सत्य घटनामा आधारित पढ्ने कथाः घरवालीको मस्टवान्टेड



कुमार श्रेष्ठ, बाँके

जुन कामका लागि आएको हो त्यही गरेर जानु’, बस्त्र खोल्दै नेपाली युवतीले रिसाउँदै भनिन्– ‘कुरासुरा गर्दिनँ, थाहा पाए भने पिट्छन्।’ कोठीमा केटाहरू किन जान्छन्, उनलाई सम्झाउनुपर्दैनथ्यो। बिहे गर्छु भनेर प्रेमीले नै उनलाई कोठीमा पु¥याएको थियो। प्रेमीको धोकाले बेश्या हुनुपरेको थियो। ‘विश्वास’ भन्ने शब्दप्रति उनको ‘अविश्वास’ थियो।

ग्राहक बनेर आएका व्यक्ति उनीसँग कुरा गर्न चाहन्थ्यो। बाहिर निकाल्ने विश्वास दिलाउँदै थियो। उनी कुरा गर्न इच्छुक थिइनन्। कामप्रति नै कटिबद्ध थिइन्। ‘छिटो आफ्नो काम गरेर जान’ जोड गरिरहेकी थिइन्।

पहिलोपटक कोठीको ‘रेकी’ गर्न पुगेका माइती नेपालका केशव कोइराला युवतीसँग कुरा गर्न खोज्दै थिए। त्यहाँको ‘अवस्था’ बुझ्न खोज्दै थिए। योपालिको उनको ‘ग्राहक’ शोषणका लागि होइन, उद्धारको ‘मेसो’ मिलाउन आएको थियो। उनलाई नरकीय जीवनबाट मुक्त गराउन चाहन्थ्यो। यो कुरा बुझ्न उनलाई केही समय लाग्यो।

त्यति बेलासम्म उनले ‘रेकी’ गर्न कोठीमा पुगेका कोइरालालाई सुन्दा नै कान पोल्ने थुप्रै गाली दिइसकेकी थिइन्। कोइराला भन्छन्– ‘बाफरे !, युवतीबाट त्यस्तो गाली। म त सुन्दा नै झस्किएँ। मलाई धेरै नमज्जा लाग्यो। तर, मिसनमा गएको थिएँ। म झुकें।’

माइती नेपालमा प्रवेश गराउँदा अनुराधा कोइरालाले सम्झाएको सम्झिएँ– ‘जागिर खाना मात्रै आउनुभएको छ भने मेरो भन्नु केही छैन, साँच्चै नै मेरो उद्देश्यअनुरूप सेवा गर्न आएको भए पीडितलाई आफ्नो सदस्यसरह हेर्नुस् र काम गर्नुस्।’

कोइरालाले ‘बहिनी’ भनेर शिर निहुराएपछि युवती कुरा गर्न तयार भइन्। दिल्लीको जीबीरोडको ५६ नम्बर कोठीमा कुरा गर्न सजिलो भने थिएन। कोठामा स–साना खटिया थिए। पर्दाको बार थियो। बडो होसियारीपूर्वक कुरा गर्नुपथ्र्याे। किनकि पर्दाको मात्रै बार रहेकाले अरूले सुन्थे। जुन कुरा घरवाली (कोठी सञ्चालक) सम्म पुग्थ्यो। र, ग्राहकको जीवन जोखिममा पर्न सक्थ्यो।

युवतीले केही सूचना दिइन्। मुस्किकले ५ मिनेट गफ भयो। धेरथोर खोजेको जानकारी पाएँ। पहिलोपटकको मिसन सफल नै भएको ठानें। कोइराला निस्किँदै गर्दा युवतीले भन्दै थिइन्– ‘यहाँ सबै शोषण गर्न आउँछन्। तपार्इंजस्तो आउँदैनन्। त्यही भएर हामीलाई बोल्न मन लाग्दैन। घरवालीले पनि बोल्न मनाही गरेको छ।’

कोइराला कोठीबाट निस्किए। तल आउँदै गर्दा उनलाई डर लाग्यो। उनले सुनेका थिए– ‘घरवालीले लठैत (गुण्डा) हरू पालेका हुन्छन्। उनीहरूले जे पनि गर्न सक्छन्।’ तर, यो उनको मनको डर थियो। उनलाई केही भएन। उनी फर्किए।

