कम कर्मचारीबाट सेवा दिन राष्ट्र बैंकको निर्देशन



 नेपाल समाचारपत्र, काठमाडौं । 

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई न्यूनतम कर्मचारीबाट बैंकिङ सेवा दिन निर्देशन दिएको छ। कोरोना भाइरस नियन्त्रणका लागि राष्ट्र बैंकले बैंकमा पर्ने अत्यावश्यक बाहेक अन्य सेवा घरमा नै बसेर गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो।

राष्ट्र बैंकले सूचना जारी गर्दै बैंकिङ सेवा दिन कार्यालयमा आउने कर्मचारीलाई अनिवार्य रूपले सुरक्षाका उपाय अपनाउन, सेवाग्राहीलाई भीडभाड नगर्न र विद्युतीय माध्यमबाट कारोबार बढाउन अनुरोध गरेको छ।

विद्युतीय भुक्तानीको सीमा बढ्यो

नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानीको सीमा बढाएको छ। राष्ट्र बैंकले आइतबार निर्देशन जारी गर्दै भुक्तानीको सीमा बढाएको हो। राष्ट्र बैंकका अनुसार अब मोबाइल बैंकिङ क्युआर कोडमार्फत दैनिक १ लाखसम्म कारोबार गर्न सकिनेछ। मासिक सीमा १० लाख छ। इन्टरनेट बैंकिङ मर्चेन्ट पेमेन्टका लागि १० लाख छ जसमा महिनामा ३० लाखको सिमा तोकिएको छ। इन्टरनेट बैंकिङ एकाउन्ट ट्रान्सफरमा १० लाख दैनिक कारोबार गर्न मिल्छ भने मासिक सिमा ५० लाख छ।

वालेटमार्फत गरिने कारोबारमा एजेन्ट वा सब–एजेन्टबाट दैनिक २५ हजार र महिनाको १ लाख, बैंक खाताबाट वालेटमा एकपटकमा २५ हजार, दैनिक १ लाख र मासिक ५ लाखको सिमा राखिएको छ। वालेटबाट अन्य बैंक खातामा एकपटकमा २५ हजार, एक दिनमा १ लाख र महिनामा ५ लाख छ। एक वालेटबाट अर्को वालेटमा एउटा कारोबारमा २५ हजार, दैनिक १ लाख र मासिक ५ लाखको सीमा तोकिएको छ।
आरटीजीएस कारोबारमा शुल्क नलाग्ने

नगद कारोबारका सट्टा विद्युतीय कारोबार गर्न नेपाल राष्ट्र बैंकले आग्रह गरेको छ। राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कामू कार्यकारी निर्देशक सुभाषचन्द्र घिमिरेले आइतबार सूचना जारी गर्दै छिटो, छरितो र सुरक्षित हुनका लागि विद्युतीय कारोबार गर्न आग्रह गर्नुभएको हो। उहाँले बैंक तथा वित्तीय संस्था एवं भुक्तानी सेवा प्रदान गर्ने संस्थाहरूको समेत विद्युतीय भुक्तानीको कारोबारमा कुनै पनि शुल्क नलाग्ने भन्दै यसको उपयोग गर्न आग्रह गर्नुभयो।

सूचनाअनुसार आइतबारदेखि आरटीजीएस कारोबारमा समेत शुल्न नलाग्ने भएको छ। विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण न्यूनीकरण गर्ने उद्देश्यले आरटीजीएस सेवा निःशुल्क गर्ने निर्णय भएको घिमिरेले जानकारी दिनुभयो। आफ्नो बैंक खाताबाट ठूलो परिमाणमा पैसा निकाल्नुपर्दा चेक काट्नुपर्ने र बैंकसम्म पुग्नुपर्ने बाध्यता हटाउनका लागि राष्ट्र बैंकले रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटीजीएस) शुरू गरेको थियो।

यो सेवा लिनका लागि भने केही शुल्क लाग्ने गरेको थियो। आरटीजीएस एक प्रकारको आधुनिक भुक्तानी प्रणाली हो।’ चेक नकाटी ठूलो रकम स्थानान्तरण गर्न सकिने, कारोबार हुनासाथ अर्को खातामा पैसा जम्मा हुने लगायत विभिन्न सुविधा यसमा हुन्छन्। यो प्रणालीको माध्यमबाट घरबाटै पनि कारोबार गर्न सकिनेछ। अहिले इन्टरनेट बैंकिङबाट पनि घरमै बसेर कारोबार गर्न सकिन्छ भने अर्को खातामा पैसा ट्रान्फर गरिन्छ। यो सिस्टमले इन्टरनेट बैंकिङ भन्दा छिटो रकम जम्मा गर्ने गर्दछ। राष्ट्र बैंकले केही समय अघि २ लाख रुपियाँभन्दा माथिको कारोबारमा आरटीजीएस सुविधा दिन शुरू गरेको थियो।

 

 

प्रतिक्रिया दिनुहोस्