खैरावाङमा भुवनेश्वरी र त्रिवेणी धाममा धर्मशाला



नेपाल समाचारपत्र, सल्यान

सल्यानका दुई स्थानीय तहले पर्यटकीय स्थलमा आश्रम स्थल निर्माण गरेका छन्। शारदा नगरपालिकाले खैरावाङमा भुवनेश्वरी मन्दिरमा सुविधा सम्पन्न भवन र त्रिवेणी गाउँपालिकाले त्रिवेणी धाममा दुईकोठे भवन निर्माण गरेको छ। शारदा नगरपालिका ११ खैरावाङमा निर्माण गरेको सुविधा सम्पन्न धर्मशाला सञ्चालनमा आएको छ।

शारदा नगरपालिकाको आर्थिक २६ लाख रूपियाँ लगानीमा भुवनेश्वरी खैरावाङ भगवती मन्दिरपरिसरमा ५ कोठे धर्मशाला निर्माण गरिएको छ।
वर्षभरि नै पूजाका लागि खुल्ला रहने मन्दिरमा चैते दशंै र ठूलो दशै (विजयादशमी)को समयमा विशेष पूजाआराधना हुने गर्दछ।

 

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष छविकुमार शर्माले पूजा आराधनाका लागि जिल्लाबाहिर बाट आउने दर्शनार्थीलाई धर्मशालामा बस्ने व्यवस्था गरिने बताउनुभयो। उहाँका अनुसार धर्मशालानजिकै खानेपानीको पनि व्यवस्था गरिएको छ।

शारदा नगरपालिका–२ मा रहेको सीतापाईला, ४ मा रहेको हिमदर्शन पार्क, खैरावाङ मन्दिरमा आवश्यक पूर्वाधारको काम भइरहेको छ। शारदा नगरपालिका नगरप्रमुख सुरेश अधिकारीले मन्दिरमा दर्शन गर्न आएका भक्तजनहरूको सहजताका लागि धर्मशाला निमार्ण गरिएको बताउनुभयो।

उहाँका अनुसार नगरभित्रका पर्यटकीय क्षेत्रको सूचि तयार गरी पर्यटन विकासका लागि आवश्यक पूर्वाधारको काम भइरहेको छ।

त्रिवेणी गाउँपालिकाले सल्यानले धार्मिकस्थल त्रिवेणी धाममा जेष्ठनागरिकका लागि आश्रमगृह निर्माण गरेको छ। गाउँपालिकाभित्र रहेका जेष्ठनागरिकमध्ये कसैलाई पनि साहारा आवश्यक परेमा आश्रमगृहमा बस्न सक्ने गरी गाउँपालिकाले २० लाख रूपियाँ लगानीमा २ कोठे भवन निर्माण गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्