२०५९ को जेठ महिना, दिल्लीमा चढ्दो गर्मी थियो। रेकी गरेको भोलिपल्ट कोइरालाले ‘स्टप दिल्ली’ नामक संस्थासँग मिलेर कोठीमा छापा मारे। स्टप दिल्लीकी प्रमुख रोमादेवा व्रतासँग मिलेर छापा मार्दा आठ जना नेपाली बालिका निकालियो।

२०६२ असार। उत्तरप्रदेशको आग्राको कवाडीबजार। जरिनाको कोठी। माइती नेपालमा नुवाकोटकी एक बालिकाको खोजतलासको निवेदन परेको थियो। निवेदनलाई पछ्याउँदै कोइराला कवाडीबजार पुगे। संकल्प भन्ने संस्थाका अतुल शर्माले कोठीमा रेकी गरिसकेका थिए। पहिला कोइराला पुगे स्थानीय प्रहरी थाना। त्यसो त स्थानीय प्रहरीसँग सहकार्य गर्दा सूचना चुहिने डर हुन्छ। प्रायः स्थानीय प्रहरी कोठी सञ्चालकसँग मिलेका हुन्छन्।

आलटाल गर्दै प्रहरी छापा मार्न तयार भयो। प्रहरीलाई मनाउँदा, मिलाउँदा र जाँदासम्म सूचना चुहेर कोठीका युवती (बालिका) हरूलाई लुकाउने सम्भावना बढी हुन्थ्यो। कोइरालाले नुवाकोटकी बालिकालाई लुकाउन, भगाउन नपाओस् भनेर एक जना ग्राहक पठाएका थिए। छापा मार्दासम्म बालिकालाई ‘बिजी’ राख्नु थियो। ग्राहकले भुलाइरहेका थिए।

छापा मारियो। शुरूमा बालिका बाहिर निस्किन मानिनन्। उनको कथा अर्कै रहेछ। छोरी रहिछन्। कोठीवालीले लोहनी भन्ने ठाउँमा छोरीलाई राखेका रहेछन्। उनको बहिनी पनि रहेछिन्, दिल्लीको जीबीरोडमा। यी बालिकाले धन्दा गर्न नमान्दा उसको छोरीलाई यातना दिँदा रहेछन्। छोरीलाई मारिदिने धम्की दिँदा रहेछन्। बाध्य भएर उनले धन्दा गर्दी रहिछन्। शुरूमा उनले हिन्दी बोलिन्।

नेपाली होइनसम्म भनेकी थिइन्। कोइरालाले उनका बुबाले लेखेको खोजतलासको निवेदन र फोटो देखाएर तिमी र तिम्रो छोरीको पनि उद्धार गर्छौं भनेपछि बालिकाले बल्ल नेपालीमा बोलेर भनिन्– ‘हो र, दाइ !’

यति बेलासम्म कोठी सञ्चालक जरिना कोइरालासँग झगडा गर्न आइसकेकी थिइन्। हात हालाहालको स्थिति हुन थालिसकेको थियो। यही बेला आजतकका संवाददाताले प्रहरीले के हेरेर बसेको छ। यहाँको सबै लाइभ भइरहेको छ भन्यो। त्यसपछि प्रहरी तातियो। प्रहरीले जोड गरेपछि साँझपख बच्चीलाई ल्याइयो। कोइरालाले आमा र छोरीको उद्धार गरे।

कोइराला आमा र छोरीलाई लिएर निस्किए। त्यही बेलाका थाना इन्चार्जले फोन गरेर कहाँ हुनुहुन्छ भन्यो। कोइरालाले अर्कै ठाउँ बताइदिए। र, सानो गाडी रिजर्व गरेर नेपालगन्जतिर हानिए। प्रहरीले कहाँ छस् भनेर ठाउँ सोध्दा सही बताउँदा घरवालीसम्म सूचना पुग्ने डर थियो। घरवालीको लठैत पछि लाग्ने सम्भावना हुन्थ्यो। उनीहरूले जे पनि गर्न सक्थे।


