अन्ततः शेयर बजार बन्द



काठमाडौं, (नेस)

धितोपत्र बोर्डले सोमबारदेखि ५ कारोबार दिनसम्म शेयर कारोबार बन्द गरेको छ। बोर्डले सोमबारदेखि ५ दिनसम्म शेयर कारोबार बन्द गर्ने आइतबार निर्णय गरेको हो। बोर्डका अनुसार अब कारोबार आगामी आइतबारसम्म बन्द हुने छ। कारोबार हुने ५ दिनमा ११ गते सार्वजनिक बिदा परेको छ। जसका कारण आइतबारसम्म बिदा दिने निर्णय भएको हो।

शेयर बजार नियमित सुचारू गर्ने कि नगर्ने भन्ने विषयमा भइरहेको विवादका बीच आइतबार शेयर बजारमा कारोबार भएको छ। बजार खुल्नुअगाडि बजार नखुलाउन आग्रह गर्दै लगानीकर्ताले नेप्सेको व्यवस्थापनलाई ध्यानाकर्षण गराएको थियो। यद्यपी नेप्सेको सञ्चालक समितिले स्पष्ट निर्देशन नआएको भन्दै बजार खुलाएको थियो।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्र सिंह साउदले बजार बन्द गर्नका लागि स्पष्ट निर्देशन चाहिने नेपाल समाचारपत्रसँग बताउनुभयो। उहाँले संकटकालजस्ता समयबाहेक अन्य अवस्थामा बजार खुलिरहेको बताउँदै यस बारेमा स्पष्ट व्यवस्था भएको उल्लेख गर्नुभयो।

कोरोना भाइरस (कोभिड–१९)को उच्च जोखिमका कारण लगानीकर्तामा त्रास फैलिएको छ। जसका कारण लगानीकर्ताले शेयर बजार केही समयका लागि स्थगित गर्नुपर्ने माग राखेका हुन्।

बजार खुलाउने कि बन्द गर्ने भन्ने विषयमा आइतबार दिउँसो अर्थमन्त्रालयमा छलफल समेत भएको थियो। सो छलफलमा अर्थमन्त्रालयले विवाद समाधान गरी निश्कर्षमा पुग्न आग्रह गरेको ढुंगानाले जानकारी दिनुभयो। दिउँसो भएको छलफलपछि साँझ नेप्सेको सञ्चालक समितिको बैठक बसेको थियो। सो बैठकले धितोपत्र बोर्डलाई बजार बन्द गर्नका लागि राय दिएको छ।

सञ्चालक समितिको बैठकले लगानीकर्ताखको माग तथा स्वास्थ्यमा ध्यान दिई बजार केही दिनका लागि बन्द गर्न उपयुक्त हुने रायसहितको पत्र बोर्डलाई पठाउने निर्णय गरेको सीईओ ढुंगानाले जानकारी दिनुभयो। उहाँका अनुसार नेप्सेले बोर्डलाई सो पत्र पठाएको थियो। पत्र प्राप्त भएपछि आइतबार नै बोर्डले बजार बन्द गर्ने निर्णय गरेको हो।

विवादकै बीच शेयर बजार सञ्चालन हुँदा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ। यसदिन परिसूचक १८ दशमलव २० अंक ले घटेर १२५१ दशमलव ४५ विन्दुमा पुगेको छ। यस्तै सेन्सेटिभ परिसूचक २ दशमलव ७६ अंकले घटेर २७१ दशमलव शून्य ६ विन्दुमा पुगेको छ।

कूल १ सय २३ कम्पनीका ४ लाख ८० हजार ५ सय २७ कित्ता शेयर १९ करोड ४६ लाख ४२ हजार ९ सय ८४ रुपियाँमा कारोबार भएका छन्। कारोबार भएका कूल ११ उपसमूहमध्ये तीन समूहको शेयर उकालो लागेको छ। यस्तै अन्य उपसमूहको शेयर ओरालो लागेको छ। होटल, निर्जीवन बीमा र अन्य उपसमूहको शेयर बढेको छ भने अन्यको घटेको छ

कारोबारका आधारमा आइतबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा छ। सो कम्पनीको दुई करोड ८१ लाख ७० हजार रुपिया बराबरको कारोबार भएको छ। यसदिन सबैभन्दा धेरै कमाउनेमा जनउत्थान सामुदायिक लघुवित्तका शेयरधनी छन्। उनीहरूले ९ दशमलव ६९ प्रतिशतले कमाएका छन्। यस्तै, गुह्यश्वरी मर्चेन्टका लगानीकर्ताले सबैभन्दा धेरै ९ दशमलव ३७ प्रतिशत गुमाएका छन्।

 

 

प्रतिक्रिया दिनुहोस्