामा हुर्केका नेवारहरूले सकेसम्म अरूलाई खुवाउनमा नै जोड दिने गर्छन्।

 

यही पाहाँचःह्रेका दिन काठमाडौं उपत्यकाका विभिन्न टोलमा रहेका लुकुमहाद्यः (लुकेका महादेव) लाई पूजा गरिन्छ। फोहोरको डंगुरमा लुकी बसेका महादेवलाई पूजा गर्ने नेवारी परम्परा निकै महत्वपूर्ण मानिन्छ। यस दिन फोहोर सफा गरेर ढुंगा–इँटा निकालेपछि मुनि पुरिएर रहेका शिवलिंग देखेपछि सफासुग्घर गरेर पूजा गर्ने गरिन्छ। यो दिन पिशाच चतुर्दशी पनि पर्ने भएकोले पिशाचको रूपमा लुकेर बसेका महादेवलाई पूजा गरिँदै आएको हो पनि भनिन्छ।

 

यहाँ महादेवलाई पूजा गर्दा समयबजि (च्यूरा), लसुन, भटमास, माछा, मासु, छ्वयलाका साथै जाँडरक्सी पनि चढाउने गरिन्छ। साथै लुकुमहाद्यःलाई सुनको पूmल भनेर तोरीको पूmल अनि चाँदीको पूmल भनेर मूलाको पूmल चढाउने गरिन्छ। यसका साथै विशेष प्रकारको दियो बालेर माकःचा (गाजल थाप्ने माटाको भाँडो) मा गाजल थापिन्छ। यो गाजल लगाएमा वर्षभरि आँखा दुख्दैन भनिन्छ।

 

देवाधिदेव महादेव पनि यसप्रकार फोहोरको डंगुरमा किन लुकेर बस्नुपरेको होला भन्ने सन्दर्भमा एउटा किंवदन्ती रहेको छ। एकपटक महादेवले कुरैकुरामा शनिसँग सोधेछन्, ‘शनिको साढे साती दशा लागेपछि धेरै कष्ट–पीडा हुन्छ भनिन्छ, कस्तो पीडा हुन्छ होला ?’ तब शनिले हजुरलाई पनि लाग्छ अनि थाहा होला भनी जवाफ दिएछन्। छक्क पर्दै महादेवले मलाई पनि तिमीले छुन सक्छौ त ? भनी प्रश्न गरे। तब शनिले जवाफमा हजुरलाई पनि छुने समय आउनै लागेको छ, यो समयमा म आउने छु र हजुरलाई छुनेछु भनी जानकारी दिएर गएछन्।

 

यसरी शनिले महादेवलाई दिन, समय तोकेरै साढे साती शनि लाग्ने र छुन आउने जानकारी दिएर गएपछि भने महादेवलाई फसाद पर्यो। अब शनिले छुन आउने दिन गन्ती गर्दै महादेव पनि चिन्तित भएर बस्न थाले। शनिले छुन आउने दिनको अघिल्लो दिनमै महादेवले कैलाशबाट अन्तरध्यान भएर मत्र्यमण्डलको काठमाडौंमा सुरक्षित भई लुकेर बस्ते ठाउँ खोज्न थाले।

 

त्यति बेलाको काठमाडौंमा किसान ज्यापूहरूकै मात्र बस्ती थियो। घर पनि स–साना, धेरैजसो त काँचो इँटाले बनेका र परालको छानो भएका मात्र थिए। जताततै फोहोरै फोहोरको डंगुर देखेर महादेव पनि एउटा फोहोरको डंगुरभित्र लुक्न पुगेछन्। यसरी लुकेर बसेका महादेवले हरेक महिना त्यहाँका मानिसले बाटोमै भोजभतेर गरिरहेको देखी अचम्म मानेछन्।

 

आपूm पनि मानिसकै रूप लिएर भोज खानेहरूसँगैको पंक्तिमा बसी भोज खान थालेछन्। जाँड, रक्सी, छ्वयला, कचिला, राँगाको मासुको कवाफ आदि भोजमा जे–जे दियो सबै खाएर महादेव तृप्त हुन थालेछन्। एवं रीतले महादेवले नेवारी भोज खान थालेको वर्षौं बितेछ।

 

त्यस बेलाको समाजमा आफन्त र पाहुनाहरूलाई भोज खान बोलाउँदा घरमा नअट्ने भएकाले घरअगाडिकै सडकमा दोहोरो पंक्तिमा लामो सुकुल ओछ्याएर सबैलाई बसाई भोज खुवाउनुपथ्र्यो। स–साना घर, त्यसमा पनि कोठाचोटा, भर्याङमा समेत अन्नले भरिएका बोराहरू राखिएका हुन्थे। त्यसैले सडकमै भोज खुवाउने गरिन्थ्यो।

 

शनिले छुन आउला भनी लुकेर बसेका महादेव फोहोरको डंगुरबाट निस्कँदै स्थानीय मानिसकै रूप लिएर भोज खान पल्केको स्थानीय दुई युवाहरूले देखिरहेका थिए। तर जो–कोही होस् भनी वास्ता गरेका थिएनन्। नेवारहरूको भोजमा जो–कोही नचिनेका मानिसले पनि भोज खान आएमा केही नभन्ने चलन छ। यसरी महादेवले नेवारको भोज खाँदा–खाँदा सात वर्ष बितिसकेछ।

 

ती दुई युवाले जहिले पनि भोजमा आइरहेको देखेका महादेवलाई ‘यो खेंचाजस्तो छ, जहिले पनि हाम्रो भोज खान आइरहन्छ, यो कहाँको मान्छे होला ? अब त चियो गर्नुपर्यो’ भन्ने विचारले भोज खाइसकेपछि महादेवको पिछा गरेछन्।

 

मान्छेको रूप लिएका महादेवलाई पिछा गर्दै गरेका ती युवाहरू अचम्ममा परे। जब त्यो मान्छे फोहोरको डंगुरभित्र पस्यो, त्यहीँ हरायो। ती युवाले फोहोरको डंगुर हटाई भुइँमा खोस्रेर हेर्छन् त त्यहाँ शिवलिंग पो देखियो। यिनी त महादेव पो रहेछन् भनेर ती युवाहरूले भनेपछि सबैले उक्त महादेवको पूजा गरे। त्यो दिन पाहाँचःह्रे अर्थात् पिशाच चतुर्दशी परेको रहेछ। त्यही दिन महादेव त्यहाँ लुकेर बसेको साढे सात वर्ष पनि पूरा भएको रहेछ।

 

सोही दिन शनि आएर महादेवको दर्शन गरेछन्। महादेवले शनिलाई सोधेछन्, ‘खोई तिमीले मलाई छोएको ?’ शनिले जवाफ दिएछन्, ‘मैले त हजुरलाई उही दिनमा छोइसकेको थिएँ, जुन दिन हजुर यहाँ लुक्न आउनुभएको थियो।’ शनिको जवाफ सुनेर महादेव लज्जित भएर अन्तध्र्यान भई कैलाशमा गए। यता त्यस फोहोरको डंगुरभित्र महादेव शिवलिंगको रूपमा सिद्ध भई बसेकाले हरेक वर्ष पिशाच चतुर्दशीका दिन नेवारहरूले लुकुमहाद्यः अर्थात् लुकेर बसेका महादेवको पूजा गर्दै आइरहेका हुन्। काठमाडौंका विभिन्न टोल, दोबाटो, चौबाटोमा शिवलिंगलाई जमिनमुनि गाडेर स्थापना गरी राखेका थुप्रै लुकुमहाद्यःहरू छन्।

 

प्रतिक्रिया दिनुहोस्