नेपाल इन्भेष्टमेन्ट बैंक ऋणपत्र निष्काशन गर्दै



काठमाडौं, (नेस)

नेपाल इन्भेष्टमेन्ट बैंकले ४ अर्ब रुपियाँबराबरको ऋणपत्र निष्काशनका लागि आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक र ऋणपत्र निष्काशनको डिबेञ्चर ट्रष्टीमा नियुक्त गरेको छ।

बैंकले १० दशमलव २५ प्रतिशत ब्याजदरको सात वर्षको समयवधिमा फिर्ता भुक्तानी गर्ने गरी निष्काशन तथा बिक्री प्रबन्धकले प्रतिऋणपत्र अंकित मूल्य हजार रुपियाँ दरका ४० लाख कित्ताको जम्मा चार अर्ब रूपियाँ निष्काशित गर्नेछ।

उक्त ऋणपत्रमध्ये २४ लाख कित्ता ऋणपत्र परिपत्र विधिबाट र १६ लाख कित्ता ऋणपत्र सार्वजनिक निष्काशन प्रक्रियाबाट सर्वसाधारणमा बिक्री गर्नेछ।

उक्त ऋणपत्र निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धकसम्बन्धी सम्झौता–पत्र भएको छ। उक्त सम्झौतपत्रमा नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र आरबीबी मर्चेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले हस्ताक्षर गर्नुभएको छ।

आव २०७६/७७ को दोस्रो त्रैमासको प्रतिवेदनअनुसार नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १४ अर्ब २२ करोड १० लाख ७२ हजार ७५६ रुपियाँ र जगेडा कोष १० अर्ब १३ करोड ५२ लाख ४६ हजार ६२७ रुपियाँ प्रतिशेयर आम्दानी २३ दशमलव ४३ रुपियाँ रहेको छ। साथै बैंकको सञ्चित आय १ अर्ब ८१ करोड ४१ लख ४५ हजार ७८३ रुपियाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्