यी बालिका शुरूमा काठमाडौंमा गलैंचामा काम गर्थिन्। मामाको छोराले यही काम भारतमा गर्दा धेरै पैसा पाइन्छ भनेर लगेर बेचेका थिए। बालिकाले यसरी आफू कोठीमा पुगेको गाडीमा बताउँदै आइरहेकी थिइन्। बालिकाले मामाको भन्ने शब्द निकाल्दा बच्ची रुन्थिन्। लोहनीमा बच्चीलाई मामा भन्नेले रेखदेख गर्दो रहेछ। उसले यातना दिँदो रहेछ। माइती नेपाल, नेपालगन्जमा आएर केही समयमा बस्दा पनि बच्ची मामा भन्ने शब्द निकाल्नेबित्तिकै रुन्थिन्।

२०७४ चैत २१ गते। आग्राको कास्मिरीबजार। कोइरालाको टोलीले छापा मा¥यो। यसपटक माइती नेपालको टिम नै थियो। कोइरालाले स्थानीय प्रहरीलाई खबर नगरेर ‘माथिल्लो’ प्रहरीको टिम मगाए।

टोली हिँड्दै गर्दा सूचना चुहिएछ। कोठी सञ्चालकले बच्चीहरू लुकाउने प्रयास गरिन्। सबै जनालाई एउटा कोठामा थुनेर बाहिरबाट ठूलो भोटे ताल्चा लगाइएको थियो। प्रहरीसहितको टोली भित्र पस्दा त कोही देखिएनन्। ठूलो ताला फोरियो। त्यसभित्र दराजको कुनामा ९ जना बालिका कोचिएका थिए। सबैलाई निकालियो।

‘एफआईआर’ बनाउँदाबनाउँदै रातिको डेढ बज्यो। बस्ने व्यवस्था गरिएको होटलमा जान सकिएन। मध्यरातमा अटो परिवर्तन गर्दै अर्को होटलमा गएर बास बसियो। उद्धार गरिएका चेलीहरूलाई सरकारी गृहमा राखेर कोइरालाको टिम फर्कियो। पछि नेपाली चेलीहरू फर्किएका थिए।
२०७४ माघमा मेरठमा छापा मारे। त्यही पनि अन्तिममा सूचना चुहियो। पछाडिको झ्यालमा सिँढी राखेर सबैलाई अर्को घरमा हामफल्न लगाइयो। भाग्दै गर्दा एक जनालाई उद्धार टोलीले नियन्त्रणमा लियो।

२०७५ चैत ४ गते। जीबीरोडको ५६, ५७ र ६० नम्बर कोठीमा छापा मारियो। नेपालगन्जबाट कोइराला र गायत्री रिमाल गएका थिए। कोइरालाले स्थानीय प्रहरीलाई खबर नगरेर ‘एन्टी ह्युमन ट्राफिकिङ युनिट’ को टोलीलाई बोलाए। जीबीरोडदेखि यो टाढाको प्रहरी थियो। यसपालि यहाँ बिहान ७ बजे छापा मारियो। साँझमा भीडभाड हुने भएकाले बिहानको समय रोजिएको थियो।

अति नै गोप्य तरिकाले छापा मार्दा पनि त्यहाँबाट एक बच्चासहित तीन जनालाई बाहिर निकालियो। उमेर पुगेकाहरू बाहिर निस्किन मानेनन्। निकालिएकामध्ये एक नेपाली थिए। ती नेपालीलाई तानातान हुँदा गायत्रीको हातमा चोट लाग्न पुग्यो। तिनै जनालाई नारी उत्थानमा राखेर कोइराला नेपालगन्ज फर्किए।

सजिलो छैन ‘छापा’

भारतका कोठीमा छापा मार्न सजिलो छैन। त्यसमा पनि दिल्लीको जीबीरोडमा रहेको कोठीहरू त पहुँचवाला नै छन्। राजधानीमा भएकाले कोठीवालीको पनि ‘शक्तिकेन्द्र’ सँग पहुँच रहने गर्दछ। घरवालीले स्थानीय गुण्डाहरू पालेका हुन्छन्। अवैध कोठी चल्ने कुरा सबैलाई थाहा भए पनि आँखा चिम्लिने काम भएको छ। त्यो ठाउँमा कोइरालाले पटक–पटक छापा मारेका छन्। कोइराला मेरठ र आग्राका कोठीमा पटक–पटक पुगेका छन्। धेरैपटक पुग्दा मेरठमा त केही समय कोठी बन्द भयो। कोठी सञ्चालकहरूले कोइरालालाई ‘मस्ट वान्टेड’ सूचीमा राखेका छन्।

