‘कुकुरले मासु खाइदिएको’ निहुँमा कुटपिट, आत्महत्या गर्न बाध्य पारेको अभियोगमा तीन पक्राउ



काठमाडौं ।

 

भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१ मनोहरा बस्तीमा बस्ने एक महिलालाई कुटपिट गरी आत्महत्या गर्न बाध्य पारेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

 

महानगरीय प्रहरी वृत्त थिमिको टोलीले धादिङ खानीखोला गाउँपालिका–१० घर भई हाल मध्यपुरथिमि–१ लोकन्थली बस्ने ३६ वर्षीया अप्सरा बाँस्कोटा, ताप्लेजुङ तेलोक गाउँपालिका–२ घर भई हाल लोकन्थली बस्ने ३४ वर्षीया सुनिता सुब्बा र ताप्लेजुङ तेलोक गाउँपालिका–२ घर भई लोकन्थली बस्ने १८ वर्षीया एनिहा सुब्बालाई पक्राउ गरेको जनाएको छ ।

 

खोटाङ दिक्तेल नपा–३ पिनालाखा घर भई हाल मनोहरामा १८ वर्षीय छोरा अनिश राईसँगै बस्दै आएकी ३५ वर्षीया विमला राईलाई ओरोपी तीन छिमेकीले ‘कुकुरले मासु खाइदिएको’ निहुँमा कुटपिट गरेको र शारीरिक तथा मानसिक यातना दिएपछि उनले आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेको प्रारम्भिक अनुसान्धानमा खुलेको प्रहरीको भनाइ छ ।

 

अनुसन्धानकै क्रममा मृतकको छोरा अनिश राईले ‘मेरो आमालाई कुटपिट गरी शारीरिक तथा मानसिक याताना दिई आत्महत्या गर्न बाध्य गराएको’ भन्दै तीनजनाको नाममा किटानी जाहेरी दिएपछि उनीहरुलाई पक्राउ गरिएको बताइएको छ ।

 

मृतक राईको शवलाई परीक्षणको लागि त्रिवि शिक्षण अस्पताल, फोरेन्सिक मेडिसिन विभाग महाराजगञ्ज पठाइएको र पक्राउ परेकाहरुलाई आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्