भारतसँग जोडिएका नाका बन्द गर्न प्रदेश १ सरकारको प्रस्ताव



सरोज यादव, विराटनगर ।

प्रदेश एक सरकारले छिमेकी मुलुक भारतसँग जोडिएका सबै नाका तत्काल बन्द गर्न केन्द्र सरकारसँग आग्रह गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा शुक्रबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण समितिको बैठकले भारतसँग जोडिएको नाका बन्द गर्न केन्द्र सरकारसँग आग्रह गर्ने निर्णय गरेको हो । बैठकमा सहभागी सामाजिक विकासमन्त्री जीवन घिमिरेले कोरोनाभाइरसको जोखिमलाई ध्यानमा राख्दै मानिसहरूको आवतजावत रोक्न नाका बन्द गर्न जरूरी रहेको बताए ।यसैबीच प्रदेश १ मा काँकडभिट्टा, पशुपतिनगर, भद्रपुर र विराटनगरसँग जोडिएको नाका सञ्चालनमा छन् ।

प्रदेश १ का प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीसहितको टोलीले विराटनगर रानी–जोगबनीमा रहेको हेल्थ डेस्क र नाकाको अनुगमन समेत गरेको छ । सो क्रममा मन्त्री कार्कीले प्रदेश १ संग जोडिएका सवै साना सिमा नाकालाई बन्द गरिने र जोगबनी र काकरभिटट नाकालाई व्यवस्थित ढंगबाट सञ्चालन गरिने गरी संघीय सरकारसंग आग्रह गर्ने बताएका छन् । उनले आज भोलिनै छलफल गरेर कार्यान्वयन गर्ने पनि बताउनुभयो ।

यसैगरी सामाजिक विकास मन्त्री जीवन घिमिरेले विराटनगरमा एक साताभित्र ५० शैयाको आपतकालीन अस्पताल पनि बनाउने निर्णय गरेको जानकारी दिनुभयो । विराटनगरस्थित नेशनल ट्रेडिङको भवनमा कोशी अस्पतालको संयोजनमा १० वटा भेन्टिलेटरसहितको अस्पताल स्थापना गरिने मन्त्री घिमिरेले बताउनुभयो । उहाँले प्रदेशभरिका अस्पतालबाट रिफर भएर आएका केशहरुको मात्रै आपतकालिन अस्पतालमा उपचार हुने समेत बताउनुभयो ।

कोरोना जोखिमलाई लिएर प्रदेश सभा बैठक पनि अनिश्चितकालको लागि स्थगित भएको छ । शुक्रबार सभामुख प्रदिप कुमार भण्डारीले अर्को सूचना जारी नभएसम्मको लागि बैठक स्थगित भएको जानकारी गराएका थिए ।

यी हुन प्रदेश सरकारका १२ निर्णयः

१. माननीय उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलज्यूको संयोजकत्वमा गठित कोभिड– १९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मिति २०७६ चैत ५ को निर्णय कार्यान्वयन गर्ने ।

२.प्रदेश अन्तर्गतका प्रमुख नाकाहरू नेपाल सरकारसँग समन्वय गरी बन्द वा व्यवस्थित गर्ने सम्बन्धमा तत्काल पहल गर्ने साथै साना नाकाहरूमा आवतजावतमा कडाइ गर्ने र तत्काल साना नाकाहरू बन्द गर्न नेपाल सरकारलाई अनुरोध गर्ने ।

३. प्रदेशस्थित सबै सरकारी तथा गैरसरकारी सार्वजनिक सेवा प्रवाह गर्ने निकायहरूमा पानी र साबुनको व्यवस्था गर्न मातहतका सबै मन्त्रालयहरूमा निर्देशन दिने । उपरोक्त व्यवस्था डिपार्टमेन्टल स्टोर्स तथा निजी अस्पतालहरूमा समेत गर्न निर्देशन दिने ।

४. बढी मानिसहरूको जमघट हुने मेला, हाटबजार तथा वनभोज जस्ता क्षेत्रमा यस पूर्व गरिएको निषेधलाई निरन्तरता दिने ।

५. प्रदेश अन्तर्गतका यातायात व्यवस्था कार्यालयहरू तथा यातायात सेवा कार्यालयहरूबाट सम्पादन हुने सेवाहरू (दर्ता, नवीकरण, सवारीचालक अनुमतीपत्र) चैत्र मसान्तसम्मका लागि बन्द गर्ने । सो अवधिभर गराउनुपर्ने त्यस प्रकृतिका कार्यहरूमा लाग्ने थप जरिवाना साबिक बमोजिमनै लिने।

६. बढी जनसम्पर्क हुने कार्यालयहरूमा भिडभाड गर्न नदिने र उच्च सतर्कता अपनाउन निर्देशन दिने ।

७. भन्सार बिन्दुबाट नेपालको नजिकैको सहरमा सुविधामा आउने भारतीय सवारी साधनहरू नियन्त्रण गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मार्फत अर्थ मन्त्रालयमा अनुरोध गर्न सिफारिस गर्ने ।

८. प्रदेश स्तरमै मेडिकल प्रयोगशाला स्थापना गर्न गृहकार्य सुरु गर्ने ।

९. न्यूनतम दश बेडको भेन्टिलेटर सहित छन् शैयाको अस्पताल पूर्व नेशनल ट्रेडिङ लिमिटेडको भवनमा सामाजिक विकास मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयले समन्वय गरी एक हप्ता भित्र स्थापना गर्ने । यसका लागि जनशक्तिको व्यवस्थापन सामाजिक विकास मन्त्रालयले गर्ने । आवश्यक सहयोग नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी बलबाट लिने।

१०. कोभिड– १९ परीक्षणको लागि कोसी अस्पताल र वि पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको मेडिकल प्रयोगशालालाई आवश्यक स्तरोन्नति गरी प्रयोग गर्न सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिने ।

११. अस्पतालको सुरक्षा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समन्वयमा सुरक्षा निकायले गर्ने ।

१२. समग्र अनुगमन दैनिक गर्न मुख्यमन्त्री संयोजक रहनेगरि २५ सदस्यीय अनुगमन समिति गठन गर्ने ।

प्रतिक्रिया दिनुहोस्