४ सय ६१ एसईई परीक्षार्थीलाई निःशुल्क बस सेवा



राेशन पराजुली,हेटौंडा।

एसईई दिन थाहानगरका होटलमा बसेका परीक्षार्थीलाई घर फर्कन निःशुल्क बस सञ्चालन गरिएको छ । उक्त सुविधाका कारण बिहीबार ४ सय ६१ परीक्षार्थी सहज र निःशुल्क घर फर्किएका हुन् ।कोरोना भाइरस (कोभिड १९) का कारण सरकारले आकस्मिकरुपमा एसईई परीक्षा स्थगित गरेसँगै परीक्षार्थी घर फर्किएका हुन् ।

परीक्षा स्थगित भएपछि उनीले दैनिक सरसामान र किताबकापीका झोलासहित बजारमा गाडी कुरेर बस्दा नपाएपछि फरकसोच अभियानले परीक्षार्थीलाई सहजताका लागि बसको व्यबस्था मिलाएको फरकसोच अभियान संयोजक यादबजंग रायमाझीले जानकारी दिनुभयो ।

थाहानगर–३ को जनकल्याण मावि र वडा–२ मा रहेको मत्स्यनारायण मावि परीक्षा केन्द्रमा २ सय ६२ छात्रासहित कुल ४ सय ६१ परीक्षार्थी थिए । थाहाको हिमालयन इङ्ग्लिस स्कुल, पालुङ भ्यालीहार्ट एकेडेमी र पालुङ मोडर्न इङ्ग्लिस स्कुलको सहकार्यमा यस्तो व्यबस्था मिलाइएको रायमाझीले बताउनुभयो ।

‘थाहानगरमा सञ्चालन हुँदै आएका बसको संख्या सीमित तथा हेटौंडा र काठमाडौंबाटै यात्री खचाखच भरिएर आउने हुनाले परीक्षार्थीको समस्यालाई मध्यनजर गरी यस्तो सुबिधा दिएका हौं,’ पालुङ भ्यालीहार्ट एकेडेमीमा सञ्चालक सुरेन्द्रमान प्रधानले बताउनुभयो । उहाँका अनुसार लेकाली बसीफाँट मावि, इन्द्रायणी मावि आग्रा, ब्यास मावि गोगने, सुन्दरीदेवी मावि आग्रा र बज्रबाराही मावि बज्रबाराहीका परीक्षार्थीले उक्त सुबिधा पाएका थिए ।

सरकारले दुई÷तीन दिनअघि नै परीक्षा स्थगित गरिदिएको भए आफूहरुले दुःख नपाउने र खर्च पनि जोगिने विद्यार्थी, अभिभावक र शिक्षकको धारणा छ । एसईई परीक्षा बिहीबारदेखि तोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्