बैंकमा भीड, एउटै शाखामा ८ सय ग्राहक



दुर्गाप्रसाद शर्मा, पर्वत

देशभर कोरोनाको त्रास फैलिएको बेला सरकारले २५ जनाभन्दा बढी जम्मा भएर नबस्न आग्रह गरेको छ। सभा सम्मेलन स्थगित भइसकेका छन्। तर, आइतबार भने पर्वतको कुश्माबजारमा बैंक र बजारमा भीड लाग्दा दशैंको जस्तो चहलपहल देखिएको छ।

कुश्माबजारमा बैंकमा रकम निकाल्नका लागि सर्वसाधरणको भीड लागेको हो। बैकमा बृद्धबृद्धाहरु सामाजिक सुरक्षाभत्ता लिन र पेन्सनरका कारण बैंकमा दशैंको झल्को लाग्ने गरी भीड बढेको छ।

नेपाल बैंकको कुश्मा शाखामा आइतबार एकैदिन ८ सय जना ग्राहकले सेवा लिएको शाखा प्रबन्धक नवराज दवाडीले जानकारी दिनुभयो। ‘सामाजिक सुरक्षा भत्ता, पेन्सन तथा बचतमा रहेको रकम निकाल्नका लागि नसोचेको भीड जम्मा भयो’ उहाँले भन्नुभया–‘यस्तो भीड दशैंमा मात्रै लाग्दै आएको थियो।’

कुश्मा नगरपालिका र फलेबास नगरपालिकाले बृद्धबृद्धाको सामाजिक सुरक्षा भत्ता बैंकबाट बितरण गर्दा लाभग्राहीको खातामा राखेका कारण सबैभन्दा ठूलो भीड लागेको छ। कोरोनाबाट सबैभन्दा बढी प्रभावित हुने बृद्धबृद्धा नै सयौंको संख्यामा बैंकमा जम्मा भएका छन।

बृद्धबृद्धा सामाजिक सुरक्षाभत्ता निकाल्ने र बजारबाट दैनिक उपभोग्य सामान खरिद गर्नका लागि बजार झरेका छन्। बैंकको एउटै शाखामा चार–पाँच सय बृद्धबृद्धा जम्मा हुँदा संक्रमणको जोखिम उच्च भएको भन्दै स्थानीय प्रशासनले चासो देखाएको छ।

 

प्रतिक्रिया दिनुहोस्