कोइरालाले कोठी मात्रै होइन, तेस्रो मुलुक लैजानका लागि भारतका विभिन्न ठाउँमा बन्धक बनाएका नेपाली चेलीको उद्धार गरेका छन्। दिल्लीको पहाडगन्जबाट १६ जना, दिल्लीको मैदानगढीबाट ४० जनाको उद्धार गरिएको छ। कोइरालाले १२ पटक छापा मारेर उद्धार गरेका छन्। १ सय ५ जनाको उद्धार भएको छ। त्यसमा २३ जना कोठीबाट निकालिएका छन्।

अर्काको देशमा न कुनै सरकारी सम्झौता, न त नीति नियम। एक जना निहत्था मानिसले गएर कोठीमा छापा मारेर नेपाली चेलीको उद्धार गर्नु चानचुने कुरा होइन। ज्यानकै बाजी लगाएर कोठीमा छिर्नुपर्छ। कोइराला भन्छन्– ‘मेरठ, आग्रा, दिल्लीमा हिँड्दा भेष बदलेर हिँड्नुपरेको छ। यी ठाउँमा मलाई निशानामा राखिएको छ।’

छापा मार्न गएको बेलामा होटल बस्दा कोइरालालाई एउटै तनाव हुन्छ, कहीं घरवालीको मान्छेले आक्रमण गर्ने त होइन ? उनी बाटोमा पटक–पटक अटो परिवर्तन गर्दै, बुक भएको होटलमा नगएर धेरै पटक नयाँ ठाउँमा गएर बसेका छन्। सजिलै हतियार र सस्तोमा सुटर पाइन्छ भनिने भारतमा स्थानीय प्रहरी, घरवालीसँग पौंठेजोरी खेल्नु कम्ता चुनौतीपूर्ण काम होइन। यस्तो चुनौतीपूर्ण काम कोइरालाले गरिरहेका छन्। कहिलेकाहीं त कोइरालालाई लाग्छ– ‘मेरो पनि बालबच्चा छन्। कतिन्जेलसम्म ज्यान जोखिममा पारिरहने ?’

निःशुल्क जाहेरी लेख्दालेख्दै जागि

१८ वर्षअघि बीएल पढ्दै गर्दा बर्दियाका कोइरालाले माइती नेपालमा स्रोत व्यक्तिका रूपमा काम गर्न शुरू गरे। स्रोत व्यक्तिसँगै उनको काम भनेको निःशुल्क जाहेरी लेख्ने थियो। यति बेला उनी अभिवक्ता थिए।

संघ–संस्थाप्रति रुचि राख्ने कोइरालाले पीडितलाई भेट्ने र जाहेरी लेख्ने गरिरहेका थिए। यही बेलामा एउटा बाँकेकै चेलीको जाहेरी लेखे। दिदीलाई दिल्ली कोठीमा पु¥याएकी काजोल (दलाल) घरमा आएर आमासँग भेटेर एक हजार दिइन् र बहिनीलाई पनि राम्रो काम लगाइदिने बताउन थालिन्।

गरिब परिवारकी महिलालाई दिदीसँग भेट हुन्छ। बहिनीले पनि राम्रो काम पाउँछ भन्ने भ्रम प¥यो। काजोलले बहिनीलाई पनि दिल्ली लिएर गइन्। दिल्लीमा उनको दिदीसँग भेट त भयो तर बोलचाल हुन पाएन। देखादेखपछि दिदी कता गइन्। बहिनीलाई अरू केटीहरू आएर नुहाइदिने र छोटा कपडा लगाइदिए। र, धन्दामा लगाए।

केही समयपछि बहिनी भागेर आइन्। उनको जाहेरी कोइरालाले लेखेका थिए। जाहेरी लेखिरहँदा कोइरालाले उनको सबै कुरा सुने। त्यसपछि उनले यही फिल्डमा काम गर्ने निधो गरे। संयोग पनि होला, माइती नेपालले कञ्चनपुरको संयोजक बनाएर पठायो। २०६१ मा उनी नेपालगन्जको कार्यक्रम संयोजक भएर आए। त्यसदेखि निरन्तर यही छन्।

