कोरोनाबारे कलाकार



कोभिड–१९ का कारण सम्पूर्ण क्षेत्रमा असर परिरहेको अवस्थामा नेपाली फिल्म क्षेत्रमा पनि यसको असर देखिएको छ। कोरोनाका कारण फिल्म रिलिज स्थगित गरिएका छन् भने हलहरू पनि पूर्णतया बन्द भएका छन्। फ्लोरमा रहेका फिल्महरूको सुटिङ कार्य पनि स्थगित गरिएको छ।

 

यो समयमा कलाकारहरूले भने कोरोना भाइरसबारे सचेतना फैलाउनु आफ्नो दायित्व सम्झेर यसबाट बच्ने तरिकाबारे भिडियो बनाएर सामाजिक सञ्जालमार्फत सन्देश दिइरहेका छन्।

 

ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता हरिवंश आचार्यले एक भिडियो शेयर गरेका छन्, जहाँ उनी आफैले अभिनय गरेको सिरियल हेरेर मज्जा लिइरहेका देखिन्छन्।

 

भिडियोमा उनले भनेका छन्– ‘कोरोना कोरोना कोरोना कत्ति तर्सनु कोरोनाबाट? हामीले केही कुरा छोइसकेपछि २० सेकेन्डसम्म हात धुनुपर्छ, मास्क प्रयोग गर्नुपर्छ भनेर त संसारले नै आह्वान गरेको कुरा हो। सरकारले पनि आह्वान गरिरहेको छ। त्यसैले म त घरमा बसेर राम्रा राम्रा चलचित्र हेरिरहेको छु। आफ्नै चलचित्र पनि हेरिरहेको छु, किताबहरू पढिरहेको छु।

 

कोरोनासँग धेरै तर्सियौं भने पनि हाम्रो प्रतिरोध गर्ने क्षमता बिग्रेर जान्छ। सामाजिक सञ्जालमा सकारात्मक र नकारात्मक सन्देश आउने गर्छन्। नकारात्मक सन्देश हामी पढ्दै नपढौं। हामी दैनिक जीवनमा निकै व्यस्त भएकाले परिवारसँग बस्ने अवसरका रूपमा लिएर परिवारका साथ बसौं, सकारात्मक सोच राखौं। कोरोनालाई जित्न संसार नै लागिरहेको छ। कोरोनाको पक्कै पनि हार हुन्छ र मानव सभ्यताको जित हुनेछ। त्यस कारण समस्याको समाधान नहुन्जेलसम्म घरबाट बाहिर ननिस्कौं।’

 

कलाकारहरूमा सबैभन्दा अगाडि अभिनेता राजेश हमालले भिडियो सेयर गर्दै कोरोना भाइरसको संक्रमणविरुद्ध आफूले पछिल्लो ४/५ दिनदेखि दैनिकीमा परिवर्तन गरेको र भिडभाड हुने कार्यक्रम रद्द गरी घरमै बसिरहेको बताएका छन्।

 

यस घटनाले विश्वका साथै नेपालले पनि पाठ सिक्नुपर्ने हमालले भिडियोमा बताएका छन्। ‘सबैलाई थाहा छ विश्व अहिले असामान्य अवस्थाबाट गुज्रिरहेको छ र हाम्रो देश पनि यसबट अछुतो छैन, किनभने यस्तो किसिमको प्रकोप प्रत्यक्षरूपमा यति धेरै देशलाई पहिले परेको थिएन। मानव समाजको इतिहासमै पहिलोपटक यस्तो सामना गर्नुपरिरहेको छ।

 

पहिलो र दोस्रो विश्वयुद्धमा पनि यतिका राष्ट्रहरूलाई प्रत्यक्षरूपमा प्रभाव पारेको थिएन।’ हमालले भनेका छन्– ‘वर्षेनी कमन भाइरलबाट कयौं ज्यानको क्षति भए पनि ती भाइरलको औषधी उपचार थिए। तर डरलाग्दो कुरा के छ भने कोरोना भाइरसको त अहिलेसम्म कुनै पनि भ्याक्सिन आविष्कार भएको छैन। यसबाट विश्वले सिक्नुपर्ने पाठ भनेको वातावरण र स्वास्थ्य जोगाइराख्नुपर्छ।

