पैंचो पसल: आफ्नो उत्पादन ल्याउनुस्, चाहिएको लानुस्



पर्वत, (नेस)

तपाईंले बारीमा लगाएको तरकारी छ वा फलपूल डोकोमा बोकेर ल्याउनुस् त्यसको सट्टामा बजारमा उत्पादित सामग्री बोकेर घर फर्कनुस्।
संसारभर वस्तु बिनिमयका लागि मुद्राको प्रयोग भइरहेको बेला पर्वतको बिहादी गाउँपालिकमा भने परम्परागत रूपमा गाउँघरमा प्रचलनमा रहेको सामानको बदलामा सामान दिने (पैँचो) पसल शुरु भएको छ।

गाउँघरमा एउटाकोमा खाँचो पर्दा छिमेकीको घरबाट सापटी ल्याएर गर्जो टार्ने पुरानो चलन अहिले हराउँदै गएको अवस्थामा अन्नपात वा यस्तै सामानको बदलामा सामान नै फिर्ता दिने पुरानो चलनलाई आधुनिक र व्यावसायिक बनाउनकै लागि दक्षिण पर्वतको बिहादी गाउँपालिकास्थित एक गाउँमा पैँचो पसल शुरू गरिएको हो।

स्थानीय ३० किसानको संयुक्त प्रयासमा पैँचो पसल सञ्चालनमा ल्याइएको हो। अगुवा किसान रामप्रसाद पराजुलीको अध्यक्षतामा गठित स्वयंसेवी कृषक समूहले पसल सञ्चालनमा ल्याएको छ।

पसलमा स्थानीयस्तरमा उत्पादन हुने कृषिउपज किसानसँग लिएर बजारबाट आउने सामान फिर्ता दिइन्छ। त्यसबाहेक किसानले आफूले उत्पादन गरेकोबाहेक अरू खाद्यान्न तथा तरकारी आवश्यक परेमा छिमेकीले उत्पादन गरेको सामानसँग साटेर लिनसक्ने व्यवस्था छ।

बिहादी–२ बर्राचौरस्थित पसलमा अहिले गाउँमा उत्पादित अदुवा, काउली, साग, बन्दा, आलु, धान, मकै, कोदोलगायतका तरकारी तथा खाद्यान्नको कारोबार शुरू गरिएको अध्यक्ष रामप्रसाद पराजुलीले जानकारी दिनुभयो।

‘पैंचो लेनदेन पुरानो संस्कारलाई हाम्रो परिवर्तित समाजसँग जोड्न मात्रै खोजेका हौँ,’ उहाँले भन्नुभयो– ‘यसको प्रभावकारिता हेरेर थप बिस्तारको योजना बनाएका छौं’।

 

प्रतिक्रिया दिनुहोस्