सरकारलाई चुनौती: दोलखामा कक्षा नौसम्मको परीक्षा यथावत



चिरञ्जीवी मास्के, दोलखा

 

सरकारलृ त्रिभुवन विश्वविद्यालयका सम्पूर्ण परीक्षा स्थगित गरी चैत मसान्तसम्म विद्यालय तथा क्याम्पसहरु बन्द गर्ने निर्णय गरे पनि दोलखाका अधिकांश गाँउपालिकाहरुले विहिवारको कक्षा नौसम्मको परिक्षा सञ्चालन गरेका छन् । कोरोना भाइरसको सम्भावित संक्रमणबाट जोगिन सरकारले विहिवारबाट सञ्चालन हुने एसईई परीक्षासमेत रोकेको छ ।

दोलखाका चार वटा स्थानिय तहले जिल्लास्तरीय शिक्षा समितिको निर्देशनसमेत अवज्ञा गर्दै शुक्रवार पनि परिक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । सरकारले केहि दिन अघिनै कक्षा नौ सम्मको सम्पूर्ण परिक्षा चैत्र पाँच गतेसम्म सक्न निर्देशन दिएको थियो । विहिवार जिल्लास्तरीय शिक्षा समितिको बैठकले शुक्रवारबाट बाँकी परिक्षा स्थगीत गरी विद्यालय बन्द गर्न निर्देशन दिएको थियो ।

 

सरकारको निर्देशनअनुसार दोलखाको जिरी नगरपालिकाले चैत पाँच गते बुधवार नै कक्षा नौसम्मको परिक्षा सकेर चैत ६ गते विहिवारबाट विद्यालयहरु बन्द गरेको छ भने गौरीशङ्कर गाँउपालिकाले विहिवारदेखि नै बाँकी परिक्षाहरु स्थगीत गरेर विद्यालय बन्द गरेको छ ।

 

जिल्लास्तरीय शिक्षा समितिको निर्देशनअनुसार भीमेश्वर नगरपालिका, मेलुङ गाँउपालिका र शैलुङ गाँउपालिकाले शुक्रवारको परिक्षा स्थगीत गरी विद्यालय बन्द गर्ने निर्णय गरेको छ । तर तामाकोसी, विगु, बैतेश्वर र कालिञ्चोक गाँउपालिकाले भने सरकार तथा जिल्लास्तरीय शिक्षा समितिको निर्देशनसमेत अवज्ञा गर्दै शुक्रवार परिक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । बैतेश्वर गाँउपालिकामा शिक्षा मन्त्रालयको सूचना ढिला प्राप्त भएकोले परिक्षा स्थगीत गर्न समस्या भएको उपप्रमुख रविचन्द्र आचार्यले बताउनुभयो ।

 

राष्ट्रिय सङ्कटको समयमा समेत सरकार र जिल्लास्तरीय शिक्षा समितिको निर्देशन अवज्ञा गर्ने विद्यालयहरुलाई के गर्ने भन्ने विषयमा भने स्थानिय प्रशासन र शिक्षा विकास तथा समन्वय एकाइले स्पष्ट जवाफ दिन सकेको छैन । प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा पौडेलले भोलीबाट बाँकी परिक्षा स्थगीत गरी विद्यालय बन्द गर्न निर्देशन दिएको र सबैले सोहि अनुसार गर्ने बताउनुभयो ।

शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख शङ्करबाबु श्रेष्ठले पनि सरकार र जिल्ला स्तरीय शिक्षा समितिको निर्णय सबै पालिकाहरुलाई जानकारी गराई सकिएको बताउनु भयो । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ दोलखाका अध्यक्ष हिरा थोकरले सरकारको निर्णयअनुसार परीक्षा सञ्चालन गर्न नसक्ने समितिको बैधानिकतामा प्रश्न उठेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्