 

यसको कुनै पनि सीमा हुँदैन। विश्व अहिले एक अर्कासँग यति नजिक भइसक्यो कि एकको प्रभाव छिट्टै अर्कोमा पर्छ। यसको ब्राइट पक्ष भनेकोचाहिँ यति बेला सबै देशको ध्यान एकातिर गइरहेको छ। विकसित राष्ट्रहरूले पनि आफू मात्र होइन, आफूभन्दा गरिब राष्ट्रहरूको स्वास्थ्यस्थिति माथि उठाउन ध्यान दिनुपर्छ।

 

यस कारण स्वास्थ्य र वातावरणको सवालमा विश्व एकजुट हुन र यसबाट पाठ सिक्न जरुरी छ।’ हमालले भनेका छन्– ‘यसका साथै हाम्रो राष्ट्रले पनि यसबाट पाठ सिक्न जरुरी छ कि हामी खालि समृद्धि समृद्धि मात्र भन्छौं तर समृद्धिका लागि स्वस्थ हुनुपर्छ। अब स्वास्थ्यको क्षेत्रमा लापरबाही हुनुभएन। स्वास्थ्यको प्रतिकूल प्रभाव जनसमुदायमा मात्र होइन, सम्पूर्ण देशमा पर्छ।’

 

नायिका तथा निर्मात्री करिश्मा मानन्धरले आफ्नो घरको बगैैंचाबाट कोरोना भाइरसबाट बच्नका लागि अपनाएका सतर्कताबारे एक भिडियोमा खुलाएकी छिन्। ‘म केही समययता घरभित्रै बसिरहेको छु। यसपालि मैले होली सेलिब्रेट गरिनँ, किनभने होलीमा मानिसको भिडभाड हुने र कोरोना सरुवा रोग भएकाले मानिसहरूलाई सर्ने सम्भावना हुन्थ्यो।

 

त्यही कारण नै होली कार्यक्रम क्यान्सिल गरें। त्यति बेला भर्खरै चाइनामा कोरोना भाइरस देखिएको अवस्था थियो।’ भिडियोमा करिश्माले यो बेलादेखि नै आफूलाई सतर्कता अपनाउनुपर्छ भन्ने लागेको बताएकी छिन्। ‘यात्रुहरूका कारण विभिन्न मुलुकमा यो रोग फैलिएका कारण मैले त्यही बेलामा सचेतना अपनाउनुपर्छ भन्ने सोचले होली क्यान्सिल गरेको थिएँ।

 

अहिलेसम्म यो विश्वका विभिन्न मुलुकमा फैलिसकेको छ। अहिले हामी यसबाट बच्ने उपाय भनेको नै सतर्कता अपनाउने हो’, उनी भन्छिन्– ‘रुघा खोकी लागेको व्यक्तिहरूबाट दूरी कायम गर्ने, सकेसम्म भिडभाडमा नजाने र घरभित्रै बस्नु राम्रो हुन्छ।

 

किनभने चाइनाको पनि उदाहारण हेर्न सक्छौं। त्यहाँ सबैलाई क्वारेन्टाइनमा राखिएको थियो भने सकेसम्म घरबाट ननिस्किने उपाय अपनाइएको थियो, जसले गर्दा अहिले संक्रमणमा कमी भएको छ।

 

यसबाट बच्ने अर्को उपाय भनेको सबै मिडियाबाट आएको समाचारको विश्वास नगर्नु हो। मानिसहरूले यसबारे भ्रम फैलाएको हुन सक्ने कारण भ्रमको पछि नलागौं। घरमै बसौं, सावधानी अपनाऔं। मेडिटेसन गरौं। सकारात्मक सोच राखौं, आफ्नो मानसिकतालाई स्थिर राख्न सकारात्मक सोच राखौं।’

 

