म्याग्दीमा जीप दुर्घटना: ९ जना घाइते, गम्भीर घाइते २ जनालाई हेलिकप्टरमार्फत पोखरा पठाइयो



न्युज अफ नेपाल, म्याग्दी ।

म्याग्दीको रघुगंगा गाउँपालिका–४, दग्नाममा आज बिहान बोलेरो जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । दग्नामबाट बेनीतर्फ आउँदै गरेको ग२च ५९८८ नम्बरको बोलेरो जीप अचानक दुर्घटना हुँदा जीपमा सवार ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

 

जीप दुर्घटनामा परी गम्भीर घाइते भएका दग्नामका ४१ वर्षीया भदेवी गर्बुजा र ९ वर्षीया मिन्जा पुनलाई एअर डाइनेष्टिकको हेलिकप्टरमार्फत पोखरा पठाइएको म्याग्दीका प्रहरी नायव उपरीक्षक किरणजंग कुँबरले जानकारी दिनुभयो । बेनी अस्पतालमा प्राथमिक उपचार गरी गम्भीर घाइते उनीहरुलाई थप उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा पठाइएको उहाँले बताउनुभयो ।

 

यसैगरी दुर्घटनामा परेर घाइते हुनेहरुमा दग्नामका ३० वर्षीय हमाया पुन, ७ वर्षीय बालक युबी गर्बुजा, ५० वर्षीय मनबहादुर तिलिजा, ३ वर्षीया वर्षा शेरपुन्जा, १२ वर्षीया तामिना शेरपुन्जा र ५ वषीय असिम गर्बुजा रहेका छन् ।

 

घाइते सबैको अहिले बेनी अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । घाइतेहरुको टाउको, हात, आँखा र शरिरका विभिन्न भागमा चोटपटक लागेको स्वास्थ्यकर्मीले बताएका छन् ।

 

दुर्घटनामा परेको उक्त बोलेरो जीप ससडकबाट अन्दाजी १०÷१२ मिटर तल खसेको बताइएको छ भने जीपका चालक पूर्णबहादुर शेरपुन्जा प्रहरी नियन्त्रणमा रहेको प्रहरीले बताएको छ । दुर्घटनाका बारेमा भने अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्