एन्फाले आप्ना होस्टल क्वारेन्टाइनका लागि दिने



नेपाल समाचारपत्र, काठमाडौं

अखिल नेपाल फुटबल संघ (एन्फा) ले विश्वभरि फैलिएको कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राखेर अस्थायी क्वारेन्टाइन र आइसोलेसनका लागि आफ्ना भवनहरू उपलब्ध गराउने निर्णय गरेको छ।

कोभिड १९ हालसम्म नेपालमा संक्रमित नदेखिएकाले उच्च सतर्कता रहनका लागि सरकारले आह्वान गरिरहेको छ।

यसै सन्दर्भमा एन्फाले सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको होस्टल क्वारेन्टाइन र आइसोलेसनका लागि दिने पनि जनाएको छ। यस्तै, एन्फाले उपत्यका बाहिर पनि यसको आफ्ना भवन प्रयोग गराउने जानकारी गराएको छ। जसमा बुटवल, धरानमा रहेको फुटबल एकेडेमीको होस्टल तथा रौतहटको निर्माणाधीन महिला फुटबल एकेडेमी रहेका छन्।

आइतबार प्रकाशित विज्ञप्तिमा एन्फाले सरकार, प्रदेश सरकार वा स्थानीय निकायले आवश्यकता परेको खण्डमा ती भवनहरू प्रयोगमा ल्याउन सकिने उल्लेख गरेको छ।

एन्फा प्रवक्ता किरण राईले सरकार र विश्व स्वास्थ्य संगठनले गरेको अपीलअनुसार आधारभूत नियम पालना गर्न पनि एन्फाले आग्रह गरेको छ।
कोरोना भाइरसले पार्न सक्ने सम्भावित असरलाई ध्यानमा राख्दै एन्फाले फुटबलका सबै गतिविधि स्थगित गरिसकेको छ।

रंगशालामा पनि क्वारेन्टाइन

सरकारले देशभर रहेका रंगशाला तथा खेलकुदसँग सम्बन्धित होस्टलमा पनि क्वारेन्टाइन बनाउने निर्णय गरेको छ।
राष्ट्रिय खेलकुद परिषद्ले काठमाडौं, ललितपुर, पोखरा, बुटवल र धरानमा रहेका रंगशालामा क्वारेन्टाइनमा राख्न सकिने क्षमता यकिन गरी जानकारी गराउनुपर्नेछ।

यी सबै निकायबाट कुल ५ हजार क्षमताको क्वारेन्टाइन उपत्यकाभित्र तयार पार्ने निर्णय भएको हो।
यसको तय भने सोमबारभित्र हुने भएको छ। सबै निकायलाई सोमबार बिहानसम्म कुन–कुन स्थान र होटललाई क्वारेन्टाइन बनाउन सकिन्छ भन्नेबारे सुझाव दिनुपर्नेछ।

पारसको आग्रह

सामाजिक संजालमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले कोविड १९ बारे सबैलाई यस्तो आग्रह गरेका छन्—मलाई यो थाहा छ कि हामी कसैका लागि पनि अहिले सहज समय छैन।

त्यसैले अहिलेको स्थितिमा मेरो र क्रिकेट टिमको तर्फबाट आग्रह गर्दछु कि सबैजना घर बसेर अत्यावश्यक काम बाहेक घरबाहिर नगएर नेपाल सरकार र सबै सम्बन्धित निकायहरुलाई सहयोग गरिदिन आग्रह गर्दछु। सबैले आफ्नो तर्फबाट जिम्मेबारी लिने हो भने आगामी दिनमा अहिलेको परिस्थित छ त्योबाट हामीलाई अघि बढ्न सहज हुनेछ।

 

प्रतिक्रिया दिनुहोस्