अर्की अभिनेत्री केकी अधिकारीले पनि फेसबुकमा लाइभ आएर कोरोनाबाट सचेत रहन आग्रह गरेकी छिन्। उनले कोरोना संक्रमणमा नेपाल उच्च जोखिममा रहेको र यस बेला आफू पनि सतर्क भई नजिकका मानिसहरूलाई सचेत बनाउनु आवश्यक रहेको बताएकी छिन्। ‘यस्तो बेला सकभर परिवारसँग रहन आवश्यक छ। हामीले प्रत्यक्षरूपमा कोरोना भाइरसको संक्रमण र घटना देखेका छैनौं। तर तर पनि छिमेकी देशहरूमा प्रभाव रहेकाले सर्तकता अपनाउन जरुरी छ।

 

यदि आफूलाई खोकी लाग्नेजस्ता लक्षण भएमा अलग्गै बस्नुहोला। साथै कोरोनाको शंका लागेमा टेकु अस्पतालका डाक्टरहरूसँग यसबारे जानकारी लिन सकिन्छ।’ –केकीले भनेकी छिन्। केकीले सकेसम्म घरमै बस्न र बाहिर जानै परे मास्कको प्रयोग अनिवार्य गरेर सावधानी अपनाउन सुझाएकी छिन्।

 

ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता सन्तोष पन्तले सामाजिक सञ्जालमा भिडियो सन्देश सार्वजनिक गर्दै नेपालमा अहिलेसम्म कोरोनाको महामारी नफैलिए पनि सुरक्षित रहन गर्नुपर्ने विधिहरूबारे जानकारी दिएका छन्।

 

उनले भिडियोमा साबुन पानीले हात धुने, सेनेटाइजर प्रयोग गर्ने, अत्यावश्यक काम नभएसम्म घरबाहिर ननिस्कने, भीडभाडमा नजानेलगायतका सावधानी अपनाउन अपील गरेका छन्। उनले अन्य कलाकारलाई पनि कोरोनाबाट जोगिन गर्नुपर्ने विधिबारे जनमानसमा सन्देश पुर्याउन आग्रहसमेत गरेका छन्।

 

अर्का हास्यव्यंग्य अभिनेता दीपकराज गिरीले पनि भिडियो सन्देश सेयर गर्दै भयलाई जित्न आह्वान गरेका छन्। ‘यो महामारीबाट बच्नलाई ठूलो प्रयास गर्नुपर्छ। त्यसका लागि सरकारले ल्याएको नियमलाई फलो गरौं। मुख्य कुरा सकेसम्म बाहिर ननिस्कौं। यसलाई अवसरका रूपमा लिनुपर्छ’, गिरीले भनेका छन्– ‘हामी पारिवारिक दायित्व निर्वाह गर्न, कमाउन जीवनभर घरबाट बाहिर निस्कनुपर्छ।

 

त्यसका लागि हामी परिवारबाट टाढा भइरहेका थियौं। कतिपय ठाउँमा चाहिँ संग्रहका लागि पनि परिवारबाट टाढा पनि बस्नुपर्यो होला। प्रकृतिले दिएको संकेत पनि होला तिमी परिवारसँग पनि क्लोज होऊ भनेर।

 

त्यसकारणले यसलाई परिवारसँग बस्ने मौकाका रूपमा लिऔं। हामी सिनेमाको मान्छेहरूको घरमा बस्ने बानी एकदमै कम हुन्छ। घरमा बस्ने मौका यही हो।’ उनले अगाडि भनेका छन्– ‘कुन समाचार सही हो र कुन भ्र्रामक हो भन्ने हामीले बुझ्न एकदम जरुरी छ। हामी कुनै न्युज देख्यौं भने तथ्य नबुझी आफन्तलाई पठाउन थालिहाल्छौं।

 

कुनै न्युज कसैलाई पठाउनुअघि विश्वसनीयता कति छ भनेर हेर्नु जरुरी छ। न्युज कन्फर्म भएपछि मात्र अरूलाई फरवार्ड गरौं। अर्को हामी नेपालीहरू धेरै डक्टर भइदिन्छौं। त्यसो पनि नगरौं। विज्ञको मात्र कुरा सुनौं। आर्थिक अभाव पनि हुन सक्ला। तर ज्यान रहे फेरि कमाउँला। इम्युन पावरलाई पर्पेक्ट राखौं।’

 

प्रतिक्रिया दिनुहोस्