मानव बेच–विखनविरुद्धको गतिविधि हुँदा कोइरालाको उपस्थिति अनिवार्यजस्तै रहेको छ। जिल्लामा उनको खोजी हुन्छ। मानव बेच–विखनविरुद्धको कार्यक्रम या गतिविधिमा उनको बोलीले माने राख्ने गरेको छ। एक प्रकारले भन्ने हो भने उनले मानव बेच–विखनविरुद्धमा काम गर्नेहरूको अगुवाइ नै गरिरहेका छन्।

माइती नेपालले बेच–विखनविरुद्ध रोकथाम, उद्धार, आवास तथा परामर्श, कानुनी सेवा, स्वास्थ्य उपचार र आवश्यकताअनुसार सीपमूलक तालिम र पुनःस्थापनामा काम गरिरहेको छ। आवधिक पुनःस्थापना र स्नेह गृह सञ्चालन गरिरहेको छ।

नाकामा कडा निगरानी

मानव बेच–विखन तथा जोखिमपूर्ण यात्राका लागि सहज मानिने नेपालगन्ज नाकामा माइती नेपालले कडा निगरानी गर्दै आएको छ। सन् २००२ देखि नै यो नाकामा बसेको माइती नेपालले अहिलेसम्म ६ हजार ४ सय ४२ जनालाई नाकाबाट फिर्ता गरेको छ।

नुवाकोट, सिन्धुपाल्चोक, धादिङ, झापासम्मका महिला किनमेल गर्ने नाममा नेपालगन्ज नाकामा भेटिने गर्दछन्। भीडभाड हुने भएकाले दलालले महिलालाई यो नाकाबाट भारत प्रवेश गराउने गरेको पाइन्छ। माइती नेपालका तालिमप्राप्त कर्मचारी दिनभरि जोखिमपूर्ण यात्रामा रहने चेलीको निगरानीमा रहने गर्दछन्।

माइती नेपालमा खोजतलासको निवेदन अधिक आउने गर्दछ। सरकारी निकायमा नगएर पीडितहरू माइती नेपालमा आउने गर्दछन्। कोइराला भन्छन्– ‘यस्तो हामीप्रतिको विश्वासले गर्दा भएको भइरहेको छ।’ सन् २००२ मा आठवटा खोजतलासको निवेदन परेको माइती नेपाल, नेपालगन्जमा २०१८ मा ८ सय ७५ वटा निवेदन परेका छन्। अहिलेसम्म ५ हजार १ सय ९३ खोजतलासको निवेदन परेकोमा ७ सय ५८ जना फेला परेका छन्।

जिल्लामा मानव बेच–विखनको तथ्यांक निकाल्नुपर्दा माइती नेपालको तथ्यांकलाई लिने गरिन्छ। हुन न जिल्लामा आधा दर्जन बढी संघ–संस्थाले मानव बेच–विखनविरुद्धको काम गरिरहेका छन्। ‘पावरफुल’ व्यक्तिलाई संस्थामा राख्दा त्यसको महŒव अझ बढ्दोरहेछ भन्ने कोइरालाको काम गराइले देखाएको छ।

कोइरालाले हरेक वर्ष नाकाबाट उद्धार गरिएको, बेच–विखनका निवेदनहरूको सार्वजनिकी गर्दै आएका छन्। उनले कुनै जिल्लाको कुन ठाउँ र कुन उमेर, जातका महिला तथा बालबालिका जोखिममा परेको तथ्यांक निकाल्ने गर्दछन्। साविकको मध्यपश्चिममा बाँके, बर्दिया, दाङ र सुर्खेतका महिला तथा बालबालिका बेच–विखनको उच्च जोखिममा छन्।

पछिल्लो दिनमा परिवारको साथ लागेर सिम्ला, कालापहाड पुगेका पहाडी जिल्लाका महिला पनि जोखिममा परेकोदेखि सामाजिक सञ्चाल र फोनमा माया प्रेम गरेर कोठीमा पु¥याउने गरेका घटना कोइरालाले सार्वजनिक गर्दै आएका छन्। रङ नम्बर र मिसकलबाट प्रेम सम्बन्ध स्थापित हुँदै बेचिएको, विभिन्न प्रलोभनमा पारेर तेस्रो मुलुक लैजाने क्रममा शोषणमा परेकाहरूको उद्धार र पुनःस्थापनामा कोइरालाको सक्रियता रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्