औद्योगिक क्षेत्रमा कोरोनाको त्रास



डीबी बुढाथोकी, काठमाडौं

कोरना भाइरसको त्रासका कारण व्यवसाय ठप्प रहेको उद्योगीहरूले बताएका छन्। होटल, रेस्टुरेन्ट, पर्यटनलगायतका क्षेत्र ठप्प भएका छन् भने सिमेन्ट, छड लगायतका उत्पादनका क्षेत्रमा पनि कोरोनाको त्रासले प्रभाव पार्न थालेको भन्दै उद्योगीहरूले चिन्ता व्यक्त गरेका छन्।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले कोरनाले विश्व अर्थ व्यस्थालाई प्रभाव पारिसकेकाले नेपालमा समेत दीर्घकालीन असर पार्ने भन्दै चिन्ता व्यक्त गर्नुभयो। राजस्वको प्रमुख स्रोत मानिने अटो मोबाइल, इलोक्ट्रोनिक्जस्ता क्षेत्रमा कारोबार निकै सुस्ताइसकेको उहाँले बताउनुभयो।

उहाँले भन्नुभयो–‘ कच्चा पदार्थको मौज्दात अहिलेसम्म त ठिकै छ। स्टिल, कोइलालगायतको मौज्दात दुई महिनासम्म पुग्छ। खाद्यान्न चार महिनामात्रै पुग्छ कि भन्ने मैले ठानेको छु।’

महासंघका निर्वतमान अध्यक्ष पशुपति मुररकाले मुलुकको अर्थतन्त्रमा कोरोनाको ‘चेन इफेक्ट’ पर्ने बताउनुभयो। ‘चिनियाँ ठेकेदारले काम गरिरहेका कतिपय आयोजनाको काममा असर परिसकेको छ। भैरहवा विमानस्थल यसको ताजा उदाहरण हो। चिनियाँ कच्चा पदार्थमा आधारित उद्योगहरू पुराना मौज्दातको भरमा चलेको छन्’ उहाँले भन्नुभयो।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सूचना अधिकारी दुर्गाप्रसाद भुसालका अनुसार चीनबाट आयात हुने कच्चा पदार्थ संकुचन भएकाले स्वभाबिक रूपमा उत्पादन घटेको बताउनुभयो।

उहाँका अनुसार पर्यटन क्षेत्रमा अल्पकालका लागि धरासयी भइसकेको छ। तथापि, अझै कोरोनाले नछोएकाले उत्पादनमूलक क्षेत्र अझै खस्किन नसकेको बताउनुभयो। उहाँका अनुसार उत्पादनमूलक क्षेत्र अरू ४/५ महिना टिक्ने छ।

उद्योग विभागका महानिर्देशक जीवनप्रकाश सिटौलाले पछिल्लो तीन महिनामा चीनबाट भित्रिने प्रत्यक्ष वैदेशिक लगानी घटेको छ। त्यस्तै चिनियाँ कच्चा पदार्थमा आधारित उत्पादनमूलक क्षेत्रको उत्पादन पनि ह्रास आएको छ। दर्ता गर्ने कार्यका लागि संयम लाग्ने हुँदा प्रक्रिया रहेका कारण पनि उद्योग दर्ताको संख्यामा भने खासै बिचलन नआएको उहाँले जानकारी दिनुभयो।

 

प्रतिक्रिया दिनुहोस्